नेकपा बागमती गाउँ समितिद्वारा २० बोरा मल बरामद

नेकपा बागमती गाउँ समितिद्वारा २० बोरा मल बरामद

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुर बागमती गाउँ समितिले कर छली गरी ल्याएको २० बोरा अवैध युरिया मल बरामद गरी किसानहरूलाई वितरण गरेको छ ।

बागमती गाउँपालिका वडा नम्बर २ स्थित राईगाउँ बजारका मल तस्कर छबि भोम्जनलाई नियन्त्रणमा लिई कर छली गरी ल्याएको २० बोरा अवैध युरिया मल नेपाल कम्युनिस्ट पार्टी बागमती गाउँ समितिले बरामद गरेको छ । बरामद गरेको मल नेकपा बागमती गाउँ समितिको रोहबरमा त्यहाँका किसानहरूलाई बितरण गरेको छ । विगत लामो समयदेखि उक्त क्षेत्रमा मल तस्करहरूले सर्लाहीको लालबन्दी, मलङ्गवा लगायतको ठाउँबाट चोरी निकासी गरि सिन्धुली हुँदै मकवानपुरको राईगाउँ भित्र्याउने गरेका पाइएको छ । अवैध रूपमा ल्याएका उक्त मल मकवानपुरको बागमती गाउँपालिका अन्तर्गत फापरबारी, राईगाउँ र सिन्धुलीको हरीहरपुर गाउँपालिकाको किसानहरूलाई बोराको २ हजार देखि २५ सय सम्ममा बेच्दै आएका कुरा खुलासा भएको छ ।

अहिले आम नेपाली जनता बाढीपहिरो र कोरोना सङ्क्रमणको चपेटामा परेको कुरा सर्वविदितै छ । यो समयमा न कतै रोजगार गर्न पाएको छ न त राम्रोसँग खेतीपाती गर्न नै । समस्या दिनप्रतिदिन थपिँदै गइरहेको छ । यस घडीमा जनताको आवश्यकतालाई सर्वसुलभ ढङ्गले कसरी पूर्ति गर्ने भन्ने विषयमा न व्यापारीको ध्यानाकर्षण भएको छ न त सरकारको नै । खाली यहाँ यस्तै कठिन परिस्थितिको मौका पारेर लुट्न खोज्ने काम मात्रै भइरहेको छ । यही मौकामा कालोबजारी गरी जनता लुट्न खोज्नेहरू अन्तर्गत बागमती गाउँपालिकाका केही दलालहरू पनि परेका छन् । जसको छानबिन गरी नेकपा बागमती समितिले पर्दाफास गरेको छ र अवैध मलखाद बरामद गरी किसानलाई बुझाएको छ ।

अवैध रूपमा तस्कर गरि ल्याएको मल चर्को मूल्यमा किन्न बाध्य भएका किसानहरूको गुनासोका आधारमा नेकपा बागमती समितिले अनुसन्धान गर्दै जाँदा सत्य साबित भएकाले उक्त अवैध मल जफत गरि किसानहरूलाई निःशुल्क बितरण गरिएको कुरा नेकपा बागमती गाउँपालिका इन्चार्ज बिक्रमले बताए । त्यस्तै आगामी दिनमा यस्ता खाले गैरकानुनी कामधन्दा नगर्न, नगराउन चेतावनी दिएको कुरासमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :