चितवनमा ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवस मनाइयो

चितवनमा ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले अब जनताले आफूले चाहेको व्यवस्था आफैँले चुन्न पाउनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी चितवनले ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवसको अवसरमा आइतबार चितवनको जुगेडीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता सन्देशले २००७ साल देखि व्यक्ति र पार्टी छान्दै आएकोमा अब जनताले जनमत सङ्ग्रहबाट व्यवस्था छान्न पाउनुपर्ने बताएका हुन् । उनले अहिलेको दलाल पुँजीवादले हालको सङ्क्रमणकालिन अवस्थाबाट मुलुकलाई निकास दिन नसक्ने भएकाले हालको राजनीति सङ्कटबाट मुलुकलाई निकास दिँदै विकास सम्बृद्धिको दिशानिर्देश गर्न वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य बनेको बताए ।

इन्चार्ज सन्देशले जुगेडी किसान सङ्घर्षको आफ्नै विशिष्ट मूल्य र विशेषता रहेको बताए । उनले जुगेडी किसान सङ्घर्ष वर्ग पक्षधरहरूको उच्चतम् नमूना भएको र तत्कालीन समयमा पनि नेपालमा पहिले कहिल्यै नभएको सबै भन्दा उत्पीडित जाति चेपाङको सहभागी रहेकोले सबैभन्दा विशेष रहेको बताए ।

त्यसैगरी नेता सन्देशले देशको हरेक राजनैतिक परिवर्तनका क्रममा सङ्घर्षमा भाग लिएर सहिद भएका सहिदहरूको परिवारको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिनेसमेत प्रतिबद्धता व्यक्त गरे । उनले घरबार नभएका सहिद परिवारको घर बनाइदिने, कम्तिमा पनि डिप्लोमा तहसम्म सहिद परिवारका छोराछोरीलाई पढाउने र निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाए ।

उक्त कार्यक्रममा जुगेडी किसान सङ्घर्षका फिल्ड कमाण्डर नरेश न्यौपाने ‘मदन’ ले सङ्घर्ष गर्दा बखतका सुख दुःखका अनुभव सेयर गरेका थिए ।

नेकपा चितवनका सेक्रेटरी मिनप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जुगेडी किसान सङ्घर्षका योद्धाहरू नरेश न्यौपाने, पुर्णलाल विश्वकर्मा, फडिन्द्र आचार्य, सहिद परिवारका तर्फबाट उमादेवी कण्डेल पौडेल, देवकुमारी खड्का, पूर्णबहादुर लामा, सुमित्रा चेपाङ, मनमति गुरुङ, घनकान्त घिमिरे अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :