भारतीय हस्तक्षेपका विरुद्ध विद्यार्थीहरू

काठमाडौँ : सुदूरपश्चिममा क्रियाशील विद्यार्थी सङ्गठनहरूले सुदूरपश्चिमको नेपाली भूमिमा भएको भारतीय हस्तक्षेपका विरुद्ध प्रेस विज्ञप्ति जारी गरेका छन् । सिमा क्षेत्रमा भएको भारतीय अतिक्रमण र हस्तक्षेपविरुद्ध सङ्घर्ष गर्दै आएका विद्यार्थीहरूले दार्चुला सदरमुकाम आसपास नदीको तटीय क्षेत्रमा महाकाली नदीको प्राकृतिक बहावलाई असर पार्ने र नदीको धार नेपालतिर धकेल्ने गतिविधि निरन्तर अगाडि बढाइरहेको भन्दै विरोध गरेका हुन् ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै जाने धार्चुला–मानसरोवर सडक निर्माण कार्य जारी राख्नुका साथै कतिपय ठाउँमा भौतिक संरचना नै निर्माण गरिएकोले विद्यार्थीहरूले उक्त कार्यको विरोध गरेका छन् ।

सुुदूरपश्चिमका क्रियाशील विभिन्न ८ विद्यार्थी सङ्गठनहरूले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सिमाभित्र बाटो निर्माण गर्दा अवरुद्ध गर्ने, भत्किन लागेका पुलहरू संरक्षण गर्दा रोक्ने जस्ता विभिन्न हस्तक्षेपकारी गतिविधि भारतको तर्फबाट निरन्तर भइरहेका छन् । त्यस्तै कञ्चनपुरमा समेत महाकाली न.पा. ८ सुन्दर नगरमा किसानहरूलाई नेपाली भूमिमा खेतीपाती गर्न रोक्ने, बेलौरीको पचुइँमा हुलाकी सडक निर्माण अवरुद्ध गर्ने हस्तक्षेपकारी गतिविधि भारतले गर्दै आएको छ । जसको हामी घोर निन्दा, भत्र्सना र उक्त कार्य रोक्न भारतीय विस्तारवाद साम्राज्यवादलाई चेतावनी दिन चाहन्छौँ ।’

भारतले नेपाली भूमिमाथि गरेको हस्तक्षेपका विषयलाई लिएर नेपाली पक्षबाट पत्राचार मात्रै गरिरहने तर भारतले कुनै जवाफ नदिने गरेको भन्दै विज्ञप्तिमा पत्राचारमा मात्रै सिमित सरकारलाई हस्तक्षेप र अतिक्रमण रोक्ने गरि यथाशीघ्र गम्भीर रूपमा पहलकदमी लिन अनुरोध गरिएको छ ।

साथै भारतीय हस्तक्षेप र अतिक्रमणका विरुद्ध प्रतिरोध सङ्घर्षमा उत्रिन सम्पूर्ण न्यायप्रेमी आम जनसमुदायमा हार्दिक अपिल गरिएको छ ।

यसरी विज्ञप्ति जारी गर्नेहरूमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सह–महामन्त्री अच्युतराज कलौनी, अनेरास्ववियु (क्रान्तिकारी) का सुदूरपश्चिम प्रदेश संयोजक तथा केन्द्रीय सचिव मदन भुल, अखिल (क्रान्तिकारी) सेती–महाकाली संयोजक विरेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष उमेश सिंह विष्ट, अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश कार्यवाहक संयोजक पुस्कर जोसी, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन सुदूरपश्चिम संयोजक द्राेणचार्य अवस्थी, अखिल (छैटौँ) का सुदूरपश्चिम प्रदेश सदस्य पुस्कर भट्ट र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य महेन्द्र तिरुवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :