नेपालमा विद्यमान दुई वटा गलत राजनीतिक ट्रेण्ड

विषय प्रवेश

नेपालको राजनीतिक वृत्तमा दुई वटा ट्रेण्ड जवर्जस्त रूपमा स्थापित भएका देखिन्छन् । आधुनिक राजनीतिको शुरुवात काल (२००६) देखि हालसम्म अद्यावधिक कायम नै रहेका छन् । यी ट्रेण्डहरूले बेलाबखत अनपेक्षित तरिकाले राजनीतिक सरगर्मि बढाउँन अहम् भूमिका खेलिरहेको भेट्टाइन्छ । सरसर्ती हेर्दा अझ यसो पनि भन्न सकिन्छ कि यी दुई वटा ट्रेण्ड वरिपरी भएर नै हाम्रो देशको राजनीतिक इतिहास यहाँसम्म आइपुगेको छ । र, केही समयसम्म यसरी नै अगाडि बढ्ने स्पष्ट छ । यो समय बर्बाद गर्ने, गलत फहमी फैलाउँने र राजनीतिलाई सिद्धान्ततः मैलो बनाउँने कार्य बाहेक अरू केही पनि होइन । यी दुई वटा गलत ट्रेण्डले राजनीतिक प्रवाहलाई उल्टो दिशातिर धकेलिरहेका छन् । आम जनतालाई कुहिरोको काग बनाउँने काम गरिरहेको देखिन्छ । ढिलै भए पनि नेपालको राजनीतिलाई सुल्टो दिशामा प्रवाहित गर्ने प्रयास गर्नु आजको आवश्यकता हो । जुन कार्य आशातीत ढङ्गले अगाडि बढिरहेको छ । क्रान्तिकारी कम्युनिस्ट, वामपन्थी धारका युवा पिँढीले यो आवश्यकता बोध गर्नु पर्दछ । व्याप्त भ्रम जालको भण्डाफोरका लागि योजनाबद्ध ढङ्गले अग्रसर हुनु आफ्नो जिम्मेवारी अन्तरगतको कार्य बुझ्नु पर्दछ । ती दुई वटा गलत राजनीतिक ट्रेण्ड १– माक्र्सवाद (कम्युनिस्ट) विरोधी प्रजातन्त्रिक ट्रेण्ड र २– प्रजातन्त्र विरोधी माक्र्सवादी (कम्युनिस्ट) ट्रेण्ड हुन् ।

१– माक्र्सवाद (कम्युनिस्ट) विरोधी प्रजातान्त्रिक ट्रेण्ड

आफूलाई प्रजातान्त्रिक धारको रूपमा चिनाउन चाहने राजनीतिक दलहरूले जन्मजात कम्युनिस्ट विरोधी ट्रेण्ड विकसित गर्दै आइरहेका छन् । त्यही अनुसार आफ्ना नीति, कार्यक्रम तय गर्दै आइरहेको पाइन्छ । गतिविधिहरू नियाल्दा यस्तो लाग्छ कि, मानौँ कम्युनिस्ट विरोधी पर्चम लहराउनु नै उनीहरूको एकमात्र उद्देश्य हो । यी तथाकथित प्रजातन्त्रिक भनाउँदा तमाम पार्टी, व्यक्तिहरूको अवधारणा सारमा के देखिन्छ भने, माक्र्सवाद यानिकी कम्युनिस्टको विरुद्धमा आफूलाई निःशर्त उभ्याउनु । उनीहरूको दरिद्र मानसिकतामा यही नै प्रजातान्त्रिक आदर्श हो । अर्थात्, यसरी नै प्रजातन्त्रको रक्षा हुन्छ । स्वतन्त्रता, समानता र सामाजिक न्यायको सुनिश्चतता रहन्छ । यो ट्रेण्डको अगुवाई नेपाली काँङ्ग्रेसले गर्दै आइरहेको छ । काँङ्ग्रेसका पछाडीपछाडी पूरक भूमिकामा अन्य गैर कम्युनिस्ट दलहरू पनि आ–आफ्ना आकार प्रकार अनुरूप देखा परिरहन्छन् । कम्युनिस्ट विरोधी तातो हौवा खडा गर्न कुनै खालको कसर बाँकी नराखी उत्साहजनक तरिकाले लागि परेका हुन्छन् । यो कुनै आश्चर्य जनक विषय होइन । किनकी, उनीहरूलाई हेर्दा, सुन्दा र पढ्दा लाग्छ, यो उनीहरूको धर्म नै बन्न गएको छ । यस्तो लाग्छ कि, उनीहरू आफ्नो स्वधर्म पालन गरिरहेका छन् । उनीहरूलाई जुन स्वभाविक लाग्छ । आम विषय बनिसकेको छ । वास्तवमा सैद्धान्तिक दृष्टिकोणबाट हेर्ने हो भने यो सर्वथा निन्दनीय विषय हो । एक तरिकाले अक्षम्य राजनीतिक अपराध गरिरहेका छन् । के यी स्वघोषित प्रजातान्त्रिक नाम धारीहरूले भन्ने गरेको जस्तो माक्र्सवाद र प्रजातन्त्र एक अर्काका विरोधी विचारधारा हुन् त ? गौर गर्नुपर्ने प्रश्न छ । त्यसका लागि हामीले नेपालको शुरुवातकालीन प्रजातान्त्रिक राजनीतिक परिवेश र तत्कालिन राजनीतिक नेताहरूको चिन्तन शैलीका बारेमा अध्ययन गर्नुपर्ने आवश्यकता बोध हुन जान्छ ।

नेपालमा प्रजातन्त्रको व्यवस्थित तरिकाले राजनीतिक रूपमा निंब हाल्ने काम श्री बी.पी. कोइरालाले गर्नु भएको हो । माक्र्सवाद र प्रजातन्त्रका बीचको अन्तरसम्बन्ध थाहा पाउन उहाँका बिचारहरूको अध्ययन गर्न अनिवार्य छ । उहाँले प्रजातन्त्रको व्याख्या गर्ने काम गर्दा समाजवाद विनाको प्रजातन्त्रको जीवन देख्नु भएन । त्यही भएर हुनुपर्छ पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा प्रजातान्त्रिक समाजवादको प्रस्तावना अगाडि ल्याउनु भयो । उहाँ साम्यवादका संस्थापक माक्र्सबाट असाध्यै प्रभावित हुनु हुन्थ्यो । नढाँटीकन भन्नुपर्दा राजनीतिक रूपमा माक्र्सवादबाट अभिप्रेरित हुनु भएको थियो । राजनीतिक दार्शनिकहरूमध्ये तपाईंलाई कसले सबभन्दा बढी प्रभावित पारेको छ ? एउटा अन्तर्वार्ताको क्रममा उहाँले विना हिच्किचाहट भन्नु भएको थियो, गान्धी, माक्र्र्स र फेरि गान्धीले नै । (बी.पी. कोइराला : एक क्रान्तिकारी व्यक्तित्व, भोला चटर्जी) उहाँको स्वीकारोक्ति थियो, “म एक अर्थमा माक्र्र्सवादी हुँ । किनभने समाजको कसरी विकास हुन्छ भन्ने व्याख्यामा मैले माक्र्सवादी पद्धति स्वीकार गरेको छु ।” (अमृतबजार पत्रिका, कलकत्ता तीर्थकर मुखर्जी) आजका प्रजातान्त्रिक भनाउँदाहरूले जस्तो उहाँले नव उदारवाद, निजिकरण र उदारीकरणको कहिल्यै पनि समर्थन गर्नु भएन । माक्र्सवादी राजनीतिक अर्थशास्त्रद्वारा निर्देशित सामुहिक स्वामित्व सहितको उत्पादन प्रणालीको पक्षधर श्री बी.पी. कोइरालाको विश्लेषण थियो; “….. वहाँले (माक्र्सले) मानव समाजमा के कति कारणले परिवर्तन आउँछन् र त्यसमा मानवको कस्तो विचारधारा, सामाजिक–आर्थिक स्थिति हुन्छ, त्यसको वैज्ञानिक खोज गर्नु भएको छ । माक्र्सले इतिहासको जुन मुल्याङ्कन गर्नु भएको छ, त्यसले परिवर्तनलाई बुझ्ने एक तरिका प्राप्त भएको छ….. वहाँले उत्पादन प्रणालीका आधारमा समाजको रूप निर्धारण गर्ने मूल्य प्रणाली बताउनु भएको छ….. समाजको पारस्परिक स्वार्थमा समाजवादी आदर्शको स्थापनाका लागि क्रान्ति गर्नु पर्दछ भन्ने माक्र्सको भनाई पनि आफ्नो जमानाको अनुकूल थियो । त्यस बेला युद्धको माग सामाजिक आवश्यकता थियो ।” (बिसौँ सताब्दी र माक्र्सवाद, नेपाल पुकार) वैदेशिक सहायतामा भर परेर देश विकास गर्न सकिँदैन भन्ने उहाँको बुझाई थियो । उहाँको भनाई थियो,“……. हामीहरूको जस्तो अवस्थामा विदेशी सहायताले विकासको प्रक्रियालाई मद्दत गर्नुको सट्टा एउटा वर्ग सिर्जना मात्र गर्छ जसको सम्पन्नताले देशको आर्थिक अवस्थासित कुनै सम्बन्ध छैन । त्यो सम्पन्नता केवल विदेशी सहायतालाई आफ्नो खल्तीमा हाल्ने, भ्रष्टाचार गर्ने या अवैध व्यापार गर्ने जस्ता कुरामा आधारित छ ।” साथै, विकासको मोडेल बाहिरबाट आयातित नभएर आफ्नै मौलिकतामा आधारित हुनुपर्छ भन्ने गर्नु हुन्थ्यो । “हामीहरूको जस्तो गरीब देशको विकासका लागि पश्चिमका विकसित समाजहरूले देखाएको नमूना उचित छैन । विकासको त्यो नमूना अगाडि राखेर हामीले काम गर्नका लागि अत्यन्त ढिलो भइसक्यो । त्यस्तो उच्च स्तरको प्रविधि आयात गरेर हामीलाई हुँदैन । हामीलाई ठीक हुने प्रविधि त हाल हामीले प्रयोग गरिरहेको भन्दा केही उत्कृष्ट प्रबिधि मात्र हो । हामीलाई त्यस्तो प्रविधि चाहिएको छ जसलाई हाम्रा आफ्नै मानिसले सञ्चालन गर्न सकून् ।

हामीले विकासको पश्चिमी ढाँचा अनुकरण गर्दाखेरि खास धनी झन्झन् धनी र गरीब झन्झन् गरीब हुँदै गइरहेका छन् । त्यो सम्पन्न वर्गको जरा (आधार) यो देशमा छैन, त्यो वर्गलाई यो देशको आर्थिक पुनरूत्थानमा खास रूची पनि छैन ।” हुन त श्री बी.पी. भारत निर्वासनमा छदा कम्युनिस्ट पार्टीका नेता श्रिपाद अमृत डाँगेको निकट समेत पुगेका थिए । पछि विस्तारै भारतीय नेताहरू जे.पी. नारायण, आचार्य नरेन्द्र देव, राम मनोहर लोहियाको संसर्गका कारण कम्युनिस्टबाट नव उदारवादी समाजवादी कित्तामा स्थानान्तरण भएका हुन् । तत्कालीन विश्व परिवेश राजनीतिक रूपमा दुई वटा धुव्र पुँजीवाद र समाजवादमा विभक्त थियो । यी दुई वटा ध्रुवका बीचमा भारतीय नेताहरू असङ्लग्न नीति अख्तियार गर्न पुगे । त्यहीँ बाटो श्री बी.पी. ले पनि रोजे । जे भए पनि उनका लेख, रचनाहरूको अध्ययनबाट के प्रस्त्याउन सकिन्छ भने उनी पूराका पूरा माक्र्सवाद विरोधी थिएनन् । बरू माक्र्सवादका करिबी शुभेच्छुक थिए । अघोषित समर्थक थिए । कम्युनिस्ट शब्द सुन्दा साथ धारे हात लगाएर मच्चिई मच्चिई गाली गर्ने आजका आफ्ना अनुयायी भन्दा श्री बी.पी. कोइराला फरक अन्दाजका व्यक्ति थिए । शायद उहाँको राजनीतिक उचाइँ र संस्कारले त्यो छुट दिँदैन थियो होला । कम्युनिस्ट नेताहरूप्रति उच्च सम्मान् भाव थियो । माओलाई त उनले पिता तुल्य व्यक्ति भनेर सम्बोधन गरेका छन् । एक पटक भारतीय पत्रकार भोला चटर्जीको दक्षिण एशिया बाहिरको कुन व्यक्तिबाट बढी प्रभावित हुनु भएको छ भन्ने प्रश्नमा उहाँको जवाफ थियो; “चाउ एनलाई ! म उनलाई ठूलो आदरका दृष्टिले हेर्छु । माओसित मेरो एकपटक मात्र आधा रातमा करिब दुई घन्टाजति भेट भएको थियो । उनी बुढा भइसकेका थिए र एक किसिमले पिताजस्तो व्यक्ति बडो नरम र सुसंस्कृत व्यक्ति लाग्थे ।” उनी प्रगतिशील बिचारका बाहक थिए । परिवर्तनवादी थिए । आम जनताको सवालमा चिन्तित थिए । किसान, मजदुरको हितमा राजनीति हुनुपर्छ भन्ने उनको मूल ध्येय थियो । २०१७ मङ्सिर २५ गते जनसभालाई सम्बोधन गर्दै भनेका थिए, “भूमि उनीहरूको हुनुपर्छ, जो त्यससँग जुध्छन्, खेल्छन् र जोत्छन् । भूमिमाथि शहरमा महल बनाएर मोज गरेर बस्ने मुट्ठीभर व्यक्तिको हक हुन सक्तैन । जबसम्म भूमिमा जोत्नेहरूको हक कायम हुँदैन, तबसम्म भूमिसम्बन्धी समस्या पनि हल हुँदैन ।” प्रधानमन्त्रीका हैसियतले राष्ट्रिय योजना आयोगमा किसानको फोटो राखेर योजना बनाउन निर्देशन दिएका थिए । भनेका थिए, प्रत्येक योजनाले किसानको जीवनमा कुनै बद्लाव ल्याउँछ कि ल्याउँदैन भन्ने कुराको ख््याल पुर्याउनु पर्छ । गैर कम्युनिस्टहरूले अधिनायकवादको बिल्ला भिराउँने सर्वहारा अधिनायकवादलाई श्री बी.पी. ले सहज रूपमा लिएको पाइन्छ । अझ विशेष गरी वैज्ञानिक साम्यवादलाई त प्रजातन्त्रको रूपमा ग्रहण गरेका थिए । अधिनायकवादलाई उनी तानाशाहीसित जोड्न चाहँदैनन् । अधिनायकवाद नै माक्र्सवाद हो भन्ने वाहीयात प्रचारको खण्डन गर्न पुगे । अधिनायकत्वलाई सरकारको अवस्थितिको रूपमा बुझेका छन् । जुन कुरा श्री बी.पी. कोइरालाकै भनाईबाट प्रष्ट पार्दछ । “माक्र्सको अन्तिम लक्ष्य भने प्रजातन्त्र नै हो । किन भने माक्र्सले समाजको त्यो अवस्था देखेका छन् जहाँ राज्य या सरकारको अवस्था नै रहँदैन ।

अन्त्यमा राज्यले स्वयम् आफ्नो विद्रोह गर्दछ । प्रजातन्त्रवादीहरूको सोचाइँमा पनि त्यहीँ नै सर्वोत्तम सरकार हो, जसले कमसेकम शासन गर्छ । ….. हो, माक्र्सले अधिनायकवादको पनि क्षणिक उपयोगिता मानेका छन् । तर अधिनायकवाद नै माक्र्सवाद होइन । किनभने उनको भनाई अनुसार अधिनायकवाद अन्ततः समाप्त भएर राज्यहीन या सरकारहीन अवस्थामा परिणत हुन्छ । त्यो अवस्था नै कमसेकम शासन गर्ने सरकार भनेर प्रजातन्त्रवादीले भने जस्तै हो ।” (डा. जयराज आचार्य सितको वार्तालाप, २०३५) आजका कतिपय मान्छेहरूले गान्धीवादका अनुयायीका रूपमा चित्रण गरे जस्तो श्री बी. पी. कोइराला गान्धीवादी थिएनन् । गान्धीका कतिपय पक्षहरूसित सहमत हुनु हुन्थेन । “….. यसको मतलब गान्धीजीले भनेका सबै कुराको म समर्थन गर्छु भनेको होइन ।” (अमृत बजार पत्रिका, कलकत्ता, तिर्थकर मुखर्जी) उहाँले २००७ र २०३० मा गरेर दुई पटक सशस्त्र संघर्ष गर्नु भयो । विमान कव्जा गर्नका लागि योजना तयार गरे । श्री बी.पी. एक अन्तर्राष्ट्रियतावादी व्यक्ति थिए । भारतीय स्वतन्त्रता सङ्ग्रामको बेला होस् या १९६४ मा इन्दिरा ‘कु’ का विरुद्ध होस् आन्दोलनमा सक्रिय क्रियाशील रहे । कसै कसैले यसरी प्रधानमन्त्री भइसकेको मान्छे अर्काको देशको आन्दोलनमा सहभागी हुनु मर्यादा विपरीत हो भनेर पनि उनको आलोचना गर्ने गरेको पाइन्छ । समग्रमा, श्री बी.पी. कोइराला माक्र्स र गान्धीका बीचको बाटो हिड्नु भएको देखिन्छ । उहाँ व्यवहारत ः गान्धीवादी कम माक्र्सवादी बढी हुनु हुन्थ्यो भन्ने कुरा उहाँको जीवन व्यवहारले बताउँदछ । न उनी पुर्णतः गान्धीवादी थिए, न त माक्र्सवादी नै । कुरा के पनि हो भने उनले आंशिक रूपमा नै सही माक्र्सवादलाई स्वीकार गरेका थिए । माक्र्सवादका विरोधी थिएनन् । आलोचक भने जरुर थिए । आलोचना त उनले गान्धीका कतिपय विचारहरूको पनि गरेका छन् । आलोचना गर्नु र विरोध गर्नु एउटै विषय पनि त होइन । तसर्थ, आलोचनाको विषयलाई जसरी आजका प्रजातान्त्रिक कठमुल्लाहरूले विरोधको विषय बनाई दिएका छन्, त्यो सरासर झुठ छ ।

२– प्रजातन्त्र विरोधी माक्र्सवादी (कम्युनिस्ट) ट्रेण्ड

माक्र्सवाद (कम्युनिस्ट) विरोधी प्रजातान्त्रिक ट्रेण्ड सँगसँगै नेपाली राजनीतिमा एउटा अर्को गजवको ट्रेण्डसमेत देखा परेको छ । जुन प्रजातन्त्र विरोधी माक्र्सवादी (कम्युनिस्ट) ट्रेण्ड हो । जसको प्रतिनिधित्व वामपन्थीहरूले गरिरहेको पाइन्छ । साधारणतया उनीहरूका मतमा, कम्युनिस्ट वामपन्थीहरू प्रजातान्त्रिक होइनन्, कम्युनिस्ट हुन् भन्ने देखिन्छ । उनीहरूको भनाइबाट के अर्थ लगाउँन सकिन्छ भने कम्युनिस्ट, वामपन्थीहरू बाहेकका प्रजातान्त्रिक हुन् । जो कम्युनिस्ट विरोधी हुन्छन् । संसदीय व्यवस्थाका पक्षपाती रहेका हुन्छन् । पुँजीवाद तिनीहरूको मुख्य आधारशिला हो । मुख्य गरी यस्तैयस्तै तरिकाले प्रजातन्त्रवादीहरूको विरोध गर्ने सिलसिला शुरु हुन्छ । आशय सहि होला तर विरोधका यी स्वरूपहरू विलकुल सहि मान्न सकिँदैन । सोह्रै आना गलत छन् । किनभने यी शैलीले कम्युनिस्ट प्रजातन्त्रिक शक्ति होइन, प्रजातन्त्र भन्दा टाढाको विचार पद्धति हो भन्ने भ्रम फैलाउन मद्दत पुर्याउँदछ । यस्ता यावत भ्रम पैदा हुने तरिकाहरूलाई यथाशिघ्र सुधार गर्न अति आवश्यक छ । अनि मात्र जनताले सजिलो गरी कम्युनिस्ट सिद्धान्त बुझ्न सक्दछन् । जुन आजको नितान्त आवश्यकता हो । कम्युनिस्टहरूले प्रयोग गर्ने जनवाद, नौलो जनवाद, जनताको जनवाद, जनतन्त्र, जन गणतन्त्र शव्दका अलावा वैज्ञानिक समाजवाद या साम्यवाद र अन्य राजनीतिक दलहरूले प्रचलनमा ल्याइरहेका प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र जस्ता शव्द प्रजातन्त्र शव्दकै पर्यायवाची हुन् । संस्कृत भाषाको प्रजातन्त्र शव्दको अर्थ जनताको शासन भन्ने हुन्छ । अर्कातिर नजर लगाउने हो भने पनि लेटीन भाषाबाट विकास भएको डेमोक्रेशि शव्द दुई वटा शव्द डेमोश र क्रेटीया मिलेर बनेको छ । डेमोशको अर्थ जनसाधारण र क्रेटीयाको अर्थ व्यवस्था भन्ने जनाउँदछ । त्यही डेमोश र क्रेटीया मिलेर बनेको शव्द डेमोक्रेशिलाई नै फरकफरक शव्दको प्रयोग हुँदै आइरहेको छ । स्थान, समय र परिस्थितिले शव्द चयन भइरहेको देखिन्छ । जस्तो, नेपालमै पनि २०४६ साल पश्चात् प्रजातन्त्र शव्दको प्रयोग भयो ।

२०६२–०६३ को जनआन्दोलन देखि राजतन्त्र अन्त्यको घोषणा नगर्दाका वखतसम्म लोकतन्त्र र राजतन्त्र अन्त्यको घोषणा यता सङ्घीय लोकतान्त्रिक गणतन्त्र शव्दको प्रयोग भइरहेको छ । शव्दको प्रयोग जसरी भए पनि, सार संक्षेपमा भन्नुपर्दा यी सबै शव्दको अर्थ जनताको शासन व्यवस्था भन्ने हुन्छ । जनताले, जनताद्वारा, जनताका लागि सञ्चालन गरिने शासन व्यवस्था वा सत्ता बुझाउँदछ । जहाँ जनताले सर्वोपरी स्थान ग्रहण गरेको हुन्छ । जनताभन्दा माथि कुनै व्यक्ति वा संस्था विशेषको प्राधिकार रहेको हुँदैन । यस्तो खालको अवस्था कहाँ श्रृजना हुन सक्छ त ? यो अवस्था वैज्ञानिक समाजवाद वा साम्यवादमा मात्र पैदा हुन सक्छ । यस कारण, सही माइनेमा बुझ्ने हो र बुझेर पनि बुझ नपचाईकन सकार गर्ने हो भने वैज्ञानिक समाजवाद, साम्यवाद नै वास्तविक प्रजातन्त्र हो । वैज्ञानिक समाजवाद, साम्यवाद बाहेकका अरू कुनै पनि व्यवस्था पूर्ण प्रजातान्त्रिक व्यवस्था हुन सक्दैनन् । अरू व्यवस्थामा कुनै न कुनै स्वरूपमा नियन्त्रणकारी संयन्त्रको परिकल्पना गरिएको हुन्छ । तर, यसका विपरीत वैज्ञानिक समाजवाद, साम्यवादमा राज्यको क्रमशः अन्तिम समयमा गएर विघटन हुने गर्दछ । राज्यको उपस्थिति नरहनुले जनता पूर्णतया स्वतन्त्रता, समानता र बन्धुत्वयुक्त समाजमा जीवन जिउन पाउँछन् । जहाँ कुनै खालको शोषण, विभेद, उत्पिडन रहँदैन । उच्च विवेक र चेतनाले सिर्जित अनुशासन कायम हुन जान्छ । सम्पूर्ण सम्पत्ति यानिकी उत्पादन प्रणाली सामूहिक हुन्छ । क्षमता अनुसारको काम, आवश्यकता अनुसारको मामको सिद्धान्त अनरूप न्यायपूर्ण वितरण कायम हुन जान्छ । मेरो र तेरो नामको बैर भाव नै हराउँदछ । यहाँ सम्मको यात्रा कुनै एक्लो विर या अमूक पार्टी विशेषले नभएर आम जन समुदायले नै गर्ने हो । पार्टी विशेषको भूमिका त जनताको चेतना अभिवृद्धि गर्न र सङ्गठन निर्माणमा मदतगारको मात्रै रहने गर्दछ । समाज विकासको ऐतिहासिक अध्ययन गर्दा जनता पूर्ण प्रजातन्त्र प्राप्तिको दिशामा निरन्तर सङ्घर्षरत रहँदै आएका छन् । जसको परिणाम बिभिन्न समयमा जनआन्दोलन, जनविद्रोह, जनयुद्ध सञ्चालन भएको देखिन्छ । हरेक पुराना समाजलाई नयाँ समाजले निषेध गर्दै आएको छ । दास मानव समाजलाई सामन्ती समाजले, सामन्ती समाजलाई पुँजीवादी समाजले निषेध गर्दै मानव समाज यहाँसम्म आइपुगेको हो । हरेक पुराना समाज शोषणकारी समाज थिए । प्रजातन्त्र विरोधी भएको हुँदा जनता तीनका विरुद्ध उत्रिए । पुँजीवादी समाज पनि पूर्व समाजहरू जस्तै विभेदकारी समाज हो । पूर्ववर्ती समाजहरूको तुलनामा पुँजीवादी समाज व्यवस्था थोर बहुत प्रगतिशील भएता पनि पूर्ण रुपेण प्रजातान्त्रिक मान्न सकिँदैन । त्यसकारण यसको अन्त पनि स्वभाविक छ । जनता विना शोषण, विना विभेद, विना विभाजित समाजको स्थापनाका लागि व्यग्र प्रतिक्षारत देखिन्छन् । अर्थात्, पूर्ण प्रजातान्त्रिक समाजको पक्षमा आफ्ना अभिमत सङ्घर्षका माध्यममार्फत् अनवरत जाहेर गरिरहेका छन् । संसदवादी दलहरूले भने जस्तो गणतन्त्र स्थापना हुनु नै प्रजातन्त्र प्राप्ति गर्नु होइन । यदि त्यसो हुँदो हो त, चीनमा १९१२ मै डा. सन यात्सेनको नेतृत्वमा राजतन्त्र समाप्त भइसकेको थियो । १९४९ सम्म जनयुद्ध लड्नै पर्ने थिएन नि । चिनियाँ जन सङ्घर्षबाट प्राप्त महत्वपूर्ण शिक्षा के हो भने, गणतन्त्र भन्ने बित्तिकै जनताको सत्ता नहुन पनि सक्छ । प्रजातन्त्र विरोधी पनि हुन सक्छ ।

क्वोमिन्ताङ्गको नेतृत्वमा च्याङ्काई सेकहरूको आगमनले यो कुरालाई राम्रोसित पुष्ट्याई गरेको छ । गणतन्त्रका प्रकार एवम् चरित्रका विषयलाई महान् माओले आफ्नो कृति ‘नयाँ जनवाद’ मा मिहीन ढङ्गले लेख्नु भएको छ । माओले तीन प्रकारका गणतन्त्रहरूको उल्लेख गर्नुभएको छ । –“(१) पुँजीपति वर्गको अधिनायकत्व अन्तर्गतका गणतन्त्रहरू, (२) सर्वहारावर्गको अधिनायकत्व अन्तर्गतका गणतन्त्रहरू र (३) सबै क्रान्तिकारी वर्गहरूको संयुक्त अधिनायकत्व अन्तर्गतका गणतन्त्रहरू ।” हामी पहिलो नम्बरको गणतन्त्रमा छौँ । जहाँ दलाल पुँजीपति वर्गको नेतृत्व रहेको छ । जनता शोषणको साधन मात्र बनाइएका छन् । जनतालाई पुँजीपतिहरूले एउटा माल सरह बजारमा खरीद बिक्री गर्दछन् । हरेक मान्छेको उसको शारिरीक कठ काँदीको आधारमा मोल लगाइएको छ । आफ्ना आवश्यकता पूरा गर्न मान्छे बिक्री हुन विवश छन् । जनता यस्तो दयनीय हालतमा बाँचिरहेका छन् । अनि यो व्यवस्था कसरी जनताको व्यवस्था हुन सक्छ ? जनताको निर्णायक भूमिका नरहेको व्यवस्था कुन दृष्टिकोणबाट प्रजातान्त्रिक व्यवस्था ठहरिन्छ ? महान् माओले माथि उल्लेख गरेका क्रमशः तेश्रो र दोश्रो नम्बरका गणतन्त्र मात्र जनताद्वारा दिशानिर्देशित व्यवस्था हुन् । जनताद्वारा नेतृत्व गरिएको हुँदा ती व्यवस्थालाई पूर्ण प्रजातान्त्रिक व्यवस्था भन्न सकिन्छ । पुँजीवादी कित्ताका कारिन्दाहरूले जनतालाई कम्युनिस्टबाट अलग्याउँने हर हत्कण्डा अपनाउँदै आइरहेका छन् । उनीहरूको आरोप छ, वैज्ञानिक समाजवाद, साम्यवाद जनतामाथि अधिनायकवादी स्वरूपको हुने गर्दछ । जुन मिथ्या हो । बरु, उल्टो यसको सट्टा पुँजीवादमा बहुसङ्ख्यक जनतामाथि मुठ्ठी भरका पुँजीपतिहरूको अधिनायकत्व रहने गर्दछ । वैज्ञानिक समाजवाद, साम्यवादको शासकीय स्वरूपको बारेमा नेपाल कम्युनिस्ट पार्टीको घोषणा पत्रमा भनिएको छ, “शासन गर्ने तरिका जनताको जनवादी अधिनायकत्व हुन्छ । जनताका निम्ति जनवाद र साम्राज्यवाद र तिनका दलालहरूका निम्ति अधिनायकवाद हाम्रो सरकारको नीति हुन्छ ।” (पुष्पलालका छानिएका रचनाहरू, पृ. ९, पुष्पलाल स्मृति प्रतिष्ठान २०५५ श्रावण) ।

निष्कर्ष

वैज्ञानिक समाजवाद, साम्यवाद र प्रजातन्त्रका सवालमा खडा भएका अन्तर्विरोध निराधार देखिन्छन् । कुनै तथ्य तथा तर्कमा आधारित छैनन् । एक पक्षले अर्को पक्षलाई बदनाम गराउनका लागि वा आफूलाई खाँटी जन सम्वाहक देखाउनका लागि श्रृजना गरिएको बखेडा मात्र हो । सिद्धान्तप्रति निष्ठावान राजनीतिक व्यक्तिहरूमा भने यो झुटो प्रचारबाजी त्यति सारो देखिँदैन । नेपालको राजनीतिमा श्री बी.पी. कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ श्रेष्ठतम् उदाहरण हुन् । नत्र गैर कम्युनिस्ट हुँदाहुँदै पनि श्री कोइरालाले माक्र्सवादको समर्थन कदापी गर्दैनथे होला । न त पुष्पलालले प्रजातन्त्र स्थापनाका लागि काँङ्ग्रेससित संयुक्त आन्दोलनका लागि प्रस्ताव गर्दथे । सिद्धान्तलाई रद्दीको टोकरीमा लत्याएर नाफा घाटाको खेलमा दौडिएका व्यक्तिहरू मात्र यो लज्जास्पद कार्यमा लिप्त देखिन्छन् । राजनीतिलाई सेवा भाव नभएर पैसा आर्जनका लागि अपनाइरहेका छन् । उनीहरूका लागि पद, पैसा र पावर तीन वटा जादूगरी हतियार हुन् । जसको प्रयोगबाट जस्तो सुकै नतिजा पनि आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने आडम्बर उनीहरूमा छचल्किने गर्दछ । यो स्वयम् उनीहरूकै निम्ति बिरालोको घाँटीमा घन्टी झुण्ड्याए जस्तै हो । आदि काल (रोम गण राज्य) देखि वर्तमान (सोभियत सङ्घ हुँदै चीन, क्युवा, भियतनाम, उत्तर कोरिया, लाओस) सम्म प्रजातन्त्र, वैज्ञानिक समाजवाद, साम्यवादको विकास क्रमले प्रजातान्त्रिक सिद्धान्तलाई सुदृढ गरेको छ । हाल वैश्विक प्रचलनमा रहेका सिद्धान्तहरू मुख्यतया : पाँच प्रकारका छन् । जसलाई पुँजीवादी वुद्धिजीवीहरूले पनि स्वीकार गरेका छन् । १– प्रजातन्त्रको पुरातन उदारवादी सिद्धान्त २– प्रजातन्त्रको अभिजनवादी सिद्धान्त ३– प्रजातन्त्रको बहुलवादी सिद्धान्त ४– प्रजातन्त्रको प्रतिभागी सिद्धान्त ५– प्रजातन्त्रको माक्र्सवादी सिद्धान्त अथवा जनताको प्रजातन्त्रिक सिद्धान्त ।

प्रजातन्त्रका यी पाँच वटा सिद्धान्तहरू सर्व स्वीकार्य सिद्धान्तका रूपमा मान्न सकिन्छ । अहिले सम्म विकास भएका सिद्धान्तहरूको आग्रह, पुर्वाग्रह विना अध्ययन गर्नु सबैको उत्तर दायित्व हो । अध्ययन मुताविक सहि निष्कर्षमा पुग्नु बस्तुवादी हुन्छ । पाँच ओटै सिद्धान्तहरू मध्ये पूराका पूरा जनताको पक्षपोषण गर्ने प्रजातन्त्रको माक्र्सवादी सिद्धान्त अर्थात् जनताको प्रजातन्त्रले नै हो । यो बाहेक बाँकी चार वटा प्रजातान्त्रिक व्यवस्था आंशिक हिसावले मात्र जनताको हितमा कार्य गर्ने स्थितिमा हुने गर्दछन् । यस कारण हामी निर्धक्कताका साथ भन्न सक्छौँ प्रजातन्त्रको उच्च रूप वैज्ञानिक समाजवाद, साम्यवाद हो । माक्र्सवादी कम्युनिज्म (वैज्ञानिक समाजवाद, साम्यवाद) बाहेकका अरू व्यवस्था प्रजातन्त्रका नाउँमा छरिएका भ्रम हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :