कोरोना कालमा क्रान्तिकारी कम्युनिस्टहरूको भूमिका

कोरोना कालमा क्रान्तिकारी कम्युनिस्टहरूको भूमिका

विगत करिब डेढ वर्षदेखि हामी कोरोना कालमा जीवन बिताउन बाध्य छौँ । यो समयावधिमा दुनियाँ अकल्पनीय तरिकाले डगमगाएको छ । मानव जाति अहिलेसम्मकै इतिहासमा सबैभन्दा ठूलो दर्दनाक त्रासदीसँग जुधिरहेको छ । प्रत्येक मान्छेभित्र कोरोनाको डरले घर बनाएको छ । जीवनमरणको दोसाँधका बीचबाट मान्छेहरू अघि बढ्नुपर्ने बाध्यकारी नियति वन्न पुगेको छ । भयको मनोदशाबाट मान्छे पीडित छन् । जेठ १ गतेसम्मको तथ्याङ्क हेर्दा विश्वभरि कोरोना भाइरसबाट ३३,८३,१५१ ले जीवन गुमाइसकेका छन् । विश्व आक्रान्त बनिरहेको बेला नेपाल पनि अछुतो रहन सक्ने कुरै भएन । नेपालको अलग्गै तथ्याङ्क निकाल्दा ४,८५६ जनाको मृत्यु भएको पाइन्छ । कोरोनाभन्दा पहिला पनि विश्वमा यस्ताखाले महामारी नफैलिएका होइनन् । त्यति बेला पनि लाखौँ मान्छेले जीवन गुमाउनुपरेको थियो । हाम्रै देशमा पनि हैजा, शीतला (बिफर) जस्ता रोगहरूको सङ्क्रमणले गाउँका गाउँ रित्तिएका थिए । हैजाको महामारीबाट वि.सं. १९४२ ताका काठमाडौँ उपत्यकामा मात्रै नौ हजारले ज्यान गुमाएका थिए । उपत्यकाबाहिरको त कुनै आँकड़ा नै तयार गरिएको थिएन । यसो अनुमान लगाउँदा देशैभरिको सरदर मानवीय क्षति पैँतीस–चालीस हजारको हाराहारीमा भएको बुझिन्छ । मान्छेहरू गाउँ छोडेर बन, पाखा, ओढारतिर गएर बसेका थिए । रोगको चपेटामा परेका घरपरिवार सबैबाट एक्लिने स्थिति पैदा हुन्थ्यो । ओखतीमूलोमा सघाउनु त टाढाको विषय थियो । ढाडस, हौसला दिनसमेत मान्छेहरू नजिक पर्न चाहँदैनथे । मरेकाले सद्गति पाउने स्थिति थिएन । शव त्यत्तिकै खोला, जङ्गलमा फ्याँक्नुपर्ने विवशता थियो । ज्यादै विरामी मान्छेहरूलाई समेत घाटमा ल्याएर छोड्नुपर्नेजस्तो भयावह स्थिति बन्न पुगेको थियो । यो कुराको वृत्तान्त ब्रिटिस रेजिडेन्सीका डा.जीएच गिम्लेटले द ब्रिटिस मेडिकल जर्नलमा सन् १८८६ मा छापिएको ’रिपोर्ट अन् द कोलेरा इपिडेमिक अफ १८८५ इन् काठमाडौँ’ शीर्षकको आफ्नो लेखमा उल्लेख गरेका छन् ।

लेखक : राजेन्द्र बिष्ट ‘परिवर्तन’

रोगले हावाबाटै समात्छ भन्ने दुष्प्रभाव फैलिएको थियो । सद्भाव व्यक्त गर्नुको साटो बिरामी मान्छेप्रति घृणाभाव देखिन्थ्यो । बिरामी परेका मान्छेहरूका परिवारजन सामाजिक बहिष्कारका पात्र बन्न पुग्थे । आफन्तजनहरूसमेत नजिक पर्न इच्छुक थिएनन् । अहिले पनि बिस्तारैबिस्तारै समाज त्यसै दिशातिर बहकिँदै गएजस्तो देखिन्छ । हो, सुरक्षा मापदण्ड अवलम्बन गर्ने कुरा ठीक हो । यो अनिवार्य पनि छ तर नजिकै पर्न नहुने, सङ्क्रमित व्यक्तिको घरछेउको बाटो नै प्रयोग गर्न नहुनेखालका मनोवृत्तिहरू गलत हुन् । यस्ता खतरनाक प्रवृत्तिका कारण रोग निको भइसकेका व्यक्तिहरूमा लामो समयसम्म मनोवैज्ञानिक असर परेको देखिन्छ । रोगको भन्दा पनि मान्छेहरूमा बढी सामाजिक तिरस्कारको भय देखिन्छ । सायद, त्यही भएर होला आजकाल धेरैजसो मान्छेहरू कोरोनाको खुलासा नगरी कनै गुपचुपमा उपचार गराइरहेका भेट्टिन्छन् । दिवंगत भएकाहरूको नाम पनि गोप्य नै रहोस् भन्ने चाहना आफन्तजनहरूले देखाइरहेका छन् । एक सय पैँतीस वर्ष अगाडिको जस्तै विकराल विपत्ति पुनः दोहोरदैछ । अझ त्यो बेलाको भन्दा कोरोना महामारीले झनै उग्र रूप लिइरहेको छ । त्यतिबेला महामारीको विस्तार विश्वभरि अहिलेको जस्तो एक समान थिएन । सम्भवतः आजका दिनमा जस्तो भूमण्डलीकृत आवतजावत नभएर पनि हुन सक्छ । जे होस्, कुनै रोगले एकसाथ पूरा विश्वलाई ढाडै भाँच्ने गरी थला पारेको यो पहिलोपटक हो । अस्पतालमा अक्सिजनसम्मको उपलव्धता छैन । अक्सिजन सकिएर भेन्टिलेटरमा उपचाररत व्यक्तिहरूको मृत्यु भइरहेको छ । निधन भइसकेका व्यक्तिहरूको शव तीन दिनसम्म अस्पतालकै बेडमा बेवारिसे परेका घटनाहरू बाहिर आएका छन् । भारतमा त कैयौँ शवहरू नदीमा बगाइएका समाचार मिडियामा छाएका छन् । उता पहिलो विश्वको दर्जा दिइएका अमेरिका, बेलायत र युरोपेली राष्ट्रहरूको अवस्था झनै दयनीय छ । फोहोर डम्पिङ गरेझैँ हजारौँ शव मेसिन लगाएर एउटै खाल्डो खनेर पुरिरहेका छन् ।

अत्याधुनिक उपचार प्रणालीको प्रयोग भइरहँदासमेत यत्ति धेरै मान्छेहरूको हताहती हुनु कम खतरनाक स्थिति होइन । अझ निरन्तर रूपमा वैज्ञानिकहरूले गरिरहेका खोज, अनुसन्धान फिका पर्दै जानुले आधुनिक विज्ञान जगत्का लागि थप ठूलो चुनौती बन्न पुगेको छ । विगतका महामारीमा जस्तै वर्तमान समयमा पनि विश्वभरिकै स्थिति बिग्रँदो छ । कोरोना महामारीका कारण लाखौँ मान्छे बेरोजगारीको सिकार भएका छन् । लाखौँको सङ्ख्यामा बिदेसिएका नेपालीहरू अलपत्र परेका छन् । घर आउने मनोकाङ्क्षा बोकेर गुहार लगाइरहेका छन् । उनीहरूको आवाज सुन्ने कुनै निकाय देखिँदैन । स्वदेश वा विदेशमा भएकाहरूको न गाँसको जोहो छ, न त उचित स्वास्थ्य उपचारको बन्दोबस्त । मानवीय संवेदना नामको कुनै ठाउँ बाँकी रहेको छैन । समाजका सम्पूर्ण मानवीय सम्बन्धहरूको अन्त्य भइसकेजस्तो देखिन्छ । एकले अर्कोलाई सघाउनुपर्ने विषम अवस्थामा महँगी, कालोबजारी, कृत्रिम अभाव उत्पन्न गरिएको छ । राज्यले नियन्त्रणको प्रयाससम्म गरेको देखिँदैन । गरोस् पनि कसरी ! राज्य आफँै भ्रष्टाचार, कमिसनखोरीमा लिप्त भएको छ । राज्य यो बेला अभिभावकीय भूमिकामा अगाडि आउनुपर्ने हो । जिम्मेवार हुनुपर्ने समय हो । जनता प्रत्यक्ष रूपमा लाभान्वित हुन पाउने गरी परिपक्व योजना निर्माण गर्नुपर्ने हो तर दुःखका साथ भन्नु पर्दा राज्य त्यस्तो जिम्मेवार र परिपक्व देखिँदैन । पूराका पूरा भाँडभैलो चरित्र प्रस्तुत गरिरहेको छ । महामारी नियन्त्रणका लागि सबै राजनीतिक दलहरू आआफ्ना मतमतान्तर छोडेर एक ठाउँमा आउनुपर्ने समयमा राजनीतिक परिदृश्य भने बिल्कुल फरक छ । केन्द्रदेखि प्रदेशसम्म सरकार जोगाउन र फेरबदल गर्न दलहरू राजनीतिक मर्यादा बिर्सिएर कपटी चाल चल्नमै व्यस्त देखिन्छन् । यी दुवैथरी दलहरूले कोरोना महामारीको विषयलाई आफ्ना मनोकाङ्क्षा पूर्तिको सवालसित जोडिरहेको प्रस्ट देखिन्छ । अकालमा जनता मरिरहेकोमा उनीहरूलाई अलिकति पनि दुःख छैन । बाहिरबाहिर थुकको आँसु पुछिरहेका छन् । नत्र उनीहरूले बोलेजस्तो साँच्चिकै पीडा उनीहरूलाई भइरहेको हो भने उनीहरूका तुच्छ राजनीतिक क्रियाकलापहरू तत्कालका लागि भए पनि बन्द हुनुपर्ने हो तर त्यसो छाँटकाँट देखिँदैन । यो दुर्दशा मञ्चन हाम्रो देशमा मात्र हो त भन्दा बिल्कुल होइन । पूरा दुनियाँभरिको हालत यही छ । यतिसम्मको निर्लज्जतापूर्ण हर्कत कसरी भइरहेको छ त ? यो साह्रै गह्रौँ र असहज प्रश्नको उत्तर सजिलो र सहज रूपमा देखापर्छ– दलाल पुँजीवादी सत्ता । हो अहिलेसम्मको पुँजीवादको अध्ययन गर्दा देखिने स्थिति यही हो । यो कुनै नयाँ विषय होइन । चलनचल्तीको पुँजीवादी मूल्य, मान्यताको निरन्तरता हो । पुँजीवादी सत्ताको चरित्र सारमा यस्तै हुन्छ । यो रक्तपिपासु पिचास हो । पुँजीवादी सत्ता उसले आफूलाई महिमा वर्णन गरेजस्तो सत्यं शिवम् सुन्दरम् होइन रहेछ भन्ने कुरा सत्य साबित भइसकेको छ ।

पीडाका बीचबाट ठोस ढङ्गले विश्लेषण गर्दा के देखिन्छ भने कोरोना महामारीले पुँजीवादको रूप पक्ष र सार पक्ष छर्लङ्ग देखाउन मद्दत पुर्याएको छ । क्रान्तिकारीहरूले कोरोनाका कारण मानव जातिमाथि आइलागेको सङ्कट र पुँजीवादको कुरूप अनुहार उदाङ्गो भएका बखत मौनव्रत धारण गरेर बस्नु कदापि जायज हुन सक्दैन । हरेक परिस्थिति क्रान्ति सम्पन्नताका लागि प्रयोगमा ल्याउन हरसम्भव जोड दिनु पर्दछ । अझ भन्ने नै हो भने कोरोना कालमा क्रान्तिकारी कम्युनिस्टहरूको भूमिका अद्वितीय र निर्णायक बन्न गएको छ । चाहे त्यो कोरोनाविरुद्धको सङ्घर्षमा होस् वा पुँजीवादका विरुद्धको सर्वहारा वर्गीय लडाइँमा नै किन नहोस् । यो ऐतिहासिक भूमिकालाई पूरा गर्न क्रान्तिकारीहरूले बिनासङ्कोच अग्रसर हुनु पर्दछ । सचेततापूर्वक पुँजीवादी सत्ताका विरुद्ध ढिला नगरीकन वैज्ञानिक समाजवादको आधार तयार गर्न पहलकदमी लिन नितान्त जरुरी छ । श्रद्धेय महासचिव कमरेड विप्लवद्वारा २०७६ चैत २२ गते प्रेषित विज्ञप्तिको अन्तर्य बुझ्नु आजको दिनमा सम्पूर्ण पार्टी सदस्यहरूको दायित्व हुन जान्छ । विज्ञप्तिमार्फत सरकारलाई १६ बुँदे सुझाव दिइएको छ । साथै पार्टी कार्यक्रम सञ्चालनका सन्दर्भमा ६ बुँदामा कोरोनाकालको कार्यभार समेटिएको छ :

१) कोरोना भाइरस सिङ्गो मानव जातिविरुद्धको समस्या हो भन्नेमा हामी स्पष्ट छौँ ।

२) कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सबै शक्तिसँग सहकार्य गर्न हाम्रो पार्टी तयार छ ।

३) पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सहभागी बनिरहेका छन् । आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य सङ्गठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा पुर्याउन र जनतालाई उपचारमा सहयोग गर्नेछ ।

४) भाइरसविरुद्धको सङ्घर्षमा व्यक्त पुँजीवादी अराजकता, सामाजिक सद्भाव बिथोल्ने र जनअनुत्तरदायी शैलीका विरुद्ध समाजवादी अनुशासन, जनसेवा र जनएकतालाई प्रोत्साहित गर्नेछ ।

५) कोरोना भाइरसजस्तो महामारीलाईसमेत मुनाफा सोहोर्ने, भ्रष्टाचार गर्ने र जनतामाथि शोषण गर्ने सामाजिक दलाल पुँँजीवादी सरकारको भन्डाफोर गर्नेछ ।

६) कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सरकारको असफलता र अस्तव्यस्तताका बाबजुद जनताले अपनाएको संयमप्रति धन्यवाद दिन चाहन्छ र आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन अपिल गर्दछौँ ।

बिनाहिच्किचाहट उक्त कार्यभारसहित इमानदारीपूर्वक अगाडि बढ्नुपर्छ । आआफ्नो जिम्मेवारीअनुसारको भूमिका जनताका माझमा गएर निर्वाह गर्यौँ भने कोरोनाका कारण थिलथिलो भएको पुँजीवादका विरुद्धको क्रान्तिकारी मोर्चा झन् सशक्त तरिकाले उभारमा आउने कुरामा कुनै दुई मत छैन । कोरोना मानव जातिमाथि आइलागेको चरम सङ्कट हो । यो निर्विवादित विषय हो तर हामीले हाम्रो बुझाइलाई यत्तिमै खुम्च्याउनु सही ठहरिँदैन । हामीले यसका अतिरिक्त कोरोनालाई पुँजीवादको कालका रूपमा समेत बुझ्नु पर्दछ । रामले रावणको काल उसको नाइटोमा भएको कुरा पत्ता लगाउनु नै रामका लागि विजयको ढोका खुलेको ज्ञात हुन्छ । रामले रावणको भेद पत्ता लगाएजस्तै हामीले पनि पुँजीवादको काल खोजी गर्नु अपरिहार्य छ । पुँजीवादका गोप्य पाटा–पक्षहरूलाई कोरोना महामारीले सतहमा ल्याइदिने काम गरिदिएको छ । महासचिव विप्लवले आफ्नो रचना ‘कोरोनाले खोलिदिएको पुँजीवादको सार चरित्र’ मा भन्नुभएको छ, ‘कोरोनाले पुँजीवादी विश्व–अर्थराजनीतिक सम्बन्धका केही महत्वपूर्ण विशेषताहरू पनि खोलिदिएको छ । यसलाई मनन गर्न आवश्यक छ । पहिलो कुरा पुँजीवादी सम्पन्नता र वास्तविक सम्पन्नता एउटै होइन । रूपगत सम्पन्नताभित्र कैयौँ अव्यवस्था, अपूर्णता र सङ्कट बाँचिरहेका हुन्छन् भन्ने खुलस्त भएको छ । बाहिर देखिने भव्यता भित्रभित्रै मक्किँदै गएको हुनसक्छ ।’

उहाँले जति बल गरे पनि पुँजीवादी व्यवस्था जोगिन नसक्ने महत्वको विषय औँल्याउनुभएको छ । पुँजीवादलाई प्लास्टिकको फूलको उपमा दिँदै बाह्य रूपमा आफूलाई सक्षम र सबल घोषणा गर्दै आएका अमेरिका, युरोपलगायत पुँजीवादी देशहरू र आर्थिक दृष्टिबाट कमजोर ठहरिएका देशहरूको विश्लेषण गर्दै अगाडि थप भन्नुभएको छ, ‘…परन्तु कोरोनाले खोलिदियो– बाहिर समृद्ध देखिए पनि त्यो खोक्रो र मक्किसकेको हुनसक्छ । त्यो समृद्धिले समाज र नागरिकहरूको संरक्षण र सुरक्षा दिने त कल्पनै नगरौँ, आफ्नै अस्तित्वलाई समेत थेग्न नसक्ने गरी सडिसकेको हुन्छ । आज बाह्य दृष्टिले युरोप, अमेरिकालगायत संसारका पुँजीवाद समृद्धिका केन्द्र मानिन्छन् तर कोरोनाले देखायो– ती देशहरूमा नै नागरिकहरूले सबैभन्दा डरलाग्दो क्षति र समस्याहरू भोग्नु परिरहेको छ । नागरिकहरूले उपचार पाउन सकेका छैनन् । औषधिको अभाव छ । अस्पतालहरू अपर्याप्त भएका छन् । करोडौँको रोजगारी समाप्त भएको छ । उल्टो सापेक्षित रूपले कमजोर देखिए पनि अर्थराजनीतिक दृष्टिले फरक रहेका समाजवादी देशहरू र लोककल्याणकारी राज्यमा कोरोनाको प्रभाव कम देखियो । नोम चोम्स्कीको विश्लेषणमा क्युबा त स्वास्थ्य महाशक्तिकै रूपमा अगाडि आयो । यसरी हेर्दा पुँजीवादी विश्वमा देखिने समृद्धि प्लास्टिकको फूल हो जो हेर्दा वास्तविक फूलभन्दा सुन्दर देखिन्छ तर फूलमा पाइने मूल तत्व नै त्यसमा हुँदैन ।’ पुँजीवाद समर्थक बुद्धिजीवीहरूले सही अर्थमा भन्ने हो भने बुद्धिको सदुपयोग नभएर दुरुपयोग गरिरहेका हुन्छन् । त्यही भएर उनीहरूको निष्कर्ष अर्थव्यवस्था नै सबैथोक हो भन्ने देखिन्छ जुन सर्वथा गलत छ । पुँजीवादीहरूले जबर्जस्ती प्रचार गरेको उक्त भ्रम चिर्दै महासचिव उक्त रचनामा घोषणा गर्नुहुन्छ, ‘…बरु के साबित भयो भने पैसा महत्वपूर्ण भए पनि त्योभन्दा महत्वपूर्ण पक्ष राज्यको आर्थिक, सामाजिक, राजनीतिक चेतना तथा मान्यताहरू महत्वपूर्ण हुन्छन् ।’ आजका दिनमा निजी क्षेत्रको उपस्थिति अनिवार्यजस्तै मानिन थालेको छ ।

निजी क्षेत्रको उपस्थितिबिना राष्ट्र समृद्ध हुन सक्दैन भन्ने हौवा पिटिएको छ । सबै थोक निजी क्षेत्रको परिणाम हो भन्न थालिएको छ । यी तमाम खालका वैश्विक विकृतिहरूको छाप हामीकहाँसमेत परेको छ । केही दिनअगाडि मात्रै नेपालका पुँजीपतीहरूको समूहले उद्योग वाणिज्य तथा पारवहनमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझायो । ज्ञापनपत्रमा उनीहरूको मुख्य माग थियो सरकारी स्वामित्वमा रहेका उद्योगहरू पूर्णतया निजी क्षेत्रलाई सुम्पिनुपर्छ । कस्तो लाजै नभएका नकच्चराहरू । यस्तै विघ्न हो भने एक दिन यिनीहरूको दाबी सरकार सञ्चालनका लागिसमेत नरहला भन्न गाह्रो छ । समाजको सबैभन्दा खतरनाक साइनाइड विषको प्याला निजी क्षेत्र नै हो । यसकै आडमा एकपछि अर्को पुँजीवादी अस्त्र प्रक्षेपण भइरहेका छन् । पुँजीवादीहरूले निजी स्वतन्त्रता र सम्पन्नता राष्ट्र समृद्ध बनाउने विषयका रूपमा प्रचार गरिरहेका हुन्छन् । महासचिवले आफ्नो रचनामा निजी स्वतन्त्रता र सम्पन्नतालाई सरल भाषामा यसरी प्रस्ट्याउनुभएको छ, ‘पुँजीवादी राज्यहरूले जसरी निजी स्वतन्त्रता र सम्पन्नताको हवाला दिन्छन्, अन्तर्यमा ती सहज समयमा मुनाफा कुम्ल्याउनका लागि मात्र उपयोगी हुन्छन् । समाजले नै सङ्कट झेल्नुपर्दा वा मालिकहरूले समाजका लागि विशेष योगदान गर्नुपर्ने अवस्थामा निजी समृद्धिको क्षेत्र समाज र नागरिकहरूप्रति पूरै अनुत्तरदायी एवम् गैरजिम्मेवार बन्न पुग्छ । उल्टो राज्यले उसको संरक्षण गर्नुपर्ने हुन जान्छ ।’ आजका दिनमा पुँजीवादीहरूले आफ्ना सङ्कट हल गर्नका लागि पूरा दुनियाँलाई छल्ने दुष्प्रयास गरिरहेको देखिन्छ । उनीहरूले कोरोना महामारीबाट जनताको ध्यान अन्यत्र मोड्न अस्थिरता, अराजकता निम्त्याउने र युद्ध भड्काउने कसरत गरिरहेका छन् । यसका साथै विश्वभरिकै पुँजीवादीहरू रकम कुम्ल्याउने एउटा सुनौलो अवसरका रूपमा कोरोना महामारीलाई सैतानी तरिकाले प्रयोग गरिगरीरहेका देखिन्छन् । पुँजीवादीहरूले आफूलाई पानीमाथिको ओभानो बनाउने जुन खालको कुप्रयत्न गरिरहेका छन्, यो अपराधको पनि पराकाष्ठा हो । जोडदार विरोध, भण्डाफोर र प्रतिरोध गर्नु पर्दछ । हामीले बुझ्नुपर्ने असली विषय के हो भने पुँजीवादीहरूले आफूलाई बचाउनका लागि जस्तोसुकै रणनीति अपनाए पनि पुँजीवादको अन्त्य अवश्यम्भाबी छ । त्यसका निम्ति क्रान्तिकारी कम्युनिस्टहरू उत्साहका साथ जनताका बीचबाट अगाडि बढ्नु पर्दछ । विश्वस्त बनौँ, जित क्रान्तिकारी कम्युनिस्टहरूको अगुवाइमा मेहनतकश जनताकै हुनेछ । जनताको आफ्नो सत्ता वैज्ञानिक समाजवाद नेपाली धर्तीमा छिट्टै पल्लवित भएर विश्वक्रान्तिको सन्देश छर्दै मुस्कुराउनेछ । ती दिन धेरै टाढा छैनन् ।

दलाल पुँजीवाद– मुर्दावाद ! क्रान्तिकारी कम्युनिस्टहरूबीचको एकता– जिन्दावाद ! वैज्ञानिक समाजवाद– जिन्दावाद !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :