इजरायली आक्रमणमा कयौँ प्यालेस्टिनीको मृत्यु, अल जजिरा र एपीका कार्यालयसमेत ध्वस्त

प्रतिरोधमा विद्रोहीहरूद्वारा रकेट हमला

इजरायली आक्रमणमा कयौँ प्यालेस्टिनीको मृत्यु, अल जजिरा र एपीका कार्यालयसमेत ध्वस्त

काठमाडौँ : इजरायलले प्यालेस्टिनको गाजामा हवाई आक्रमण गर्दा बालबालिकासहित दर्जनौँ मानिसको ज्यान गएको प्यालिस्टिनी स्वास्थ्य अधिकारीहरूले बताएका छन् । अमेरिकी साम्राज्यवादको पिट्ठु इजरायलले प्यालेस्टिनी भूमि कब्जा गरेपछि लामो समयदेखि प्यालेस्टिनी देशभक्तहरू मातृभूमि रक्षाका लागि इजरायलविरुद्ध लडिरहेका छन् ।

यसैबीच इजरायली सेनाले गाजामा कार्यालय रहेका अमेरिकी समाचार संस्था एपी र कतारको समाचार एजेन्सी अल जजिराका कार्यालय रकेट प्रहार गरी ध्वस्त पारेको छ । यी संस्थाहरूले प्यालेस्टिनमाथि इजरायली ज्यादतीको समेत समाचार प्रसारण गर्दै आएका थिए ।

अमेरिकी समाचार एजेन्सी द असोसिएटेड प्रेस (एपी) र कतारको समाचार च्यानल अल जजिराले इजरायलद्वारा शनिबार आफ्नो कार्यालयमा भएको हवाई हमलाको कडा शब्दमा निन्दा गरेका छन् । द असोसिएटेड प्रेसले इजरायलको हमलालाई भयावह र अचम्मित पार्ने खालको बताएको छ । अल जजिराले पत्रकारलाई गाजामा काम गर्नबाट रोकेको छ । शनिबार इजरायलले गाजास्थित एक भवनलाई हवाई हमला गरी ध्वस्त पारेको थियो । त्यस भवनमा यी दुई मिडिया संस्थाका कार्यालय अवस्थित थिए । इजरायलले प्यालेस्टिनमाथि आफ्ना ज्यादतीका बर्बरतापूर्ण घटना सार्वजनिक हुनबाट रोक्न सञ्चारमाध्यममै हमला गरेको जानकारहरू बताउँछन् ।

समाचार एजेन्सी द असोसिएटेड प्रेसले शनिबार आफूले इजरायली सेनालाई थुप्रै फोन गरेर यो हमला रोक्न अपिल गरे पनि इजरायली सेनाले नसुनेको बताएको छ ।

एपीले भनेको छ, ‘हामीले इजरायली सेनासँग भवनमा हमास भएको प्रमाण दिन भनेका थियौँ तर उनीहरूले दिएनन् । एपीको ब्युरो यो भवनमा पछिल्लो १५ वर्षदेखि थियो । हामीले यो भवनमा हमासको उपस्थिति रहेको अहिलेसम्म कुनै सङ्केत पाएका छैनौँ । यो निकै नै भयावह स्थिति हो । गाजामा जेजति भइरहेको छ, अब संसारले निकै कम थाहा पाउनेछ तर हाम्रो कार्यालय ध्वस्त पारिएको छ ।’

अमेरिकी समाचार एजेन्सीले आफ्नो रिपोर्टमा लेखेको छ, ‘शनिबार जतिबेला इजरायलले हमलाको सूचना दियो, त्यतिबेला हाम्रा १२ पत्रकार गाजा ब्युरोमा काम गरिरहेका थिए । इजरायली सेनाले भवन खाली गर्न एक घन्टाको समय दिएको थियो । यद्यपि सौभाग्यले हाम्रा सबै पत्रकार आफूलाई आवश्यक पर्ने थोरै सामान अफिसबाट निकाल्न सफल भए । त्यसको केही समयपछि इजरायलका तीन मिसाइल त्यो १२ तले भवनमा ल्याएर ठोक्काइयो र हेर्दाहेर्दै त्यो धुवाँको मुस्लोमा परिणत भयो ।’

प्रेस स्वतन्त्रताको वकालत गर्ने अन्तर्राष्ट्रिय संस्थाले इजरायलको यो हमलाको निन्दा गरेको छ ।

यी संस्थाले इजरायली सेनाले आफूहरूले गरिरहेको युद्ध अपराधबारे संसारलाई थाहा नहोस् भन्नका लागि मिडियाको कामलाई सेन्सर गर्ने कोसिस गरिरहेको पनि बताएका छन् ।

उक्त हवाई हमलाका विषयमा इजरायली सेनाले केही मिडिया संस्थानको अफिस र केही मानिसहरूको घर बनेको उक्त भवनको कुनै एक तलामा चरमपन्थी सङ्गठन हमासको सैन्य गोप्य समूह बस्ने गरेको दाबी गरेको छ ।

समाचार च्यानल अल जजिराले भनेको छ, ‘अल जला नामको यो भवन जहाँ थुप्रै कार्यालय थिए र धेरै मानिसको घर पनि थियो, त्यो खाली गर्नका लागि इजरायली फौजले एक घन्टाको समय मात्रै दियो । फोनमार्फत यसको जानकारी दिइएको थियो । जब हामीले हामीलाई केही थप समय उपलब्ध गराइदिन आग्रह गर्यौँ तब उनीहरूले आफूले यसबारे केही पनि गर्न नसक्ने बताए ।’

इजरायली हमलाको जबाफमा हमास र अन्य लडाकु समूहले पनि इजरायली भूमितर्फ १,५०० वटाभन्दा बढी रकेट प्रहार गरेको दाबी इजरायली सेनाले गरेको छ । तीमध्ये अधिकांश रकेटलाई आफ्नो ‘आइरन डोम’ नामक प्रतिरक्षा प्रणालीले निस्तेज पारेको दाबी पनि इजरायलको छ ।

इजरायलले प्यालेस्टिनीबाट प्रहार भएका मिसाइल ध्वस्त पार्न आइरन डोम प्रणाली प्रयोगमा ल्याएको बताइएको छ । इजरायली अधिकारीहरूका अनुसार उक्त प्रणालीले ९० प्रतिशत आक्रमण रोक्न सक्छ । उनीहरूले प्यालेस्टिनी विद्रोहीरूरुले प्रहार गरेका कयौँ रकेटलाई आकाशमै ध्वस्त पारेको दाबी पनि गरेका छन् ।

‘आइरन डोम’ मा इजरायलभरि प्रयोग गरिएका विविध क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू संलग्न छन् । त्यसका लागि इजरायलले अर्बौं डलर खर्च गरेको छ ।

टाइम्स अफ इजरायल पत्रिकाका अनुसार एउटा अवरोधक क्षेप्यास्त्रको मूल्य डेढ लाख अमेरिकी डलर पर्ने बीबीसीले जनाएको छ । दक्षिणी लेबननमा आधार बनाएर लड्ने हेज्बुल्लाह विद्रोहीसँग सन् २००६ मा द्वन्द्व भएपछि इजरायलले यो प्रणाली विकास गरेको बताइएको छ ।

बीबीसीका परराष्ट्र मामिला विश्लेषक जोनाथन मार्कुसका अनुसार अहिले इजरायल र गाजास्थित लडाकुहरूबीच तनाव चुलिँदा आस्केलोन नगरको रक्षाका लागि परिचालित एउटा एकाइ प्राविधिक समस्याका कारण काम नलाग्ने भएको छ ।

द जेरुसेलम पोस्टका वरिष्ठ पत्रकार योनाह जेरेमी बबका अनुसार हेज्बुल्लाहसँग थोरै समयमा धेरै क्षेप्यास्त्र प्रहार गर्नसक्ने क्षमता छ । त्यस्तो स्थितिमा आइरन डोमलाई सबै प्रहार निस्तेज बनाउन असम्भव छ ।

संसारभरबाट इजरायली अतिक्रमण, हमला र हत्याको विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :