मेरो देश

कविता

मेरो देश
जहाँको शासन पराईको आदेशमा चल्दछ
जहाँ षड्यन्त्रबाटै सरकार बन्दछ र ढल्दछ
जहाँ न्यायको तराजु जङ्गबहादुरले बोक्दछ
जहाँ जनताको सुनौलो सपना भ्रष्टाचारले छोप्दछ
जहाँ बुद्धलाई शोषणको सङ्गीनले घोच्दछ
जहाँ स्वाधीनतालाई पराधीनताले नेल ठोक्दछ
हो,
त्यही हो मेरो देश
षड्यन्त्रको खेल मैदान
सबै बिजेता बन्न खेलिरहेछन्
अरूलाई बिजेता बनाएर हाँसिरहेको मेरो देश
मेरो देश
जहाँ वीरहरू जन्मन्छन् विश्वलाई थर्काउने
मेरो देश
जहाँ सगरमाथा टल्कन्छ विश्वलाई चिनाउने
मेरो देश
जहाँ प्रकृतिको कुवेर बस्दछ विश्वलाई धनी बनाउने
तर,
वीरहरू जन्माउँदै आत्मसमर्पण गरिरहेको
विश्वले चिनेपनि असफलताले बेरिएर लुकिरहेको
सम्पत्ति भएर पनि भोकमरीले दुखिरहेको
त्यही हो मेरो देश
गद्दार र धोकेबाजहरूद्वारा बलात्कृत
यौवन लुटाएर चित्कार गरिरहेको
एक साहसी नायक जन्माउने आकंक्षा बोकेर
आँशुमा डुबेर बसिरहेको मेरो देश
हो,
त्यही हो मेरो देश ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :