स्यावास् ओली बा !!

कविता

स्यावास् ओली बा !!
महान् छौ तिमी
बर्षौ देखि भ्रमको खेति गरिरहेको
बाहिर खसीको टाउको झुण्डाई
भित्र कुकुरको मासु बेचिरहेको
अरूलाई सभ्यताको पाठ सिकाई
आफू नालीमा चुर्लुम्म डुबिरहेको
जनमतको कदर गर्ने भन्दै
मतपेटिका लुटी कुदिरहेको
आफूलाई लोकतन्त्रको मसिहा ठान्ने
जनतालाई केवल दास मान्ने
संसदीय व्यवस्थाको
मुकुटो उतार्दै छौ !!

स्यावास् ओली बा !!
तिमी बिल्कुल नडराउनु
तिमी बिल्कुल पछि नहट्नु
अझैँ देखाउनु छ तिमीले
यो व्यवस्थाको ताण्डव खेल
उदाङ्गो पार्नु छ तिमीले
यहाँ गर्न सकिने सबै जाल झेल
निर्मलाहरूका चित्कार
अझैँ सुन्नु छ
राउटेहरूका चेली फकाउने
योजना बुन्नु छ
मनाङ्गेहरूलाई जितको माला पहिर्याइँ
मुक्ति योद्धाहरूले हार्नु छ
भ्रस्टाचारका ठुलाठुला योजना
जनतासामु छरपस्ट पार्नु छ
बिदेशीहरूको झाँकी
टुडिखेलमा हेर्न बाँकी छ
सिमाना दाइजो दिँदै
सम्धीलाई अङ्गालोमा बेर्न बाँकी छ !!
स्यावास् ओली बा !!
तिमी छौ र त
हामीले देख्न पाएका छौँ
यो व्यवस्थाको कुरुप मुहार
तिमी छौ र त
हामीले सेक्न पाएका छौ
यो व्यवस्थाको कोर्राले ढाड
तिमी छौ र त
हामीले सुन्न पाएका छौ
यो व्यवस्थाको कुकृतिका कथाहरू
तिमी छौ र त
हामीले बुन्न पाएका छौँ
मुटुभरी अनगिन्ती चोटका ब्याथाहरू !!

स्यावास् ओली बा !!
नाथाक तिमी
नसुत तिमी
अझैँ भारी गर
यहाँ गर्न मिल्ने बिठ्याइँहरू
अझैँ जारी गर
यहाँ गर्न मिल्ने अध्यादेशहरू
अझैँ बजाउ
बज्नेहरूका मादल
अझैँ सजाउ
सज्नेहरूका आँचल
लोभीहरूलाई
सुख दिँदै फुटाइदेउ
क्रान्तिकारीलाई
दुःख दिँदै जुटाइदेउ
यो व्यवस्थालाई
पश्चगमनको साध्य बनाउ
जनतालाई
विकल्प खोज्न बाध्य बनाउ
आउ ओली बा,
अझैँ जोसका साथ जुर्मुराउ
ताण्डवको झाँकी नबिसाउ
यो व्यवस्थालाई मसानघाटसम्म
नपुराई तिमी ननिदाउ !!

लकडाउन डायरी – २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :