तिम्रा ताण्डव नृत्यको सबै हिसाबकिताब हुनेछ

कविता

मध्यरातमा हठात जनतालाई दिएको पीडा
तिम्रो खोक्रो राष्ट्रवादले छेडेको आदर्श
सत्ताको भागबन्डामाथि आफ्नै साथीलाई दिएको पीडा
चिताको पालो पर्खेर बसेको आफन्तको लास
अब बन्द गर राष्ट्रवादको बेमौसमको बाजा
नत्र ताण्डव नृत्यको सबै हिसाबकिताब हुनेछ ।

पोलका भित्ताभित्तामा समृद्धिको फोटो नटाँस
सक्छौ भने चिताका प्रत्येक दाउरामा फोटो टाँस
सत्ताको उन्मादमा मात्तिएको साँढेझैँ नगर
भ्रष्टाचारी र माफियालाई कदापि काखी नच्याप
वास्तविक अनुहार छोपी मुखुण्डोले नढाक
जनताका विचारहरूलाई घनले कदापि नठोक
नत्र ताण्डव नृत्यको सबै हिसाबकिताब हुनेछ ।

चुनावमा सधैँ मासुचिउरा बिक्छ भन्ने नसोच
दलितहरूलाई अब रक्सीको बोतल देखाउने नसोच
बेरोजगारलाई अब रोजगारको चारो नफाल
सहिदको रगत र जनताको पसिनामा नकुर्ल
जनतालाई अग्रगामी पथमा हिँड्न नरोक
दलाल पुँजीवादको यात्रा र सपनाको व्यापार अब रोक
नत्र ताण्डव नृत्यको सबै हिसाबकिताव हुनेछ ।

सेटिङ मिलाएर चुरेको दोहन नगर
न्यायिक क्षेत्रलाई कदापि धारेहात नगर
राज्यको स्रोत र साधनलाई आफ्नो बिर्ताझैँ नगर
पुराना तिम्रा उखानटुक्काहरूको बारम्बार रटान नगर
सिंहदरबारलाई भ्रष्टाचारको अड्डा कदापि नबनाऊ
सबै तिम्रा नक्कली मुखुण्डाहरू खोलमा बगाऊ
नत्र ताण्डव नृत्यको सबै हिसाबकिताब हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :