अखिल क्रान्तिकारी कास्कीले बुझायो प्रजिअलाई ज्ञापनपत्र

अखिल क्रान्तिकारी कास्कीले बुझायो प्रजिअलाई ज्ञापनपत्र

कास्की : अखिल क्रान्तिकारी कास्कीले प्रमुख जिल्ला अधिकारीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष पुरन पुनको हस्ताक्षरसहित क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको हो ।

क्रान्तिकारीले ज्ञापनपत्रमा वर्तमान सरकारको आपराधिक लापरबाही र कुशल व्यवस्थापनको कमीले जनता मृत्युको मुखमा धकेलिएको उल्लेख गर्दै सङ्कटको घडीलाई पनि नाफा कमाउने अवसर बनाई अनैतिक र अमानवीय तरिकाबाट कास्कीका निजी अस्पतालहरूले बिरामीहरूबाट दसौँ लाख रकम असुल गरिरहेकाले त्यस्ता अस्पतालका मालिकहरूलाई कारबाही गरी कोरोना सङ्क्रमितहरूको निःशुल्क उपचार गर्न माग गरेको छ । त्यसैगरी कास्कीको सरकारी अस्पताल गण्डकी उपक्षेत्रीय अस्पतालमा आवश्यक डाक्टर र स्वास्थ्यकर्मीको अभाव, स्वास्थ्य सामग्री तथा औषधीको अभाव हुँदासमेत प्रशासन नै भ्रष्टाचारमा डुबेकाले छानबिन गरी स्वास्थ्य समस्या हल गर्न र दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।

महामारीको समयमा कृत्रिम अभाव खडा गरी जनताको दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गर्ने, कालोबजारी गर्ने व्यापारी र नाफाखोरहरूलाई तत्काल कारबाही गर्न पनि क्रान्तिकारीले माग गरेको छ ।

दैनिक ज्यालादारी गरेर पेट पाल्ने श्रमिकहरूका लागि राहत प्याकेज घोषणा गर्न, सम्पूर्ण जनताको खाद्य सम्प्रभुताको सुनिश्चितता गर्न, कोरोना महामारीको समय अवधिको सम्पूर्ण शुल्क तत्काल मिनाहा गर्न, अभिभावक र विद्यार्थीलाई दबाब दिई शुल्क असुल गर्ने शैक्षिक संस्थाका मालिकहरूलाई तत्काल कारबाही गर्न र कोठाभाडामा बसेका विद्यार्थीलाई सम्बोधन हुने गरी राहत प्याकेज घोषणा गर्न पनि क्रान्तिकारीले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :