अवैध गिट्टी-बालुवा उत्खननकार्य तत्काल रोक्न नेकपाको माग

अवैध गिट्टी-बालुवा उत्खननकार्य तत्काल रोक्न नेकपाको माग

बाँके : नेकपा बाँकेले जिल्लाका विभिन्न स्थानमा नियमविपरीत र व्यक्तिको पहुँचका आधारमा गिट्टी, बालुवालगायत प्राकृतिक स्रोत-साधन अवैध रूपमा उत्खनन भइरहेकाले तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला सेक्रेटरी अनिलको हस्ताक्षर रहेको ज्ञापनपत्रमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत बग्दैलाघाट, परुवाखोला र मुगुवाखोलामा गिट्टी, बालुवा र ढुङ्गाको उत्खननकार्यका लागि अमानतमा सम्झौता गरी गाउँपालिकाबाट अनुमति प्रदान गरिएकोमा बग्दैलाघाटको कार्यका लागि कुनै हद मिति नतोकिएको उल्लेख छ ।

त्यसैगरी ज्ञापनपत्रमा उक्त स्थानमा सम्झौतामा उल्लिखित परिमाणभन्दा कैयौँ गुणा बढी उत्खनन भैसकेको देखिएको, परुवाखोलाको सम्झौता २०७८ साल जेठ १५ गतेसम्म कायम रहने तोकिएकोमा हालसम्म पनि उत्खनन भैरहेको र त्यो पनि सम्झौतामा उल्लिखित परिमाणभन्दा ज्यादा रहन गएको उल्लेख छ ।

मुगुवाखोलाको सम्झौता पनि सोहीबमोजिम अमानतमा कायम गरी त्यहाँस्थित ढुङ्गा निकासीका लागि पहिलो मिति २०७७ फागुन २१ गतेदेखि चैत २ गतेसम्म र पछिल्लो थप मिति २०७७ चैत २ गतेदेखि चैत २२ गतेसम्म अनुमति प्रदान गरिएकोमा हालसम्म उत्खनन तथा निकासी भैरहेको भन्दै ज्ञापनपत्रमा लेखिएको छ, ‘यसरी राज्यको सम्पत्तिमाथि एकातिर पहुँचको बलमा केही निश्चित मानिसहरूले कब्जा गर्ने शैली सरासर राज्यविरोधी र जनघाती कार्य हो भने त्यसमाथि अझै सम्झौताविपरीत उत्खननकार्य भैरहनु कानुनविपरीत भएकाले त्यसको उचित छानबिन गरी कडा कारबाही गरियोस् भन्ने हाम्रो पार्टीको जोडदार माग रहेको छ । त्यसका लागि भोलि जेठ २६ गतेबाट उपरोक्त बग्दैलाघाट, परुवाखोला र मुगुवाखोलाको सम्पूर्ण कार्य बन्द गर्न अनुरोधका साथ यो ज्ञापनपत्र पेस गरिएको छ ।’ ज्ञापनपत्रको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :