कोरोना महामारी : मृत्यु–उत्सव मनाइरहेको राज्य

संस्मरण

कोरोना महामारी : मृत्यु–उत्सव मनाइरहेको राज्य

बाहिर पीसीआर गर्न आउनेहरूको भीड छ । कुरुवाहरू अक्सिजनका लागि यता र उता गरिरहेछन् । कोही आईसीयू, भेन्टिलेटर कहाँ पाइएला ? भनेर चिन्तित छन् । चर्को न चर्को घाम छ । अस्पतालका सुरक्षा गार्डलाई ‘अक्सिजन आयो कि आएन ? कहिले आउने हो ?’ सोेधिरहेछन् । ‘अक्सिजन सकिनै आँट्यो । बिरामीलाई गाह्रो भइरहेको छ ।’ ‘लौन जसरी भए नि एउटा बेड त मिलाइदिनुपर्यो । अन्त कहीँ पाइएन’, सङ्क्रमितका नातेदारहरू हारगुहार गरिरहेछन् ।

त्यस दिन उनी बिहानैदेखि आफ्नी श्रीमतीलाई आईसीयूमा लैजान यताउति गरिरहेका थिए । लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयू बेड खाली छैन भन्ने सूचना छ । उनी भैरहवा, मणिग्राम, चितवन, काठमाडौँ सबैतिर आफ्नो बलबुताले भ्याएसम्म आईसीयू खोजिरहेका थिए । अन्ततः अन्त कतै नपाएपछि पोखरा लैजाने भए । उनकी श्रीमती तीन दिनदेखि बेडमा छट्पटाइरहेकी थिइन् ।

उनले एम्बुलेन्स खोजे । पाएका थिएनन् । सकभर उनले एम्बुलेन्स अक्सिजन र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स खोज्दै थिए । अरू सामान्य एम्बुलेन्स पनि पाएका थिएनन् । उनको स्वास्थ्यअवस्था झन् जटिल हुँदै आइरहेको थियो । हेलिकोप्टर पनि मिलेन ।

दिन ढल्दै थियो । पानी दर्कन थाल्यो । उनका नातेदारहरू पनि आइपुगे । जसोतसो उनले एउटा एम्बुलेन्स पाए । त्यहाँबाट डिस्चार्ज गरेर लैजाने तयारी भइरहेको थियो । जब स्वास्थ्यकर्मी आएर हेरे हेर्दाहेर्दै तिनले प्राण त्यागिन् । स्वास्थ्यकर्मीले प्राण नरहेको बताएपछि उनी भक्कानिन रुन थाले । ती मृतक २७ बर्से महिला कञ्चन गाउँपालिकाकी हुन् ।

हामी बाहिर गल्लीमा बसिरहेका थियौँ । हामीलाई शव नउठाउँदासम्म भित्र जान दिइएको थिएन । ती महिला र मामा एकै दिन वैशाख १९ गते राती भर्ना भएका हुन् । त्यस दिन साँझ ती महिलाका श्रीमान् र म उनीहरूको एक्सरे गर्नका लागि लाममा सँगै पालो कुरिरहेका थियौँ । उनीहरूलाई लामो समय उभिन गाह्रो भएकाले हामी लाममा उभिएका थियौँ । एक्सरे रिपोर्ट आएपछि राती करिब दस बजेतिर भर्ना गर्यौँ । कोभिड इमर्जेन्सी कक्षको छेउमा सानो कोठा रहेछ । त्यहाँ दुईवटा मात्र बेड थिए ।

कोरोना रिपोर्ट पोजिटिभ आएपछि मामा होम आइसोलेसनमा हुनुहुन्थ्यो । झन् गाह्रो हुँदै गपछि अस्पताल जाने निधो भयो । बुझ्दा कतै पनि बेड खाली छैन भन्ने सूचना पायौँ । १८ गते शनिबार भैरहवा मेडिकल कलेजमा बेड छ भन्ने थाहा पाउनासाथ हतारहतार एम्बुलेन्स रिजर्भ गरेर भैरहवा लाग्यौँ । एम्बुलेन्स बुझ्न जाँदा त बाबै भाडा सुनेर झन्डै बेहोस हुनुपरेको । प्रादेशिक अस्पतालअगाडि एम्बुलेन्स र ट्याक्सी थुप्रै थिए । एकजना चालकलाई सोध्दा ‘कोरोनाको बिरामी हो भने धागो कारखानाको तीन हजार, भैरहवाका लागि पाँच हजार, चितवन पैँतीस हजार, काठमाडौँका लागि साठी प्लस !‘ ती एम्बुलेन्स चालकले भटाभट सुनाए । म त भाडा सुनेर अत्तालिएँ । विश्वास दाइ र मामा दुवैलाई फोन गरेँ र सुनाएँ ।

अलि सस्तो कतै पाइन्छ कि भनेर बलबुताले भ्याएसम्म त खोज्यौँ । अन्ततः केही सीप लागेन । एउटा एम्बुलेन्सलाई बल्लतल्ल ४ हजार रुपैयाँमा मनाइयो । मामा र म एम्बुलेन्समा मेडिकल कलेज भैरहवा गयौँ । पुग्दा त केको बेड खाली हुनु ? रहेनछ । फर्किनैपर्ने भो । फेरि अर्को एम्बुलेन्स खोज्यौँ । बल्लतल्ल ३ हजार रुपैयाँमा मनायौँ र बुटवल आयौँ । अर्को दिन साँझ ५ बजेपछि छातीको एक्सरे गरायौँ । डा. राईले तत्काल भर्ना हुन सुझाए । तर बेड ? कुनै टुङ्गो छैन । जसोतसो लुम्बिनी प्रादेशिक अस्पतालमा बेड पायौँ र भर्ना गरियो ।

अर्को दिन बिहानै तिलोत्तमा फार्मेसीमा औषधी लिन उभिएको थिएँ । पूर्णजी भेटिए । उनले आमालाई त्यहीँ अस्पतालमा भर्ना गरेका रहेछन् । पीसीआर टेस्ट गराएका रहेछन् आमाको । रिपोर्ट पोजिटिभ आएछ र दुई दिनमै तिलोत्तमा हस्पिटलले डिस्चार्ज गरिदिएछ । दिउँसैदेखि मुसलधारे पानी परिरहेको थियो । रातभरि पानी परिरह्यो । राती आमालाई लिएर पूर्णजी प्रादेशिक अस्पताल आए । निजी अस्पताल कोरोनाको बहानामा बिरामीको उपचारबाट यसरी पन्छिन कसरी मिल्छ ? यो बिरामीमाथिको अपराध हैन ?

बेड छैन । बेडको आस नगरौँ । भुइँसमेत खाली छैन । उनीसँग म्याट थिएन । मुसलधारे पानी परिरहेको रातमा कहाँ जाने हो म्याट लिन ? धन्न कुरुवा बस्ने तुल थियो । उनले आमालाई अक्सिजन लगाइदिएर त्यहीँ तुलमा बसाए । ७० वर्ष काटेकी ती बूढी आमाले त्यो रात तुलमै बसेर काट्नु पर्यो । अर्को दिन पनि ढिलै गरी म्याट आइपुग्यो ।

दिनहुँ दुईभन्दा बढी सङ्क्रमितहरू देह त्याग्न विवश छन् । लास, बिरामी र बिरामी कुरुवा लस्करै छौँ । कस्तो भयावह ! त्यस्तो अवस्थामा सङ्क्रमितहरूले कसरी आत्मबल बढाउन सक्छन् ? म झस्किइरहन्छु । सरकारले मृतक गणना गर्नेभन्दा अर्को के काम गरिरहेछ ?

कोभिड इमर्जेन्सी कक्ष खचाखच कोरोना सङ्क्रमितहरूले भरिएको छ । बेडमा नपाएर बिरामीहरू भुइँमा म्याट बिछ्याएर पल्टिएका छन् । जति सङ्क्रमित छन् त्यति नै कुरुवा छन् । दूरी कायम नि ? छैन । स्याहारसुसारका लागि त कुरुवा चाहियो नि । स्वास्थ्यकर्मीले मात्रै केके गरिभ्याउन् ? उनीहरूलाई भ्याइनभ्याइ छ ।

कोभिड इमर्जेन्सी कक्षमा बिरामीको पीडा र छट्पटी हेरिनसक्नु छ । चित्कार सुनिनसक्नु छ । कुरुवाको दौडधुप अत्यासलाग्दो ! अक्सिजन अभाव छ । आफैँ व्यवस्था गर्नू भन्ने सूचना आइरहन्छ । सूचना नि के भन्नु ‘बाँच्ने मन भए आफैँ अक्सिजनको जोहो गर्नू भन्ने उर्दी’ भनौँ । बिरामी कुरुवाहरू बिरामी हेरचाह गर्ने कि अक्सिजन व्यवस्था गर्नतिर लाग्ने ? कहाँबाट ल्याउने अक्सिजन ? अस्पतालले ल्याउन नसकेको अक्सिजन हामी नाथे भुइँमा पल्टिएकाहरूले कहाँबाट जोहो गर्ने हो ? भुइँमान्छेहरू यसै पनि उसै भुइँमै थेचारिन पर्ने ! कस्तो नियति !

जसोतसो धरौटीमा अक्सिजन सिलिन्डरको मेसो मिल्यो । अक्सिजन भर्न दिन बिराएर अक्सिजन प्लान्ट टिकुलीगढतिर कुदाकुद । सुरुका दुईतीन खेप त घन्टौँ लाममा बसेरै भए पनि ८ सय रुपैयाँमा पाइयो । पछि लाम बस्नु त परेन तर १ हजार रुपैयाँ प्रतिसिलिन्डर अक्सिजन पुगेछ ! गाडीभाडासहित हिसाब गर्दा त २५ सय रुपैयाँ, एक खेपमा एक सिलिन्डर अक्सिजन जोहो गर्दा खर्च ! यता औषधी किन्नै पर्यो । दैनिक दुई हजारदेखि पच्चीस सय रुपैयाँसम्म औषधीलाई । अस्पतालको फार्मेसीमा सबै औषधी नपाइने । निजी फार्मेसी चाहार्नै पर्यो । यो खर्च भुइँमान्छेको थाप्लोले के गरी धान्छ ?

उता प्रदेश सभामा दलाल संसदीय व्यवस्थाका कठपुतलीहरूको नाङ्गो नाच चलिरहेको थियो । सरकार ढाल्ने र बनाउने खेल । सांसद भनिने ‘माल’ हरूको खरिदबिक्री ! प्रदेश सभामा मृत्यु उत्सव धुमधाम चलिरहेको थियो भनौँ । प्रदेश सरकारका मुख्यमन्त्रीले फेसबुकमा अक्सिजन आपूर्तिको ढोङ पिटिरहेका थिए स्टाटसमार्फत ! अस्पतालमा अक्सिजन, आईसीयू, एम्बुलेन्स नपाएर सङ्क्रमितहरू मर्न बाध्य छन् । मुख्य सा’बले खिस्सी गरिरहेको हो कि भुइँमान्छेहरूलाई ?! जनस्वास्थ्य र जनजीविकाको सवाल पैतालामुनि राखेर संसद्मा दलाल संसदीय व्यवस्थाका कठपुतलीहरू अर्थात् कथित जनप्रतिनिधि भनिएका अपराधीहरू सत्तास्वार्थका लागि तँछाडमछाड गरिरहेका छन् ।

जनतालाई घरभित्रै थुनेर, अक्सिजन, औषधीको कृत्रिम अभाव उत्पन्न गराएर लुटिरहेका छन् । स्वास्थ्य सामग्री खरिदमा अर्बौं कमिसनको चलखेल ! जनताको स्वास्थ्य होइन, कमिसनकै ध्यान छ । जनतालाई घरभित्रै थुन्ने, कठपुतलीहरू रातारात जनघात र राष्ट्रघात गरिरहेका छन् । निहत्था जनताको हत्या गरिरहेका छन् । जनस्वास्थ्य, जनजीविकाप्रति राज्यको हदैसम्मको यो उदासीनता÷बेपरबाह कुनै हालतमा क्षम्य हुनै सक्दैन । म त भन्छु– हत्यारा राज्य मुर्दावाद ! हत्यारा राज्यविरुद्ध विद्रोह एक मात्र विकल्प हो ।

फटिकजी र म मामाको हेरचाहका लागि एघार दिन कोभिड इमर्जेन्सी कक्षमै बस्यौँ । जोखिम मोलेरै । बेन्चमा पालो गरीगरी सुत्थ्यौँ । मामा श्वासप्रश्वास समस्याले, त्योभन्दा बढ्ता त्यहाँको भयावह अवस्था देखेर राम्ररी निदाउन सक्नुहुन्नथ्यो । उहाँ मात्र होइन, त्यहाँ कोही पनि सजिलै निदाउन सक्तैनथे । सकिँदैनथ्यो । बिहानी दिदीले दैनिक खाना बनाएर ल्याइरहनुहुन्थ्यो । अस्पतालमा मामासँगै प्रायः म, फटिकजी, बिहानी दिदी र रूपा हुन्थ्यौँ । साथीभाइ र शुभचिन्तकहरू भेट्न आइरहेका थिए । मामाको खानपानको सन्तुलन मिल्न थाल्यो । हल्का व्यायाम गर्न थाल्नुभयो । बिस्तारै ‘फ्रेस’ हुँदै आउनुभयो । निमोनियाले फोक्सोमा बढी नै असर गरिसकेको रहेछ । अक्सिजनको मात्रा हुनुपर्ने जति बढिरहेको थिएन ।

त्यस सानो कोठामा ती महिला बितेपछि बर्दघाटका एक पुरुष आएका थिए । अक्सिजन अभावको त्रासले दुई दिनमा नै डिस्चार्ज भएर घर गए । त्यसपछि बुटवल देवसिद्ध चोकका अर्की एक महिला आइन् । उनी पनि छिट्टै निको भइन् । उनको श्रीमान्लाई खोमाजीले आफ्नो कृति ‘सपनाको भन्ज्याङतिर‘ निबन्धसङ्ग्रह उपहार दिनुभयो । त्यो कोठा उकुसमुकुस त थियो यद्यपि बिरामीका लागि अलि एकान्त र सुरक्षित थियो । भर्ना भएको ११ दिनपछि पीसीआर रिपोर्ट नेगेटिभ आयो । कोभिड इमर्जेन्सी कक्षको चित्कार, छट्पटी, पीडा र उकुसमुकुसबाट हामी सबै मुक्त भयौँ । डाक्टरको सल्लाहबमोजिम निमोनियाको उपचारका लागि उहाँलाई मेडिकल वार्डमा वैशाख ३१ गते राती नै भर्ना गरियो । हामीलाई भने अहिलेसम्म कोरोनाको कुनै पनि लक्षण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :