सायल

कविता

आएथे एक हूल मान्छेहरू सायलको झुप्रोमा
र एक स्वासमा भनेथे—
ए सायल ! कति बस्छौ यो झुप्रोमा
आफ्ना भावना बहकाउँदै
बाहिर आएर हेर त
दलालहरूले राष्ट्रघाती सम्झौता गर्दैछन्
जनतामाथि अत्याचारको पिरामिड बनाउँदैछन्
सहिदको रगत र जनताका पसिनाको रङ्गोली खेल्दैछन् ।

ए कवि ! किन हाम्रा पीडा शब्दमा उतार्दिनौ ?
देशभक्तिका कविता किन लेख्दिनौ ?
चिच्याएर किन प्रश्न गर्दिनौ ती गद्दारहरूमाथि ?

‘यो देश कसको पेवा हो ?’
अब शब्दका बारुदगोला बनाऊ सायल
धारिला हरियार बनाऊ
जसले दुष्टको शिर छेदन गर्न सकोस्

सायल !
आफ्नो स्वार्थ तुहिने देखेर तिमीलाई गलाउन खोज्नेछन्
कमजोर ठान्नेछन् महिला भनेर
तिनीहरूलाई सुनाइदिनू चुनु, च्याङ्बा र रोजाको जीवनी
जाऊ देशमाथि घात गर्नेको छातीमा
लात हानेर आऊ रन्थनिने गरी ।

मेरी प्रेमिका !
तिमी पाउको छङ्छङ होइन, हतियारको आवाजसँग हिँड
स्याल बसेको कथित सिंहदरबारमा जाऊ, बालुवाटारमा जाऊ
कठपुतलीहरूको मुटुमा आँधी चलाएर आऊ
सिकाउनू तिनीहरूलाई
निःस्वार्थ प्रेम के हो ? देश के हो ?
अनि त्यो तुलो चुँडाउन नभुल्नू
जसमा राष्ट्रघातीद्वारा एकएक टुक्रा जमिन जोखिजोखी बेचिन्छ

प्रिय सायल !
अब तिमी जनकवि बन्नुपर्छ
र लेख्नुपर्छ– आगो, आँधी र विद्रोह !
बागी नेत्री बन्नुपर्छ
र मोर्चा कस्नुपर्छ मुक्तिका लागि ।

हो, त्यसै दिनदेखि
म हरेक क्षण सङ्घर्षको मैदानमा देख्नेछु सायललाई
जनताका बीचमा क्रान्तिको सौगात बाँडिरहेको देख्नेछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :