स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि तत्काल कारबाही गर : जनस्वास्थ्यकर्मी महासङ्घ

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि तत्काल कारबाही गर : जनस्वास्थ्यकर्मी महासङ्घ

काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ, केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गरी नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र अस्पताल तोडफोड गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलद्वारा जारी विज्ञप्तिमा उक्त घटनाले स्वास्थ्यकर्मीको सुरक्षामाथि राज्यको दायित्व के हो भनेर प्रश्न खडा गरेको उल्लेख गर्दै अहिलेको यो विषम परिस्थितिमा पनि राज्यले त्यस्ता अराजक समूहमाथि कडा कारबाही नगरेमा स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने, अहिलेको महामारी विकराल बन्ने र स्थिति जटिलतातिर जाने भएको हुँदा त्यस्ता व्यक्तिलाई राजनीतिक प्रश्रय नदिई चाँडोभन्दा चाँडो कारबाही गर्न जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीलाई नियन्त्रण गर्न आजको दिनसम्म स्वास्थ्यकर्मीको जुनखालको मेहनत छ यो मेहनत र परिश्रमलाई विश्वले सलाम गरेको छ । स्वास्थ्यकर्मी यसपटकको महामारीमा मात्र नभएर हरकुनै स्वास्थ्य जटिलतासँग जुधिरहेको इतिहास र वर्तमान हामीले देख्न र पढ्न पाइरहेकै छौँ । यसै सिलसिलामा नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि भएको हातपात र अस्पताल तोडफोडले स्वास्थ्यकर्मीको सुरक्षामाथि राज्यको दायित्व के हो भनेर प्रश्न खडा गरेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यस्ता उच्छृङ्खल व्यक्तिहरू अन्ततः कुनै राजनीतिक दलको कार्यकर्तामा परिणत हुने र दण्डबाट उन्मुक्ति पाउने अहिलेसम्मको शृङ्खला बनेको छ । अहिलेको यो विषम परिस्थितिमा पनि राज्यले त्यस्ता अराजक समूहमाथि कडा कारबाही नगरेमा स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने, अहिलेको महामारी विकराल बन्ने र स्थिति जटिलतातिर जाने भएको हुँदा त्यस्ता व्यक्तिलाई चाँडोभन्दा चाँडो कारबाही गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो जघन्य घटनालाई सम्पूर्ण सरोकारवाला सङ्घसंस्थाले पनि कडा प्रतिवाद गर्न र स्वास्थ्यकर्मीका पक्षमा आवाज उठाउन हामी अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :