प्राकृतिक स्रोत दोहन बन्द नगरे सङ्घर्षमा उत्रिने युवा सङ्गठनको चेतावनी

प्राकृतिक स्रोत दोहन बन्द नगरे सङ्घर्षमा उत्रिने युवा सङ्गठनको चेतावनी

चितवन : युवा सङ्गठन, नेपाल चितवनले प्रेस विज्ञप्ति जारी गरी भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक बन क्षेत्रबाट नारायणी नदीको प्राकृतिक स्रोत दोहन भइरहेको र त्यसका विरुद्ध स्थानीय बासिन्दाले बाटो छेकेर गरेको आन्दोलनमा ऐक्यबद्घता प्रकट गरेको छ ।

सङ्गठनका संयोजक राजु श्रेष्ठ र केन्द्रीय सदस्य राम सेढाईंद्वारा जारी विज्ञप्तिमा अझै पनि बाटो परिवर्तन गरेर काम भैराखेको जनगुनासो आइरहेकाले जनताको मागप्रति गम्भीर भै तत्काल माग पूरा गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली युवाहरूको जुझारु एवम् जनप्रिय सङ्गठन युवा सङ्गठन नेपालले देशमा भएको दलालीकरण, माफियाकरण, भ्रष्टाचार, अनियमितता र कमिसनखोरका विरुद्ध सशक्त रुपमा सङ्घर्ष गर्दै आएको कुरा सबैमा सर्वविदितै छ । यति बेला कोरोना भाइरसको दोस्रो लहरले गर्दा देशैभरि निषेधाज्ञा जारी रहेको अवस्था छ भने अर्कोतिर श्रमजीवी जनताले दैनिक गुजाराका लागि सङ्कट झेलिरहेको परिस्थिति छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्तो परिस्थितिमा भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक बन क्षेत्रबाट नारायणी नदीको प्राकृतिक स्रोत दोहन गरेको विषय पटकपटक स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि नियन्त्रण भएको छैन । कोरोना महामारी फैलिएको अवस्थामा स्थानीय जनताको कुनै चिन्ता र सरोकार नै नगरी प्राकृतिक दोहन भैराखेको छ । त्यसैले गर्दा स्थानीयमा पनि कोरोना फैलिनसक्ने डरसहित आफ्ना विभिन्न माग राखी जनताले बाटो छेकेर आन्दोलन गरेको विषयले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त आन्दोलनमा हाम्रो ऐक्यबद्घता रहेको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अझै पनि बाटो परिवर्तन गरेर काम भैराखेको भन्ने स्थानीयको गुनासो आएको छ । हामी जनताको मागप्रति गम्भीर भै तत्काल माग पूरा गर्न सम्बन्धित सबैप्रति आग्रह गर्दछौँ । तत्काल सबै काम बन्द गरी जनतासँग आवश्यक परामर्श गर्न आग्रह गर्दछौँ । अन्यथा हाम्रो सङ्गठनले कडा सङ्घष गर्ने विषय यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :