हबल्दारको कुटाइ, तामाकोसीको सुसाहट र स्याल–हुइयाँ सुनेर बिताएका १३ महिना

क्रान्तिकारी युवानेताको हिरासत/जेल डायरी

हबल्दारको कुटाइ, तामाकोसीको सुसाहट र स्याल–हुइयाँ सुनेर बिताएका १३ महिना

थबाङ महाधिवेशनद्वारा पारित एकीकृत जनक्रान्तिको कार्यदिशालाई कार्यान्वयन गर्नु हामी सबै पार्टी सदस्यको दायित्व हो । हाम्रो ब्युरोमा पनि सबै कमरेडहरू त्यही उद्देश्य प्राप्त गर्न बैठक समीक्षा गर्दै अघि बढिरहेका थियौँ । संसदीय व्यवस्थाका शासकको राज्यसंयन्त्रसँग लुकामारी खेल्दै अघि बढिरहेका थियौँ । प्रतिक्रियावादीहरूका जालझेलहरू च्यात्दै हिँडिरहेका थियौँ । केपी ओली सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाए पनि वैज्ञानिक समाजवाद स्थापनाका लागि जुनसुकै त्याग र बलिदानको कोटा चुक्ता गर्न तयार थियौँ हामी । महान् सहिद कमरेड कुमार पौडेलले हामीसँगै भएको अन्तिम बैठकमा भन्नुभएको थियो, ‘दुनियाँ अल्टर कुरा गर्नु हुँदैन । हामी त मर्न (बलिदान गर्न) आएको हो ।’ हो, हामी मूलतः यही बुझाइका साथ पार्टी र क्रान्तिमा अगाडि बढेका छौँ । सहिद कमरेड महान भन्नुहुन्थ्यो, ‘काठमाडौँमा बलिदान गरेर पनि क्रान्तिलाई अघि बढाइनेछ । ’ हो, सहिदहरूले त आफ्नो कोटा पूरा गरी बाँकी कार्यभार छोडेर जानुभयो ।

कमरेड पवन र म पूर्वबाट फर्कंदै सिन्धुलीमा भेटघाटका लागि ०७६ जेठ १० गते पुगेका थियौँ तर हामी गिरफ्तारीमा पर्यौँ । हामीलाई डाडीगुराँसेको चौकीले रोक्यो र चौकीभित्र लगेर झोला जाँच गर्यो । हामीले सुरुमा किन पक्राउ गरेको भनी सोध्यौँ । सुरक्षाकर्मीले बस्नु मात्र भनेका थिए । अब नछुटिने भइयो भन्ने भएपछि हामीले आफ्नो परिचय बतायौँ । हातमा हतकडी लगाइयो । सामानहरू सबै कब्जा गरियो र केही समयपछि हामीलाई जिल्ला प्रहरी कार्यालय लगियो । चौकीबाट नै हामी गिरफ्तारीमा पर्यौँ भनी परिवारमा जानकारी गराएँ । प्रहरी कार्यालयमा पुर्याइँदा एसपी, डीएसपीलगायत सुरक्षाकर्मी हाम्रै प्रतीक्षामा बसिरहेका देखिए । हामी पुगेपछि सामान्य सोधपुछ गरियो र काउन्टरमा राखियो । एसपीसँग पवनको चिनजान रहेछ । उहाँले भन्नुभयो, ‘मसँगै बस्नू, अन्त पठाउँदिनँ ।’ हामीलाई अभद्र व्यवहारको मुद्दा लगाएर बेलुका हिरासत कक्षमा थुनियो । अब सुरु भयो चिसो कालकोठरीको कथा ।

सिन्धुलीको हिरासत भवन नयाँ भएर सजिलै थियो । एउटै कोठामा नियमित रूपमा एकै ठाउँमा बस्नु पर्दा गाह्रो हुने नै भयो । कतिबेला को थपिने हो, पत्तै हुँदैनथ्यो । खाना कमजोर स्तरको थियो । दाल, तरकारी त्यही स्तरको नै थियो । पानी धारामा थापेर पिउनु पथ्र्यो । कस्तो हुन्थ्यो भने हिरासतबाट बाहिर निस्कँदा एकदम रिँगटा लाग्थ्यो तर हामीसँग सहनुभन्दा अरू उपाय थिएन । हामीलाई जिल्ला प्रशासन कार्यालयमा म्याद थप्न लैजाँदा शरीरमा घाम पथ्र्यो तर शरीर पग्लेको जस्तो हुन्थ्यो । हातगोडाहरू सबै खत्रक्क गल्थे । हिरासतमा प्रायः बन्दीहरूलाई खास मानवीय व्यवहार कम गरिन्छ । बन्दीहरूलाई आफ्नो बयान स्वतन्त्र रूपमा गर्न पाउने अधिकार संविधानमा भए पनि व्यवहारमा लागू भएको छैन । बिरामी हुँदा उपचारका लागि अस्पताल लगे पनि आफूसँग पैसा भएन भने उपचार पाउन मुस्किल छ । आफूले पैसा तिरेर पनि पत्रपत्रिका पाउन निकै मेहनत गर्नुपर्छ । पाइहालियो भने पनि प्रहरी प्रमुखसँग राम्रो सम्बन्ध हुनुपर्छ । तर सबै एकै प्रकारका छैनन् ।

सिन्धुलीमा बयान पहिले हबल्दारले तयार गरेर पछि इन्स्पेक्टरले लिएको थियो । हामी दुवैजनाले एउटै बयान दिएका थियाैँ । मरिनमा पुराना वामपन्थी नेताको अनुभवलाई उतार्नका लागि गएका हौँ र हामी नेकपाको जनकपुर ब्युरो सदस्य र पार्टीका सदस्य हौँ भनी बयान दियौँ । मलाई २ जना सामान्य चप्पल लगाएका, मधेसी मूलका मानिसले केरकार गरेका थिए । उनीहरूले दुईवटा कुरा भनेका थिए : पहिलो, तल (मधेसमा) भएको भए चाख्थिस् । दोस्रो, सोलुमा किन चौकी हानेको ? । मैले पहिलोको जबाफ ठीक छ र दोस्रोको चाहिँ त्यो हाम्रो पार्टी लाइन होइन भनी प्रतिवाद गरेको थिएँ । कमरेड पवनलाई पनि एक रात तेरी मेडमलाई पनि ल्याउँदैछौँ भनेर यातना दिएको थियो । मेडमको निकट समयमै बच्चा जन्मँदै थियो ।

हामीलाई गिरफ्तार भएको २५ दिनपछि असार ३ गते २१ हजार धरौटी खुल्यो । हामीलाई थाहा थियो– तिरे पनि पुनः गिरफ्तार गर्छ । त्यसपछि हामी कारागार चलान भयौँ ।

कारागारको बसाइ ज्यादै अविस्मरणीय भयो । हामी पुग्नुभन्दा अगाडि नै पार्टीका मान्छे आउँदैछन् भनेर खबर भएको रहेछ । हामी पुगेपछि आन्तरिक प्रशासनले हाम्रा सबै सामानहरू जाँच गर्यो । त्यहाँका नियमहरू बताइयो । नियमहरूलाई कडाइपूर्वक पालना गर्नका लागि आदेश भयो । हामीलाई पनि कसैसँग नराम्रो हुनु थिएन । कारागारबाट मलाई शिक्षा मिलेको कुरा के हो भने युवाहरूलाई योजना दिएर कार्यान्वयन गर्नका लागि जिम्मेवारी दिएमा जस्तोसुकै विषय पनि कार्यान्वयन गर्न सक्छ भन्ने उदाहरण त्यहाँ देखिन्छ । अर्को कुरा के हो भने जस्तोसुकै घामट पनि त्यहाँ पुगेपछि सप्रिन बाध्य हुन्छ । यद्यपि अझै पनि जेल राणाशासनबाट सुरु भएको नाइके प्रणालीमा नै छ । यो प्रणालीलाई बदलेर खुला कारागार प्रणालीमा अनिवार्य रूपमा जानुपर्छ । तल्लो वर्गका मानिसहरूका लागि जेल अत्यन्तै जटिल छ । महँगी, खानाको कमजोर स्तर, बस्ने ठाउँको चरम अभाव, कमजोर जीवनस्तरमा बाँच्नुपर्ने बाध्यता छ ।

हामीलाई भदौ १९ गते प्रमुख जिल्ला अधिकारीले छ महिना कैद भनेर फैसला गरे । मङ्सिर चार गते कैदमुक्त गरिदिनू भनी आदेश भयो । कारागारमा पढ्ने, खेल्ने, कुराहरू गर्ने गर्दै दिनहरू बितायौँ । हामीलाई कडा निगरानी गर्ने र एकै ठाउँमा नसुताउने निर्देशन भएछ । तर हामीमा त्यस्तो निर्देशन कार्यान्वयन भएन । हामी सँगै सुत्यौँ । धेरै विषयमा छलफल गर्यौँ । हामीले छुटेर आउँदा पनि न्यानो सद्भाव र हार्दिकताको अनुभूति गरेका थियौँ । धेरै साथीहरूको साथ–सहयोग पाएका थियौँ । जब हामी कारागारबाट छुटेको हस्ताक्षर गराइयो, फेरि जेलरको कार्यालयमा नै हतकडी लगाएर जिल्ला प्रहरी कार्यालयमा लगियो । मलाई र क. पवनलाई छुट्ट्यएर रामेछाप र सर्लाही लैजाने भयो । हामी शान्तिप्रक्रियामा भेट हुने अठोटसहित हात मिलाएर छुट्यौँ ।

मलाई फेरि सेलेघाटमा सुरक्षाकर्मीलाई अभद्र व्यवहार गरेको भनी झूट्टा मुद्दा लगायो । त्यहाँ पनि उडुससँगको बास, चिसो छिँडीको कहालीलाग्दो बसाइ पच्चीस दिन चल्यो । घाम ताप्न पाइँदैनथ्यो । तलका सुरक्षाकर्मीहरू माथिको आदेश पालना गर्न बाध्य थिए । स्वास्थ्य बिग्रिएको थियो । पत्रपत्रिकाहरू अन्तिमतिर दिएको थियो । दिनहरू पत्रिका र पुस्तक पढेर र बन्दीहरूसँग छलफल गरेर बिताउँथ्यौँ । रातहरू स्याल कराएको र तामाकोसी सुसाएको सुन्दै बिताउँथ्यौँ । दिनमा रनजोर खोला हेरेर बितायौँ । परिवारको सहायताबाट उपचार गराएँ । ‘फलोअप’ गराएँ । केही आराम भयो । अन्ततः फेरि पच्चीस दिनपछि साधारण तारिखमा छोडने आदेश भयो तर रमाइलो के भयो भने मैले त्यहाँ प्रहरीलाई बयान दिएको थिइनँ । सम्बन्धित कार्यालयमा दिन्छु, पुलिसलाई दिन्नँ भनेपछि सरकारी वकिल र इन्सपेक्टर आफैँले मेरो बयान लिने प्रयास गरेका थिए तर मैले दिइनँ । सुब्बालाई मैले अनुरोध गरेँ– तपाईं प्रश्न लेखिदिनुस्, म जबाफ लेख्छु भनेर । उनले त्यसैगरी दिए । मैले जबाफ लेखेँ । बयान तयार भयो तर हाकिमकोमा लगेपछि फेरि अर्को तयार पारियो । उनले धरौटी पाँच सय तोकेर ल्याएछन् । मैले ‘तिर्दिनँ, कारागार पठाउनुस्’ भनेपछि पुनः आदेश गरी साधारण तारिख बनाइदिए ।

मलाई फेरि दोलखा लग्यो । फेरि किर्नेटारमा शान्तिसुरक्षाविरुद्धको कसुर मुद्दामा पच्चीस दिनपछि साधारण तारिखमा छुटेँ । त्यसपछि फेरि बन्देउ, सिन्धुपाल्चोक लगेर अभद्र व्यवहार मुद्दामा एक्काईस दिन हिरासतमा राख्यो । माघ चौध गते सर्वोच्च अदालतबाट रिट जारी भएपछि छुटेँ तर फेरि अरनिको राजमार्गमा अभद्र व्यवहार गरेको भनी अदालत परिसरबाटै गिरफ्तार गरी काभ्रेमा मुद्दा लगाइयो । तर फेरि २० गते दोस्रोपटक सर्वाेच्च अदालतबाट रिट जारी भएपछि गिरफ्तार गरी नुवाकोटको तारकेश्वरको एनसेल टावर हान्ने मूल योजनाकार भनी मुद्दा लगाइयो तर त्यो समयमा सिन्धुपाल्चोकको थुनामा भएको थुनुवा पुर्जी पेस गरेपछि साधारण तारिखमा जिल्ला अदालतको आदेशपछि छुटेँ तर पुनः गिरफ्तार गरियो । पुनः मागको २८ गते रसुवामा लगी पासाङल्हामु सडकखण्डको कालिकास्थानमा अभद्र व्यवहार गरेको भनी एक्काईस दिनसम्म राख्यो । फेरि छुटे पनि पुनः गिरफ्तार गरी धादिङमा फागुन उन्नाईस गते लग्यो र अभद्र व्यबहार मुद्दा लगायो ।

धादिङमा अभद्र व्यवहार मुद्दामा पचपन्न दिन हिरासतमा बसेँ । कानुनतः सार्वजनिक मुद्दामा पच्चीस दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन । अर्को कुरा एउटै व्यक्तिलाई एउटै मुद्दा पटकपटक लगाउन पाइँदैन । तर ममाथि लगाइयो । हिरासतको क्वार्टर गार्ड हबल्दारले थर्काउँथ्यो । नयाँ मान्छे आएपछि ‘ए पाङ्ग्रे, के गरेर आइस् ? छ महिनासम्म जेल र तीन महिनापछि फाँसीको सजाय हुन्छ लाटीको पोइ भन्दै हिरासत कक्षबाट निकालेर पिट्थ्यो । हिरासत कक्षमा जुम्रा थिए । मुसाहरू रातभर सिरानीमा कुद्थे । ग्यालेनमा पिसाब गर्नुपथ्र्यो । सुत्ने, खाने, पिसाब गर्ने ठाउँ हाम्रा लागि एकै ठाउँ थियो ।

एक दिन कार्यालय प्रमुख आएपछि मैले ग्यालेन देखाएँ । ‘ए यस्तो छ ? के गरेको केटा हो ?’ भनी हप्काएझैँ गर्यो । लिखित सुझाव मागेपछि हामीले लेखेर दियौँ । क्वार्टर गार्ड परिवर्तन भयो तर बस्ने, खाने कक्षबाट ग्यालेन हटाइएन । सरकारी वकिललाई पनि भनेका थियौँ तर बगरेलाई खसीले जीवनको भिक मागेजस्तै भयो । मैले रामकृष्ण अधिकारी वकिललाई अनुरोध गरेपछि जिल्ला अदालतमा मुद्दा दायर गरिदिनुभयो । १५ गते १० हजार जरिबाना तोकेपछि धादिङ कारागार चलान भएँ । १८ गते अदालतले गैरकानुनी थुनामुक्त गरिदिनू भन्ने आदेश दिएपछि २१ गते कारागारमुक्त भएँ ।

सञ्चारमाध्यममा म थुनामुक्त भएको समाचार सम्प्रेषण हुन्थ्यो, म त्यो सुन्थेँ तर मचाहिँ कारागारमा नै हुन्थेँ । सबैको दयाको पात्रजस्तो हुन्थेँ म । २१ गते म कारागारको गेटबाट बाहिर निस्किएको मात्र थिएँ, सिभिलको प्रहरीले पक्रेर जिल्ला प्रहरी कार्यालयमा लगेर राख्यो । राती ८ बजे धादिङको गजुरी इलाकामा राख्यो । भोलिपल्ट १२ बजे इन्सपेक्टरको टोलीले मुग्लिनमा लग्यो र भरतपुरको टोलीले चितवन भरतपुर प्रहरी कार्यालयमा पुर्यायो । बेलुका नवलपरासी लगी फलफूल चोकमा अभद्र व्यवहार गरेको भनी हिरासतमा थुनेपछि जेठको ४ गते ५ हजार धरौटी खुलेपछि चितवन कारागार चलान भएँ ।

स्वास्थ्य कमजोर भएको थियो । गोडा दुवै सुन्निएका थियो । कारागारमा २२ दिन क्वारेन्टिनमा बस्नुपर्ने भयो । धादिङमा पनि ६ दिन बसेको थिएँ । क्वारेन्टिन नाम मात्रको थियो । नयाँ बन्दीहरूलाई एक ठाउँमा राख्ने कोसिस मात्र थियो । क्वारेन्टिन भने पनि जोडिएर सुत्नुपर्ने थियो । हिरासतमा प्रायः जबर्जस्ती करणी र लागूपदार्थको मुद्दा लागेका ८० प्रतिशत मनिस बस्ता रहेछन् । बाँकी अरू मुद्दाका मानिसहरू । जबर्जस्ती करणी मुद्दामा आएकाहरूका अनुसार सहमतिमा सहबास गर्ने र पैसामा नमिलेपछि वा परिवारका सदस्यले थाहा पाएपछि यो मुद्दा लगाउने गरिएको रहेछ । बयान दिने सदस्यलाई नपढीकनै हस्ताक्षर गर्न लगाउने गरिँदो रहेछ । घरायसी झगडा भए पनि यो मुद्दा लगाइएको पाइयो । कोहीकोही त साँच्चीकै अपराध गरेकाहरू पनि थिए ।

लागूपदार्थ मुद्दामा फसे/फसाइएका प्रायः सबै युवा छन् । यसले स्वयम् व्यक्ति त पीडित छँदैछन्, त्यसका साथसाथै परिवार पनि पीडित छन् । नवलपुर रोजाका एक दलित परिवारका बुबाले प्रहरी कार्यालयमा आएर भने, ‘सरकारले घैँटेलाई मार्छ, चरीलाई मार्छ तर मेरो छोरा माटेलाई किन मार्दैन ? छोराले लागूपदार्थ खाँदै घरको सबै चोरेर सिध्यायो । गाउँमा पनि चोर्न थाल्यो । हैरान र आजित बनायो ।’

त्यस्ता धेरै घटना छन् । गाँजा, चरेस, हेरोइन गोटी, सिरिन्जलगायत लागूपदार्थजन्य वस्तुहरू युवाहरूका निम्ति अनिवार्य र दैनिकी नै भएको छ । कारागारमा भेट भएका चितवन टाँडीका उमेशलाई कसरी लागूपदार्थ प्रयोग गर्न सुरु गर्यौ भनी प्रश्न गर्दा यस्तो जबाफ दिएका थिए, ‘बुबाले म सानो हुँदा नै आत्महत्या गर्नुभयो । त्यसपछि आमाले दोस्रो विवाह गर्नुभयो । दाजु र म मात्र घरमा भयाैँ । म ८/९ वर्षको थिएँ । गाउँका दाजुहरू लागूपदार्थ खाएर झगडा गर्थे अनि मलाई पनि यसो गर्नुपर्दो रहेछ भन्ने लाग्यो । खानु हुँदैन भन्ने थाहा छ तर प्रयोग गरिसकेपछिको आनन्द नै फरक छ । कारागारमै बसे पनि यो छोड्न गाह्रो छ ।’

लागूपदार्थ नै समाजका सबै आपराधिक घटनाहरूको कारकजस्तै भएको छ । आर्थिक रूपमा पनि निकै बोझिलो छ । नवलपुरका प्रहरी सहायक निरीक्षक टीकाराम पोखरेलका अनुसार ‘विगतमा यो जिल्लामा पक्राउ परेका मानिसहरूको भनाइअनुरूप हिसाब गर्दा पनि ८०/९० लाखको कारोबार देखिन्छ ।’ लागूपदार्थ कारोबार र प्रयोगसँग जोडिएका मुद्दाहरू आर्थिक कोणबाट पनि प्रभावित देखिन्छन् । लागूपदार्थ विश्वव्यापी मानव जातिका लागि नै भयानक समस्या छ ।

यसै सिलसिलामा एउटा अनौठो घटना स्मरणमा आइरहन्छ । धादिङको हिरासतमा बस्दा आफ्नो नाम मुन्द्रे बताउने एकजना सत्तापक्षीय पार्टीको मजदुर सङ्गठनको जिल्ला नेताले फागुपूर्णिमाको दिनमा अधिक मदिरा पिएपछि सवारी चलाउँदा पक्रेर ल्याएको थियो तर प्रहरीले उसलाई हिरासतमा राखेन । बाहिर बसेर फूर्ति गर्दै उसले भन्यो, ‘हाम्रो सत्ताले मलाई थुन्छ ?’ नभन्दै ऊ छुटेर गयो तर त्यही घटनासँग सम्बन्धित प्रेमबहादुर र उसको साथी छुटेन । मुद्दा उस्तै थियो ।

नेपाली समाजमा जातीय र वर्गीय विभेद छ । राज्यसत्ता र समाजमा केही मुठीभर मानिसको हालीमुहाली छ । किसान, महिला, मजदुर, दलित तथा श्रमजीवी वर्गलाई दैनिक हातमुख जोड्न गाह्रो छ । यद्यपि तल्लो तहका सुरक्षाकर्मीहरूको हालत पनि पन्चर भएको टायरजस्तै छ । देश परनिर्भर छ । विदेशीहरूको परेड खेल्ने मैदान भएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या दिनहुँ विकराल बनेका छन् तर सत्तासीनहरूलाई मोजमस्ती छ । अब हाम्रो गौरवशाली पार्टी नेकपाको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिले यो अवस्था तोड्छ र वैज्ञानिक समाजवाद स्थापना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :