रोग, भोक र लूटबाट जनतालाई बचाऊ : नेकपा कञ्चनपुर

रोग, भोक र लूटबाट जनतालाई बचाऊ : नेकपा कञ्चनपुर

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कंचनपुरले कोरोना संक्रमणको कहरबाट आक्रान्त जनतामाथि लादिएको भ्रष्टाचार, शोषण र लूटबाट बचाउन सरकारसँग माग गरेको छ । नेकपा कञ्चनपुरका इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ र सेक्रेटरी रमेश परियार ‘जीवन’ द्वारा जारी विज्ञप्तिमा कोरोना उपचारको नाममा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूमा भैरहेको अनियमितता, महंगी, बेवास्ता र भ्रष्टाचारको कडा अनुगमन र नियन्त्रण गर्न, कोरोना उपचारका नाममा भइरहेका गैरकानुनी व्यापार बन्द गर्न तथा स्वास्थ्यकर्मी नियुक्तिका नाममा भएका अनियमितता, विभेद अन्त्य गर्न माग गरिएको छ ।

इन्चार्ज पुन र सेक्रेटरी परियारले प्रेस विज्ञप्तिमार्फत सरकारसँग राखेको ११ बुँदे माग र सुझाव यसप्रकार छन् :

जनताहरू कोरोना महामारी र लकडाउनको चपेटामा परेको बेला राज्यको बेवास्ता र गलत नितिका कारण जनतामा पर्न गएको निम्नसमस्याका बारेमा हाम्रो महान् तथा जनप्रिय पार्टी कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसको समाधानका लागि हामी म्ंबन्धित पक्षको ध्यानाकर्षण गर्न र गराउन चाहन्छौँ :

१) कोरोना उपचारका नाममा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूमा भैरहेको अनियमितता, महँगी, बेवास्ता र भ्रष्टाचारको कडा अनुगमन र नियन्त्रण गरियोस् ।

२) कोरोना उपचारका नाममा हुने गैरकानुनी व्यापार बन्द गरियोस् । स्वास्थ्यकर्मी नियुक्तिका नाममा हुने अनियमितता र विभेद अन्त्य गरियोस् ।

३) अक्सिजन ग्याँसको कृत्रिम अभाव र कालोबजारीलाई कडाइका साथ नियन्त्रण गरियोस् ।

४) लकडाउनको दुरुपयोग गरी कालोबजारी र तस्करी बढेको छ । केही नाफाखोर व्यापारीले चर्को महँगी बढाएका छन् । सहरदेखि गाउँसम्म महँगी बढेकाले यसको कडा अनुगमन र नियन्त्रण गरियोस् ।

५) लकडाउनले सम्पूर्ण व्यापार–व्यवसाय ठप्प र चौपट भैरहेको बेला बैङ्कहरू र बैङ्कहरूद्वारा सञ्चालित सूदखोर वित्तीय संस्थाहरूले उद्योगी–व्यवसायी र जनताबाट चर्को ब्याज असुल गर्नुका साथै लघु वित्तीय संस्थाहरूले लकडाउनको मापदण्डविपरीत गाउँगाउँमा गएर महिला समूह परिचालन गरी किस्ता असुल गर्ने नाममा जबर्जस्ती लुटपाट मच्चाइरहेका छन् । जबर्जस्ती जनताको नगद तथा जिन्सी खोस्ने काम गरिरहेका छन् । यसलाई तुरुन्त रोकियोस् । यसखाले लूटपाटको कानुनी कार्य वित्तीय संस्थाका नाममा जारी राखे पार्टीका तर्फबाट जनतालाई प्रतिरोधमा उतार्ने चेतावनी दिन्छौँ ।

६) दाताले दिएका स्वास्थ्य सामग्री, सरकारी कोटाका स्वास्थ्य सामग्री र सहयोगहरूमा संसद्वादी पार्टीका नेता–कार्यकर्ता र सांसद–मन्त्रीहरूले सस्तो लोकप्रियताका नाममा आफ्नै खल्तीबाट दिएको जस्तो घृणित र लज्जास्पद हर्कत देखाउँदै आएकोमा यस्ता कार्य तत्काल बन्द गरियोस् ।

७) जनता अब क्रमशः रोगबाट भन्दा पनि भोकबाट मर्ने अवस्था उत्पन्न हुँदै गएको छ । राज्यबाट कुनै राहतका कार्यक्रम घोषणा गरिएको छैन । कथित एकद्वार प्रणालीका नाममा दाताहरूलाई सहयोग गर्ने वातावरण पनि सिर्जना गरिएको छैन । कोरोना सङ्कट बढिरहेको अहिलेको अवस्थामा पनि नागरिक भारततर्फ रोजगारीका लागि जाने क्रम जारी छ । यसलाई तत्काल रोकी राज्यका तर्फबाट श्रमिक तथा गरिब जनताका लागि उचित राहतका कार्यक्रम लागु गरियोस् ।

८) जनताको स्वास्थ्य, राहत र रोजगारको वातावरण सिर्जना गर्नुको सट्टा संसद्वादी शक्तिहरू कुर्सी फेरबदलको खेलमा लाग्नु घृणित र लज्जाजनक कार्य हो । भ्रष्टाचार र कमिसनको खेलमा लाग्नु झनै आपत्तिजनक कुरा हो । सुकुमबासी बस्ती उजाड पार्ने तर राष्ट्रघाती नागरिकता विधेयक ल्याएर सत्तासङ्कट हल गर्न खोज्ने कदम झनै राष्ट्रहितविपरीतको जघन्य कार्य हो । तसर्थ कुर्सीस्वार्थका कारण विज्ञहरूको रायविपरीत हचुवाका भरमा ल्याइएको नागरिकता विधेयक कञ्चनपुर जिल्लामा लागू नगरियोस् ।

९) कारोना महामारीका विरुद्ध लड्न र जनताको जिउधनको रक्षा गर्न छुट्टै स्वास्थ्य तथा राहत प्याकेज बजेट र कार्यक्रम घोषणा गरियोस् । त्यसको उचित प्रयोग र व्यवस्थापनका लागि सर्वपक्षीय र सर्वदलीय स्वास्थ्य तथा राहत स्वम्सेवक टिम परिचालन गरियोस् । त्यसका लागि हामी हाम्रो पार्टीका तर्फबाट जस्तोसुकै सेवा र सहयोग गर्न पनि तयार रहेको जानकारी गराउँछौँ ।

१०) कोरोना महामारीसँग लड्न उचित स्वास्थ्य मापदण्ड र उपचारसहित उच्च मनोबलको पनि जरुरी पर्छ । त्यसका लागि रोगबाट भागेर हैन, उच्च मानवीय भावनाका साथ डटेर कोरोनाको सामना गर्नुपर्छ । यो सवालमा हाम्रो पार्टी राहत, उपचार र उद्धारको कार्यमा सक्दो रूपले लागिरहेको नै छ । अझै यसमा सबैको सहयोग र सहकार्यका लागि अपिल पनि गर्दछौँ ।

११) कञ्चनपुर जिल्ला कोरोना सङ्कटग्रस्त र सीमावर्ती जिल्ला पनि भएकाले राज्य प्रशासनका तर्फबाट उचित व्यवस्थापन र नागरिकका तर्फबाट उच्च सतर्कता अपनाउनु पर्नेछ । त्यसका लागि सबै पक्षको सहकार्य र समन्वयका लागि पनि हामी सबैमा हार्दिक अपिल गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :