भारतीय चक्रवातले नेपालमा हावाहुरीसहित भीषण वर्षा हुने खतरा

भारतीय चक्रवातले नेपालमा हावाहुरीसहित भीषण वर्षा हुने खतरा

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भीषण वर्षा गराउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यूनचापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने भएको हो ।

चक्रवातबाट विकास भएको गहन न्यूनचापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकाले बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा गराएको छ । यो क्रम शनिबार दिउँसोसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित कतै हल्का र कतै मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।

यसैगरी शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यता प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी, अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको छ ।

उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाका साथै गण्डकी प्रदेशका केही स्थानमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका १–२ स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी, अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको छ ।

त्यस्तै राती उच्च हिमाली, पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षा र गण्डकी प्रदेशका केही स्थानमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली, पहाडी भूभागका १–२ स्थानमा भीषण हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :