सङ्घर्ष समिति र भरतपुर अस्पतालबीच सहमति

सङ्घर्ष समिति र भरतपुर अस्पतालबीच सहमति

चितवन : चितवनस्थित भरतपुर सरकारी अस्पताल र आन्दोलनरत भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिबीच सहमति भएको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय महासचिव डा. प्रकाश चन्द, चितवन जिल्लाका संयोजक होमनाथ पौडेल, संघर्ष समितिका संयोजक अजामिन ढकाल साथै अस्पताल फार्मेसीका फार्मासिष्टहरु र अन्य व्यवसायीक फार्मासिष्टहरु लगायतको पहलमा भरतपुर सरकारी अस्पतालमा सहमति भएको प्राप्त समाचारमा जनाइएको छ ।

सहमतिपछि भरतपुर अस्पतालका प्र. मे. सु. डा. रोशन न्यापानेले जारी गरेको विज्ञप्तिमा अस्पतालमा सञ्चालित भरतपुर अस्पताल फार्मेसी, फार्मेसी स्टोर एवम् फार्मेसी जनशक्तिलाई तोकिएको कार्य विवरणअनुसारको जिम्मेवारी दिनेलगायत विषयमा थप अध्ययन गरी २०७८ जेठ मसान्तभित्रमा आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासन प्रतिबद्ध रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०७८/०२/१३ गतेका दिन भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिबाट अस्पतालमा पेस हुन आएको निवेदनका सम्बन्धमा अस्पताल प्रशासनको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा कोभिड १९ सङ्क्रमित बिरामीहरू बढ्दै गएको कारणबाट यस अस्पतालसमेत प्रभावित हुनुपरेको वर्तमान अवस्थालाई मध्यनजर राखी अस्पतालमा सञ्चालित भरतपुर अस्पताल फार्मेसी, फार्मेसी स्टोर एवम् फार्मेसी जनशक्तिलाई तोकिएको कार्य–विवरणअनुसारको जिम्मेवारी दिनेलगायत विषयमा थप अध्ययन गरी २०७८ जेठ मसान्तभित्रमा आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासन प्रतिबद्ध रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।’

‘राइट म्यान इन राइट प्लेस’ नारासहित भरतपुर अस्पतालमा कार्यरत फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरूले शान्तिपूर्ण विभिन्न माग राखी आन्दोलन गरिरहेका थिए ।

फर्मासिस्टहरूले अस्पतालको स्टोर एवम् अन्य औषधीको बिक्रीवितरण, भण्डारण एवम् व्यवस्थापन हुने प्रत्येक क्षेत्रमा फर्मासिस्टको अनिवार्य उपस्थिति हुनुपर्ने माग राखी चरणबद्ध रूपमा आन्दोलन अघि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :