किसानका उत्पादन सहज रूपमा बिक्रीवितरणको व्यवस्था मिलाउन किसान महासङ्घको माग

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिको पहिलो सचिवालय भर्चुअल बैठकले किसानका उत्पादन सहज र सरल रूपमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । किसानको उत्पादन सरकारले खरिद गरी बजारको व्यवस्था मिलाउनुपर्ने माग पनि बैठकले गरेको छ ।

यस्तै किसानलाई मल, बिउ, औषधी, दाना, सिँचाइ, बजार व्यवस्थापन र अनुदान सर्वसुलभ र सहज ढङ्गले मिलाउन पनि महासङ्घले माग गरेको छ ।

बैठक महासङ्घका अध्यक्ष हरि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ । अध्यक्ष श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महासङ्घको बैठकले कोरोनाका कारण तेस्रो पूर्ण बैठक र घटक सङ्घहरूको राष्ट्रिय भेला पनि भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको छ । बैठकले कोरोना महामारीका कारण जनताको जीवनस्तर निकै भयावह बनेको बेला सरकार भने आफ्नो सत्ता बचाउने कार्यमा तल्लीन रहेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :