फिफा बरियतामा नेपाल १७१ औँ स्थानमै

फिफा बरियतामा नेपाल १७१ औँ स्थानमै

काठमाडौँ : फिफा बरियतामा नेपाल १७१ औँ स्थानमा यथावत् रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो बरियतामा नेपाल यथावत् रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१ औँ स्थानमै थियो ।

विश्व बरियताको शीर्ष दसमा कुनै परिवर्तन भएको छैन । शीर्ष १० मा युरोपबाट ७ टिम रहँदा दक्षिण अमेरिकाबाट तीन टिम ब्राजिल, अर्जेन्टिना र उरुग्वे छन् ।

युरोपियन राष्ट्र बेल्जियम शीर्ष स्थानमा यथावत् रहँदा विश्वविजेता फ्रान्स दोस्रो स्थानमा छ । यस्तै ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो, पोर्चुगल पाँचौँ, स्पेन छैटौँ, इटाली सातौँ, अर्जेन्टिना आठौँ, उरुग्वे नवौँ र डेनमार्क दसौँ स्थानमा छन् ।

पछिल्लो बरियतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन एक स्थान सुधार गर्दै ९८ औँ स्थानमा उक्लँदा किर्गिस्तान ९९ औँ स्थानमा झरेको छ ।

फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेलका लागि इराकमा छ । नेपालले शनिबार पूर्वएसियन च्याम्पियन तथा ६८ औँ बरियतामा रहेको इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

दक्षिणएसियाली राष्ट्रमा बरियतामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०५ औँ र माल्दिभ्स १५५ औँ स्थानमा रहेका छन् । यस्तै नेपालभन्दा पछि बङ्गलादेश १८४ औँ, भुटान १८७ औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०४ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :