अखिल (क्रान्तिकारी) चितवनद्वारा रक्तदान

अखिल (क्रान्तिकारी) चितवनद्वारा रक्तदान

चितवन : अखिल (क्रान्तिकारी) चितवनले बुधबार भरतपुरको सप्तगण्डकी क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय लकडाउन भएकाले रक्तबैङ्कमा रगतको अभाव भई बिरामीहरूलाई समस्या परेपछि रक्तदान आयोजना गरिएको क्रान्तिकारीले जनाएको छ ।

सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य प्रज्वल शाहीलगायत सहिदको स्मृति र सम्मानमा रक्तदान आयोजना गरिएको सङ्गठनले जनाएको छ । शाहीको आजकै दिन २०७६ साल जेठ १२ गते सहादत भएको थियो । बुधबार आयोजित रक्तदान कार्यक्रममा २९ पिन्ट रगत सङ्कलन गरिएको छ ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, अतिथिहरू सङ्गठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, नेकपा चितवन जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटा, अन्तर्राष्ट्रिय विभाग सदस्य नारायण न्यौपाने, सङ्गठनका केन्द्रीय सदस्यहरू अटल शर्मा, प्रभात भट्टराई, सप्तगण्डकी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण न्यौपानेलगायतको सहभागिता थियो ।

कोरोना सङ्क्रमणको समयमा देशमा रगतको अभाव हुन नदिन अखिल (क्रान्तिकारी) ले केन्द्रीय समितिको निर्णयअनुसार देशभर रक्तदान गरिरहेको छ ।

रक्तदान कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष भट्टराईले आफ्नो सङ्गठनले जनताका हरेक समस्यामा सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि जनताको बीचमै रहेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

रक्तदान कार्यक्रमका अध्यक्ष अखिल (क्रान्तिकारी) का चितवन जिल्ला संयोजक रेम्बोर्जे लामाले सक्रियताका साथ सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिएका थिए । उनले रक्तदानका लागि फलफूल सहयोग गर्ने महानगर थोक तरकारी तथा फलफूल समितिका सञ्चालक थीरप्रसाद धिताल, फलफूल व्यवसायीहरू देवराज लुइँटेल, बिन्दा अर्याल, दोलराज पन्त, पानी सहयोग गर्ने ताज पानी उद्योग, जुस सहयोग गर्ने दीपक ढकाल, अण्डा सहयोग गर्ने रूपक काफ्लेलगायत सहयोगीलाई पनि धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :