सहिद कमरेड प्रज्वलको सम्झनामा

सहिद कमरेड प्रज्वलको सम्झनामा

‘क्रान्तिकारी बन्ने प्रतिस्पर्धामा हामी सबै थियौँ तर प्रज्वल महान् बन्नुभयो । त्याग, समर्पण र बलिदानी महत्वपूर्ण हो भनेर साबित गरिदिनुभयो ।’

नेपालको इतिहासमा माओवादी जनयुद्ध १० वर्षसम्म चलेको सबैभन्दा ठूलो राजनीतिक सङ्घर्ष हो । त्यसमा झन्डै १७,००० मानिसको रगत बगेको छ । जनयुद्धको सुरुआत एकदमै स्पष्ट दृष्टिकोणसहित गरिएको थियो जसमा जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने नै उद्देश्य थियो । शान्तिप्रक्रियामा आइसकेपछी प्रचण्ड–बाबुरामहरूले माओवादी आन्दोलन, घाइते, अपाङ्ग र सहिदहरूलाई भुले । उनीहरू नातावाद, कृपावाद, पैसा र विदेशीको इसारामा चल्न थाले । त्यत्रो सङ्कल्प गरेको आन्दोलनमाथि उनिहरूले हेर्दाहेर्दै धोका र गद्दारी गरे ।

लेखक : मदन चन्द

वैज्ञानिक समाजवादी व्यवस्थाको बाटोलाई निषेध गरेर आज उनीहरु दलाल संसदीय पुँजीवादी व्यवस्था अँगाल्न पुगेका छ्न् । त्यहीँबाट समाजवाद ल्याउने झूटो अफवाह र भ्रम फैलाउँदैछन् । क्रान्ति सम्पन्न नहुँदै हतियार बिसाउनु भनेको आत्मसमर्पण र गद्दारी गर्नु हो भन्ने प्रचण्ड–बाबुराम बिस्तारै बदलिँदै गए । त्यहीँ अनुरूप कार्यकर्ता र जनसेनालाई भ्रममा फसाउँदै गए । अहिले आएर सम्पूर्ण कम्युनिस्ट आदर्श त्यागेर दलाल संसदीय व्यवस्थाका रक्षाकवच बनेका छन् ।

सहिदको सपनालाई पूरा गर्न महासचिव क. विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले एकृकीत जनक्रान्तिको राँको बोकेर रछ्यानमा फालिएको सहिदको रगतले लतपततिएको रक्तरञ्जित मुक्तिको लालझन्डालाई उठाउँदै धोकेबाज र गद्दारहरूको सपना चकनाचुर पार्दै लक्ष्यपथमा पुर्याइछाड्ने शङ्खघोष भयो । नौजवान युवाहरू बिस्तारै–बिस्तारै आफ्ना व्यक्तिगत स्वार्थहरूको तिलाञ्जली दिँदै सुसङ्गठित हुने र सङ्घर्षको महाअभियानमा तुफानी ज्वारभाटा निर्माण गर्न मुक्ति र मृत्युको महान् बाटोमा सरिक हुन लावालस्कर लाग्न थाले । जनतामा उत्साहका चमकहरू फर्कन थाले । सहिद तथा घाइते परिवारमा विश्वासका तरेलीहरू पलाउन थाले र घाइते योद्धाहरूमा आफ्नो बलिदानमा गौरवको मनोभावना जाग्न थाल्यो भने गद्दार र धोकेबाजहरू सामाजिक पुँजीवादी, दलाल, फासिस्ट संसदीय व्यवस्थाका रक्षकहरु जनता र जनताको सङ्घर्ष सुसङ्गठित र व्यवस्थित भएको देखेर अत्तालिन थाले । तर आन्दोलन झन् शक्तिशाली बन्दै थियो । त्यही आन्दोलनलाई सफल बनाउने महासमरको यात्राका क्रममा हामी विद्यार्थी मोर्चाबाट आफ्नो भूमिका निर्वाह गर्दै थियौँ ।

म बाँके जिल्लाको नेतृत्वमा र कमरेड प्रज्वल उपत्यका सीटीईभीटी जिल्लाको नेतृत्वमा हुनुहुन्थ्यो । हँसिला र जोसिला युवक हुनुहुन्थ्यो प्रिय कमरेड प्रज्वल । मानवीय स्वभाव, त्यसमा पनि हामी मालेमावादी वर्गीय चेतनायुक्त नयाँ चेतना र संस्कृति निर्माणको यात्रामा यात्रारत सिपाही हामीमा वर्गीय नाता र मायाले नछुने कुरै थिएन, छैन र हुँदैन पनि । त्यही दिनदेखिको हाम्रो सम्बन्ध प्रगाढ बन्दै गयो । त्यसपछि हामी आन्दोलनका नयाँनयाँ मोर्चा खोल्ने क्रममा भेटघाटहरू भइरहे । ती भेटहरूमा हामीले हाम्रो आन्दोलन व्यवस्थित र सफल बनाउन कसरी सकिन्छ भनी आआफ्ना विचारहरू आदानप्रदान गथ्र्यौं । कहिल्यै पनि आफ्नो अडान र सोचाइबाट कसैका अगाडि गल्दैनथ्यौँ, ढल्दैनथ्यौँ । निडर भएर आफ्नो स्पष्ट धारणा राख्थ्यौँ । साँच्चै तिम्रो रूपजस्तै मन थियो, मनजस्तै नाम थियो र थियो नामजस्तै विचार ।

०७५ साल फागुन २८ गते सामाजिक दलाल फासिस्ट सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगायो । सामाजिक दलाल फासिवादी शासकहरू जनताको पार्टी र आन्दोलनलाई क्षतविक्षत गर्न जनताको नेतृत्व, सेवक र सिपाहीहरूलाई धरपकड, गिरफ्तार, हत्या तथा बेपत्ता बनाउने निकृष्ट बाटो अपनाउन लागे तर आन्दोलन झन् शक्तिशाली बन्दै थियो । त्यही आन्दोलनलाई सफल बनाउने महासमरको यात्राका क्रममा हामी विद्यार्थी मोर्चाबाट आआफ्नो भूमिका निर्वाह गर्दै थियौँ । २०७६ जेठ १ गते विद्यार्थी दिवसका अवसरमा शान्तिबाटिकामा हजारौँ विद्यार्थीको उपस्थितिमा प्रदर्शनसहित सभा भैरहेको थियो । कार्यक्रममा कमरेड प्रज्वल र म सँगै थियौँ । कार्यक्रमको अन्त्यतिर मलाई र मित्र प्रेम शाहीलाई प्रहरीले गिरफ्तार ग¥यो । प्रज्वल गिरफ्तारीबाट जोगिनुभयो । हामीलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको थियो । प्रज्वलसँग हिरासतबाट टेलिफोनमा संवाद हुन्थ्यो– जेठ १३ क. तीर्थकुमार राईको हत्याविरुद्ध हाम्रो पार्टीले नेपाल बन्द आह्वान गरेको छ भनेर । जेठ १२ गते करिब १२ बजे पनि मित्र प्रज्वलले नेपाल बन्दका बारेमा भन्नुभयो । मैले राम्रोसँग बन्दलाई सफल पार्नू भनेँ ।

साँझको करिब ७ बजे एकजना प्रहरी हामीकहाँ आयो र भन्यो– तपाईंलाई थाहा भयो ?

मैले र प्रेमजीले के भनेर प्रश्न गर्यौँ ।

तपाईंको पार्टीका कार्यकार्ता ४ जनाको बम विस्फोट भएर मृत्यु भएको छ । एकजना विद्यार्थी प्रज्वल शाही र अर्को महान भन्ने हो भन्यो ।

म र प्रेमजीलाई सपनाजस्तो लाग्न थाल्यो । निःशब्द, स्तब्ध, भावविह्वल, विवश र विक्षिप्त भयौँ । मृत्युु सधैँ अप्रिय हुन्छ । कमरेड प्रज्वल गुमाउँदा असाध्यै पीडा भएको छ तर मन विचलित भएको छैन् । प्रज्वलको सहादतले अपूरणीय क्षति भएको छ । परिवारले असल छोरा, हामीले असल मित्र, पार्टी र सङ्गठनले एक कुशल, इमानदार योद्धा र देशले एक सपूत गुमाएको छ तर क्रान्तिले महान् सहिद जन्माएको छ । बलिदानीले विचलन, स्खलनलाई खबरदारी गरेको छ, त्याग र समर्पणको भाव सिकाएको छ । क्रान्तिकारी दाबी गर्दैमा भइने कुरा होइन । त्याग, समर्पण र बलिदानी गरेर मात्र क्रान्तिकारी बन्न सकिन्छ भन्ने प्रज्वलले साबित गरिदिनुभएको छ । प्रज्वलसँगको सहकार्य त अब पाउनेछैनौँ तर उहाँको स्वर्णिम सपनासँग सहयात्रा गर्नेछौँ । प्रज्वलको मिलनसार स्वभाव, परिस्थितिको आँकलन क्षमता, क्रान्तिप्रतिको समर्पण, साहसी स्वभाव हाम्रा लागि शिक्षा हुनेछ ।

आज पनि त्यो दिन म सम्झन चाहन्नँ जुन दिन हामीले प्रज्वललाई गुमाएका थियौँ तर मेरो मानसपटलमा त्यो दिन एउटा अप्रिय सपना बनेर दोहोरिइरहन्छ । प्रज्वललाई सम्झन्छु, कमरेडप्रतिको हार्दिकता, क्रान्तिप्रतिको दृढ निष्ठा र सङ्घर्षमा साहस सायदै व्यक्तिमा होला ।

क्रान्तिको मार्गमा पाइला राख्नेबित्तिकै शासकको कडा दमन, यातना र आतङ्क भोग्नुपर्छ । व्यक्तिगत जिन्दगी ध्वस्त हुनसक्छ । मृत्युवरण गर्नुपर्ने हुनसक्छ भन्ने हामीलाई थाहा थियो । कमरेड प्रज्वल र हामी सचेततापूर्वक दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र मानव जातिको स्वर्णिम व्यवस्था वैज्ञानिक समाजवाद प्राप्त गर्ने सुन्दर सपनाद्वारा प्रेरित भएर चुनौतीको कठिन मार्ग स्वीकार गरेरै एकीकृत जनक्रान्तिको यात्राका सहयात्री भएका थियौँ । क्रान्तिले बलिदानी माग्छ तर प्रिय मित्र प्रज्वल महान् बन्नुभयो । कयौँ आशङ्काहरूलाई मिथ्या साबित गरिदिनुभयो र आफूलाई अब्बल साबित गर्नुभयो । क्रान्तिकारी बन्ने प्रतिस्पर्धामा हामी सबै थियौँ । प्रज्वल महान् बन्नुभयो । त्याग, समर्पण र बलिदानी महत्वपूर्ण हो भनेर साबित गरिदिनुभयो ।

विद्यार्थी आन्दोलनको गौरवमय इतिहासमा १९९७ सालमा गङ्गालाल श्रेष्ठको बलिदानले राजनीतिक अधिकारको सङ्घर्षको धार निर्माण गरेको थियो । २००८ सालमा चिनियाँकाजी श्रेष्ठको बलिदानले राष्ट्रियताको सङ्घर्षको धार निर्माण गरेको थियो । त्यस्तै २०२९ सालमा कामेश्वर यादव र कुशेश्वर यादवको बलिदानले शैक्षिक आन्दोलनको धार निर्माण गरेको थियोे । १० बर्से जनयुद्धमा सहिद बेनोज अधिकारी र बेपत्ता योद्धा पूर्ण पौडेलको बलिदानले राज्यसत्ताको आमूल परिवर्तनको सङ्घर्षको धार निर्माण गर्यो र २०७६ सालमा प्रज्वल शाहीको बलिदानले दलाल एवम् निगम पुँजीवादी शिक्षाका विरुद्धको सङ्घर्षको धार निर्माण गरेको छ । विद्यार्थी आन्दोलनको इतिहासमा मित्र प्रज्वल सुनौलो तारा बनेर चम्किरहनुहुनेछ, सुनौला अक्षरमा प्रज्वलको नाम दस्ताबेजीकरण गरिनेछ । फूल, माला, अबिर, मौनधारण र स्मरण मात्र औपचारिकता हो । प्रज्वललगायत हजारौँ सहिदको साँचो अर्थमा सम्मान दृढतापूर्वक क्रान्तिको मार्गमा हिँड्नुमा हुनेछ । क्षति अवस्य भएको छ तर कमजोर हुने छूट हामी कसैलाई छैन । प्रज्वल हामीले गर्ने क्रान्तिको पहलमा जीवित हुनुहुनेछ र एकीकृत जनक्रान्तिमार्फत प्राप्त हुने वैज्ञानिक समाजवादमा अमर हुनुहुनेछ । पद, प्रतिष्ठा, पैसाका लागि घात गर्ने छूट कसैलाई हुनेछैन । पूरा गर्ने दायित्व अब हाम्रो काँधमा छ । श्रमजीवी वर्गको मुक्तिका लागि क्रान्तिबाहेक अर्को विकल्प छैन । तसर्थ क्रान्तिको मार्गमा निरन्तर लागिरहने प्रण सबैले गरौँ ! उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली कमरेड प्रज्वल

(लेखक अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :