ललितपुरमा नेकपाले सुरु गर्यो कोरोनाविरुद्ध अभियान

स्थानीय संस्थाहरूसँग मिलेर जनचेतना, जनसहयोग एवम् हातेमालो कार्यक्रम सुरु

ललितपुरमा नेकपाले सुरु गर्यो कोरोनाविरुद्ध अभियान

ललितपुर : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता र अन्य २ वटा संस्थाले संयुक्त रूपमा ‘कोरोनाविरुद्ध अभियान’ सुरु गरेका छन् । कोरोनाविरुद्ध जनचेतना, जनसहयोग एवम् हातेमालो अभियान एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल ढुङ्गेधारा बस्तीमा सोमबार उक्त अभियान उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा आयोजक नेकपाका नेता, कार्यकर्ता, नेपाल स्वास्थ्य विज्ञान व्यवसायी सङ्घ त्रिपुरेश्वर र जिरे खुर्सानी कृषि सहकारी संस्था लिमिटेड चापागाउँसँग आबद्ध व्यक्तिहरूको सहभागिता थियो ।

कार्यक्रममा अतिथि तथा अभियन्ता नेकपाका नेता भीमसेन घिमिरे ‘विपीन’ र सहयोगी संस्थाका तर्फबाट नवराज बस्नेतले जिरे खुर्सानी कृषि सहकारी संस्थामा आबद्ध किसानहरूका साथै अन्य ५० घरधुरी स्थानीय बासिन्दालाई मास्क, सेनिटाइजर, पन्जा र निसङ्क्रमण निर्मलीकरण गर्ने औषधीका साथै स्प्रे वितरण गरिएको थियो ।

सामग्री वितरण कार्यक्रममा अतिथि विपीनले आफूहरूले पार्टीको नीतिअनुसार महामारीबाट आहत जनतालाई सक्दो सेवा गर्ने उद्देश्यले यसखाले अभियान सञ्चालन गरेको बताए । उनले दलाल पुँजीवादी संसदीय व्यवस्था र त्यसअन्तर्गतको सरकार कोरोना नियन्त्रण एवम् रोकथाम गर्न पूर्णतः असफल एवम् अनुत्तरदायी भएको पनि बताए ।

विपीनले कोरोना महामारीका कारण जनस्वास्थ्यमा भयावह सङ्कट पैदा भएको बेलामा समेत सरकार र संसद्वादी पार्टीहरू कुर्सीको घृणित खेलमा रमाइरहेकाले जनतामा व्यवस्थाप्रति नै वितृष्णा पैदा भएको र अब यस किसिमका जनविरोधी व्यवस्था र शासकहरूलाई फालेर जनमुखी व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न अगाडि बढ्नुपर्ने धारणा राखे ।

सहयोगी संस्थाका तर्फबाट नवराज बस्नेतले आफूहरू कोरोना सङ्क्रमणविरुद्ध निरन्तर सहयोगी भूमिका निर्वाह गर्ने, सङ्क्रमणबाट बच्ने उपायहरूबारे जनचेतना फैलाउने कार्यमा लाग्नुका साथै अभियन्ताहरूसँग हातेमालो गरेर समाजलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिरे खुर्सानी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती बन्जाराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाकै सौरव बन्जाराले गरेका थिए । यो अभियान निरन्तर जारी रहने पनि अभियन्ताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :