नेकपाको अभियान टोली जनश्रमदानमा

नेकपाको अभियान टोली जनश्रमदानमा

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका नेता–कार्यकर्ताहरू जनश्रमदानमा जुटेका छन् । जनश्रमदानसँगै कोरोना भाइरससम्बन्धी जनचेतना जगाउने कार्यमा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज इन्द्रबहादुर परियार ‘नयन’ सँगै पूर्वजिल्ला इन्चार्ज रामबहादुर घलान ‘वाटर’, मकवानपुरका जनसत्ता प्रमुख विक्रम मगर, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान ‘अनिल’ लगायत अभियान टोलीका नेता–कार्यकर्ता क्रियाशील भएर लागेको समाचार प्राप्त भएको छ ।

वैशाख १३ गतेबाट सुरु भएको ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान’ का क्रममा अभियान टोली हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाहरूमा सङ्गठन निर्माणका साथै जनश्रमदान गर्दै अघि बढिरहेको छ । पछिल्लो समयमा मकवानपुरमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएकाले १९ गतेदेखि निषेधाज्ञा लागू भएसँगै अभियान टोली उच्च सतर्कता अपनाउँदै जनश्रममा खटिएको हो ।

माना छरेर मुरी फलाउने समय भएकाले आजभोलि सबै किसानहरू खेतीपातीमा व्यस्त छन् । नेकपाका केन्द्रदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ता पनि जनतासँगै उत्पादन तथा विकास निर्माणकार्यमा प्रत्यक्ष रूपले जोडिएका हुन् । बिजुलीको खम्बा गाड्ने, दाउरा काट्ने, खेतबारीमा गएर मल बोक्ने, मकै छर्ने, मकै गोड्नेजस्ता कार्यमा नेकपाका कार्यकर्ता लागेका हुन् ।

यसरी जनतासँगै नेपाल कम्युनिस्ट पार्टीको अभियान टोली श्रममा लागेपछि सर्वसाधारणले पनि खुसी व्यक्त गरेका छन् । श्रमका साथै द्रुत गतिमा सङ्गठन विस्तार भई एकीकृत जनक्रान्ति अघि बढिरहेके नेकपा नेता–कार्यकर्ताले बताएका छन् । जनसमुदायले नेकपाको नेतृत्वमा जारी क्रान्ति सफल भएर छिट्टै वैज्ञानिक समाजवाद लागू होस् भन्ने चाहेको पार्टी कार्यकर्ता बताउँछन् । सर्वसाधारणले क्रान्ति प्रक्रियामा आफ्नोतर्फबाट कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :