सुकुमबासीमाथि निन्दनीय र आतङ्ककारी हमला : भूमिहीन सुकुमबासी सङ्घ

सुकुमबासीमाथि निन्दनीय र आतङ्ककारी हमला : भूमिहीन सुकुमबासी सङ्घ

काठमाडौँ : अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गरी झापाको दमक नगरपालिका ७ स्थित पञ्चमुखी सुकुमबासी बस्तीमा जेठ १० गते स्थानीय प्रशासन र दमक नगरपालिकाको संयुक्त मिलोमतोमा भएको ज्यादती र दमनलाई आतङ्ककारी हमला ठहर गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ ।

अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घका अध्यक्ष ओमप्रकाश पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत २२ वर्षदेखि बसोबास गर्दै आएका सुकुमबासीमाथि गरिएको यो ज्यादती निकै निन्दनीय र भत्र्सनायोग्य घटना हो । कथित कम्युनिस्टको सरकार र त्यसकै स्थानीय जनप्रतिनिधि दमक नगरपालिकाका मेयर सोमनाथ ओलीको नेतृत्वमा र जनविरोधी स्थानीय प्रशासनको सहयोगमा भएको सुकुमबासीमाथिको ज्यादती मानवताविरोधी भएकाले यसको प्रतिवाद सबै सुकुमबासी र क्रान्तिकारी शक्तिहरुले गर्न हामी अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ केन्द्रीय समितिका तर्फबाट आह्वान गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना महामारीले श्रमिक जनता पीडित भैरहेको बेला राहत सहयोग गर्नुको सट्टा उल्टै स्वास्थ्य मापदण्डविपरीत सुकुमबासीमाथि नेपाल प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरी प्रयोग गरी करिब दर्जन बढी महिला तथा बालबालिका सुकुमबासी घाइते हुने गरी गरिएको यो आतङ्ककारी हमलाको हाम्रो सङ्गठन घोर निन्दा र भत्र्सना गर्दछ । साथै यस्तोखाले जङ्गली आतङ्क बन्द गर्न र सुकुमबासीहरुको उचित बसोबासको ग्यारेन्टी गर्न माग गर्दछ । दलाल पुँजीवादी संसदीय व्यवस्थाको पहरेदारका रूपमा कम्युनिस्ट सरकारका नाममा यस्ता खाले जनविरोधी हर्कत हुँदै गएमा यसको सशक्त प्रतिरोध गर्ने र त्यसको जिम्मेवार स्वयम् सत्ता सञ्चालक दलालहरु हुने कुराको चेतावनी पनि दिन चाहन्छौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘राष्ट्रघाती नागरिकता विधेयक ल्याएर कुर्सी जोगाउने नाममा राष्ट्रघात गर्ने तर आफ्नै देशका श्रमिक सुकुमबासी जनताका बस्ती उजाड पार्ने शासकहरुको जनविरोधी तथा नक्कली राष्ट्रवादको मुखुण्डो यस घटनाले राम्रोसँग उदाङ्गो पारेको छ । तसर्थ दलाल पुँजीवादी संसदीय व्यवस्था र जनताप्रति अनुदार राज्य प्रशासन रहँदासम्म श्रमिक तथा उत्पीडित जनताले यसप्रकारका समस्या झेलिरहनुपर्ने भएकाले यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको र त्यसका लागि सम्पूर्ण सुकुमबासी एकताबद्ध हुन पनि यसै विज्ञप्तिमार्फत अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :