अखिल (क्रान्तिकारी) द्वारा ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

अखिल (क्रान्तिकारी) द्वारा ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमाडौँ : अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोरोना भाइरस संक्रमणविरुद्ध विद्यार्थी अभियानअन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास र अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जिल्ला सेक्रेटरी विश्वासले कोरोना भाइरसको यो महामारीमा वर्तमान राज्यव्यवस्थाले स्वास्थ्य क्षेत्रलाई सही तरिकाले परिचालन गर्न नसक्दा देशव्यापी रूपमा अस्पतालका कर्मचारी र बिरामीहरूमा विभिन्न समस्या उत्पन्न भइरहेको बताए । उनले अस्पतालमा अक्सिजन अभावका कारण जनताले अकालमा ज्यान गुमाउन नपरोस् भनेर मानव जीवन रक्षाका लागि अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको बताए ।
डा. राजेन्द्र खनालले कोरोनाले देशव्यापी रूपमा आक्रान्त पारिरहेको अवस्थामा अस्पतालमा बेड र अक्सिजनको अभावका कारण कयौँ मानिसको ज्यान गएको बताए । उनले अस्पतालमा अक्सिजन अभाव भइरहेको र मानव सङ्कटको दुःखद् घडीमा जीवनप्रतिको दायित्वलाई सम्झेर अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकोमा पार्टी र विद्यार्थी सङ्गठनलाई धन्यवाद प्रकट गरेका थिए ।

संयोजक वीरेन्द्र विकले कोरोना भाइरसको यो डरलाग्दो परिस्थितिमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा विभिन्न राजनीतिक दल पूर्ण बफादार भई लाग्नुको साटो कुर्सी र सत्ता प्राप्तिमा लिप्त रहेको बताए । विकले देशमा दलाल संसदीय व्यवस्था रहँदासम्म स्वास्थ्यलगायत क्षेत्रमा भ्रष्टाचार, दलालीकरण र व्यापारीकरण कायम रहने भएकाले यसप्रकारका सम्पूर्ण समस्याको पूर्ण समाधानका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए ।

विकले कोरोनाविरुद्ध विद्यार्थी अभियानअन्तर्गत आफ्नो सङ्गठले देशव्यापी रूपमा मास्क, सेनिटाइजर वितरण, जनस्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको र यसै सिलसिलामा लुम्बिनी प्रादेशिक अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको बताए ।
कार्यक्रममा सङ्गठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगरलगायत पार्टी र सङ्गठनका नेता–कार्यकर्ता, अस्पतालका कर्मचारी र जनस्वास्थ्यकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :