दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनापछि मात्र बेपत्ता योद्धाहरूको सपना साकार हुन्छ : थापा

काठमाडौँ : राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज, नेपालले बेपत्ता योद्धा दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै दलाल पुँजीवादी व्यवस्थाले बेपत्ता योद्धा र सहिदहरूका सपना साकार पार्न सम्भव नभएकाले यो व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि दृढ भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । समाजका अध्यक्ष रामबहादुर थापा ‘सुन्दर’ ले जारी गरेको विज्ञप्तिमा बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरिएको छ र महान् बेपत्ता योद्धा तथा सहिद परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज जेठ ७ गते बेपत्ता दिवस हो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आयोजनामा नेपाली श्रमिक, मजदुर, किसान, महिला, दलित, जनजातिलगायत सम्पूर्ण उत्पीडित जनताको मुक्ति र राष्ट्रिय स्वाधीनताको प्राप्तिका लागि नेपालमा जनवादी– वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न महान् जनयुद्धमा होमिएका महान् कामरेड दण्डपाणि न्यौपाने, पूर्ण पौडेललगायत हजारौँ योद्धाहरू आजसम्म बेपत्ता हुनुहुन्छ । हाम्रो सङ्गठन सर्वप्रथम उहाँहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछ । साथै महान् बेपत्ता योद्धा तथा सहिद परिवारप्रति समवेदना प्रकट गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आज नेपालमा शान्ति भएको भनिएको १४ वर्ष पुग्यो । देशमा गणतन्त्र र लोकतन्त्र छ भनिएको छ तर नेपाली जनतालाई लोकतन्त्रको अनुभूति हुने स्थिति छैन । बेपत्ता योद्धाहरूलाई सार्वजनिक गरिएको छैन । ती परिवारको सम्बोधन गरिएको छैन । नेपाली श्रमिक जनता, जातजाति, किसान, मजदुर, महिला, दलित, युवा, विद्यार्थी सबैका समस्या झन् विकराल बन्दै गएका छन् । जनताको उपचारको सही व्यवस्था छैन । विद्यार्थीले सहज पढ्न पाउने व्यवस्था छैन । सारा नेपाली बेरोजगारीको समस्यामा छन् । गाँस, बासको समस्या विकराल छ । सिङ्गो देशबासीलाई समस्यामा जेलिएको छ । देशमा आज संसदीय व्यवस्था तथा दलाल पुँजीवादी सत्ता चलिरहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘संसद्वादी पार्टीहरू पुँजीवादीहरूको आशीर्वादमा आफ्नो सत्ता जोगाउन राष्ट्रघात र जनघात गरिरहेका छन् । राष्ट्रको सम्पत्तिमा ठूला भ्रष्टाचार गरिरहेका छन् । देशका नदीनाला, ढुङ्गा, माटो, खनिज विदेशीलाई बुझाउने र दलाल सत्ता टिकाउने घृणित खेल गर्दै कोरोना महामारीको उपचारका उपकरणसमेतमा भ्रष्टाचार गरिरहेका छन् । जनतालाई सधैँ कङ्गाल, अधिकारविहीन बनाउँदै सत्ता टिकाउने कुचेष्टा गरिरहेका छन् । आझ कुर्सीकै निम्ति आफ्नै शक्ति पनि ध्वस्त पार्ने तल्नो स्तरको हर्कत पर्दाफास भएको छ । यो स्थितिबाट स्पष्ट छ– संसदीय व्यवस्था नै सङ्कटको अन्तिम अवस्थामा छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘त्यसैले आज नेपालमा संसदीय दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापना गर्न नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत अघि बढिरहेको अवस्थामा हाम्रो सङ्गठन वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा सामेल हुँदै अगाडि बढ्न प्रतिबद्ध छ । नेपाल कम्युनिस्ट पार्टीले लिएको लक्ष्य वैज्ञानिक समाजवादबाट मात्र हाम्रा महान् बेपत्ता योद्धाको सपना साकार हुनसक्छ भन्नेमा विश्वस्त छौँ । बेपत्ता योद्धा तथा सहिदका सपना साकार पार्न र देश, जनताको मुक्तिका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा अघि बढ्न सबैलाई अनुरोध गर्दै हाम्रो सङ्गठन लक्ष्यमा पुग्न लडिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :