भारतीय भेरिएन्टको कोरोनाबाट जनतालाई जोगाउन भारतसँगको खुला सीमा बन्द गर : लोहनी

‘संसदीय व्यवस्थाको विकल्पमा प्रगतिशील अन्तरिम सरकार निर्माण गर’

भारतीय भेरिएन्टको कोरोनाबाट जनतालाई जोगाउन भारतसँगको खुला सीमा बन्द गर : लोहनी

काठमाडौँ : राष्ट्रिय जागरण मञ्च नेपालका संयोजक गुणराज लोहनीले भारतीय भेरिएन्टको कोरोना भाइरस सङ्क्रमणले मुलुकमा शोकधुन बजिरहेको र सिङ्गो राष्ट्र शोकमग्न रहेको अवस्थामा संसदीय पार्टीहरू भने आफ्नो राजनीतिक पद जोगाउन, सरकारमा पुगी सत्ताको रसास्वादन गर्ने खेलमा मात्र व्यस्त रहेको बताएका छन् । सबै राजनीतिक पार्टीहरूलाई यी फोहोरी खेलबाट बाहिर निस्की जनतालाई महामारीबाट मुक्त गर्न एक भएर लाग्न विशेष अनुरोध गर्दै संयोजक लोहनीले भारतीय सीमाहरू बन्द गर्न सरकारलाई अपिल पनि गरेका छन् ।

मञ्चका संयोजक लोहनीले आज ‘फोहोरी राजनीति बन्द गर ! जनताको स्वास्थ्यको सुनिश्चितता गर !!’ शीर्षकमा अपिल जारी गर्दै भनेका छन्, ‘पछिल्लो क्रममा देशमा महामारीका रूपमा फैलिएको भारतीय भेरिएन्टको कोभिडको सङ्क्रमण, त्यसबाट आहत जनताको बेवास्ता गर्दै भएका राष्ट्रिय राजनीतिक घटनालाई लिएर हाम्रो मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ । नयाँ भेरिएन्टबाट दैनिक जसो २ सयको आसपासमा मृत्यु हुनु र हजारौँको सङ्ख्यामा जनता सङ्क्रमित भई जायजेथा बेच्दा पनि उचित उपचार नपाउँदा नेपाली जनताले भोग्नुपरेको असह्य पीडामा राष्ट्रमा शोकधुन बजिरहेको छ । अहिले सिङ्गो राष्ट्र शोकमग्न छ । तर संसदीय पार्टीहरू आफ्नो राजनीतिक पद जोगाउन, सरकारमा पुगी सत्ताको रसास्वादन गर्ने खेलमा व्यस्त छन् । त्यसैले हाम्रो मञ्च सबै राजनीतिक पार्टीहरूलाई यी फोहोरी खेलबाट बाहिर निस्की जनतालाई यो महामारीबाट मुक्त गर्न एक भएर लाग्न विशेष अनुरोध गर्दछ ।’

संयोजक लोहनीले जारी गरेको ६ बुँदे अपिलमा भनिएको छ :

१) नेपालमा अहिले फैलिएको कोभिड भारतीय भेरिएन्ट रहेको स्वयम् सरकार र विशेषज्ञहरूले बताइरहेका छन् । त्यसैगरी कोभिडका कारण सङ्क्रमितहरूलाई म्युकोर्माइकोसी ब्ल्याक फङ्ग्स (Mucormycosis The black Fungus) जस्तो आँखाको ज्योति मात्र नभएर ज्यानै समेत जाने भएकाले भारतसँग जोडिएको सिमानालाई पूर्ण बन्द गरी भारतबाट स्वदेश फर्कन चाहने नेपालीहरूलाई आइसोलेसनमा राखी उपचार गर्ने व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछौँ ।

२) अहिलेको अवस्थामा नेपाली जनताले उपचार नपाइरहेको अवस्थामा सरकारी अस्पतालको स्तरोन्नत्ति गर्न र देशैभर स्वास्थ्य सङ्कटकाल घोषणा गरी सबै निजी अस्पताल, मेडिकल कलेज र संस्थालाई राष्ट्रियकरण गरी जनताको स्वास्थ्य उपचारको सबै जिम्मा लिन माग गर्दछौँ ।

३) सबै कोभिड सङ्क्रमितहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दछौँ ।

४) कोभिडकाकारण मृत्युवरण गरेका सबैको निःशुल्क दाहसंस्कार व्यवस्था गर्न पनि माग गर्दछौँ ।

५) अहिले विश्वमा नै नयाँ भेरिएन्टबाट सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुनेमा भारत अग्रस्थानमा रहेको र उसले आफ्नै जनताका लागि आवश्यक पर्ने भ्याक्सिन उत्पादन गर्न नसकिराखेको अवस्थामा अन्य देशबाट भ्याक्सिन मगाई सबैलाई अनिवार्य र निःशुल्क लगाई जनताको जिउज्यानको रक्षा गर्न आह्वान गर्दछौँ ।

६) अहिलेसम्मका गतिविधि र चरित्रलाई हेर्दा संसदीय व्यवस्थाको विकल्पमा जनताको नयाँ राज्यप्रणालीका लागि आमजनता सचेत हुनुपर्ने देखिन्छ । तसर्थ सबै देशभक्त, सच्चा लोकतान्त्रिक, वामपन्थी शक्तिलाई वैज्ञानिक समाजवाद स्थापनार्थ प्रगतिशील अन्तरिम सरकार निर्माण गरेर जनमतसङ्ग्रहका लागि अघि बढ्न पनि विशेष अपिल गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :