चुनावमै जाने हो भने पुँजीवाद/दलाल पुँजीवाद वा वैज्ञानिक समाजवाद भन्ने जनमतसङ्ग्रहमा गएर व्यवस्थाकै फैसला गर्नुपर्छ : विप्लव

‘दलाल पुँजीवादी सत्ताबाट सहिद र बेपत्ता योद्धाको योगदानको दुरुपयोग’

चुनावमै जाने हो भने पुँजीवाद/दलाल पुँजीवाद वा वैज्ञानिक समाजवाद भन्ने जनमतसङ्ग्रहमा गएर व्यवस्थाकै फैसला गर्नुपर्छ : विप्लव

काठमाडौँ : नेकपाका महासचिव विप्लवले राज्यद्वारा बेपत्ता योद्धाहरूलाई अन्तस्करणदेखि स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका छन् । बेपत्ता योद्धा दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले महान् बेपत्ता योद्धा एवम् सहिद परिवारहरूप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन् । यो दलाल पुँजीवादी व्यवस्था र सरकारले बेपत्ता तथा सहिद योद्धाहरूको योगदान उपभोग गरे पनि उनीहरूको त्याग र बलिदानको कदर नगरेको महासचिव विप्लवको वक्तव्यमा उल्लेख छ ।

बेपत्ता योद्धा दिवसमा महासचिव विप्लवद्वारा जारी प्रेस वक्तव्यमा बेपत्ता योद्धाहरूको सपना पूर्ण रूपले पूरा नभए पनि आज देशमा प्राप्त गणतन्त्र सहिद तथा बेपत्ता योद्धाहरूकै त्याग र बलिदानले गर्दा सम्भव भएको तर जुन नेता र पार्टीहरूले गणतान्त्रिक सत्ताको भोग गरिरहेका छन्, गणतन्त्र आएको चौध वर्ष बितिसक्दा पनि तिनै महान् योद्धाहरूको अवस्था अज्ञात रहनुले राज्य र नेताहरू कुनै कुम्भकर्ण निद्रामा परेजस्तो मस्त भएको उल्लेख छ ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज जेठ ७ गते बेपत्ता योद्धा दिवस हो । नेपाली श्रमिक जनता, मजदुर, किसान, महिला, दलित, जनजाति, युवाको पूर्ण मुक्ति, देशको स्वाधीनता, नयाँ जनवादी, वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि सञ्चालित महान् जनयुद्धमा होमिएका कमरेड दण्डपाणि न्यौपाने, पूर्ण पौडेललगायत हजारौँ योद्धाहरू आजसम्म बेपत्ता हुनुहुन्छ । सर्वप्रथम हामी आदरणीय बेपत्ता योद्धाहरूलाई अन्तस्करणदेखि स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछौँ । साथै महान् बेपत्ता योद्धा एवम् सहिद परिवारहरूप्रति समवेदना प्रकट गर्दछौँ ।’

महासचिवको वक्तव्यमा अगाडि भनिएको छ, ‘बेपत्ता योद्धाहरूको सपना पूर्ण रूपले पूरा नभए पनि आज देश जहाँ छ अर्थात् जुन गणतन्त्रमा छ मुख्यतः उहाँहरूकै त्याग र बलिदानले गर्दा पुगेको छ । जुन नेता र पार्टीहरूले गणतान्त्रिक सत्ताको भोग गरिरहेका छन् उहाँहरूकै योगदानले सम्भव बनाइदिएको हो । अफसोच ! गणतन्त्र आएको चौध वर्ष बितिसक्दा पनि तिनै महान् योद्धाहरूको अवस्था अज्ञात छ । राज्य र नेताहरू कुनै कुम्भकर्ण निद्रामा परेजस्तो मस्त छन् ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘लोकतन्त्र’ र गणतन्त्रलाई सिरानी हालेर बसेका कुनै पनि संसद्वादी पार्टीहरूको कार्यसूचीमा बेपत्ता योद्धाहरू छैनन् भन्ने सत्य उनीहरू बारम्बार सरकारमा पुग्ने र फर्किने चक्रमा कुनै निर्णय नहुनुले स्पष्ट गर्छ । उनीहरूलाई केवल सरकार, कुर्सी, मन्त्री र कमिसनको मात्र मतलब छ ।’

महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘नेपालमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमै पनि असफल एवम् औचित्यहीन भइसकेको छ । तर कसैले केपी सरकारलाई फाल्ने, कसैले नयाँ चुनाव गर्ने विषयलाई आफ्नो अन्तिम उद्देश्य बनाएर यसैबाट सङ्कट मोचन हुन्छजसरी हल्ला गरिरहेका छन् । वास्तवमा न यो काङ्ग्रेस, जसपा, माओवादी केन्द्रले भनेजस्तो केपीको कारणले मात्र पैदा भएको सङ्कट हो, न त केपीले भनेजस्तो प्रचण्ड–माधवहरूका कारणले मात्र जन्मिएको हो । यो सङ्कट दलाल पुँजीवादी सत्ता एवम् संसदीय व्यवस्थाको जनविरोधी एवम् प्रतिक्रियावादी अर्थराजनीतिक चरित्र र त्यसको असफलताले पैदा भएको सङ्कट हो । यो सत्ता र व्यवस्था रहेसम्म जनता र देशले जे गरे पनि निकास होइन, झन् ठूला विपत्तिहरू भोग्नुपर्ने अवस्था बन्ने पक्का छ ।’

महासचिवको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘तसर्थ हाम्रो पार्टीको प्रस्ट दृष्टिकोण छ– यो सङ्कटको समाधान नयाँ सरकारको गठन वा अर्को चुनावको आयोजना किमार्थ हुन सक्दैन । चुनावमै जाने हो भने पनि एकपटक पुँजीवाद–दलाल पुँजीवाद वा वैज्ञानिक समाजवाद भन्ने जनमतसङ्ग्रहमा गएर सरकार र नेताको होइन, व्यवस्थाको फैसला लिनुपर्छ । हाम्रो पार्टीले यो विषय हालै सरकारसँग भएको ३ बुँदे सहमतिभित्र पनि उठाउन चाहेको छ । खेदको कुरा, सरकारले सहमतिअनुसार जेलका कमरेडहरूलाई छोड्न आनाकानी गरेर बहस र सहमतिको वातावरणलाई असहज बनाइरहेको छ । ३ बुँदेलाई इमानदारीसाथ लागू गर्नेमा सरकारको यथोचित ध्यान जाओस् भन्ने हाम्रो आग्रह छ । बेपत्ता योद्धाजस्तो गरिमामय दिवसका अवसरमा हाम्रो पार्टी सबै देशभक्त, वामपन्थी, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्ट शक्तिहरूलाई अपिल गर्न चाहन्छ– देशमा अग्रगामी, परिवर्तनकारी, क्रान्तिकारी शक्तिहरूले हातेमालो गर्ने, मोर्चाबन्दी गर्ने एवम् देशलाई दीर्घकालिक निकास दिने अनुकूल अवसर तयार भएको छ । बिनापूर्वाग्रह, बिनासङ्कोच र शङ्का सबै एक बनौँ । देशलाई दलाल पुँजीवाद एवम् संसदीय व्यवस्थाबाट वैज्ञानिक समाजवादमा रूपान्तरण गर्न अघि बढौँ । हाम्रो पार्टी त्यसका लागि जुनकुनै त्याग र बलिदान गर्न प्रतिबद्ध छ । हामी यो पार्टीका नेता–कार्यकर्ता प्रतिबद्ध छौँ । हाम्रा महान् बेपत्ता योद्धाहरूको वास्तविक सम्मान पनि यसैबाट हुनेछ । धन्यवाद !’ प्रेस वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :