अखिल (क्रान्तिकारी) द्वारा कोरोना महामारीविरुद्ध जनसेवामा जुट्न अपिल

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोरोना भाइरसको दोस्रो लहरले देशलाई आक्रान्त पारिरहेको परिस्थितिमा ब्युरोअन्तर्गतका सबै जिल्लाका विद्यार्थी नेता तथा कार्यकर्तालाई यो महामारीविरुद्ध जनसेवामा जुट्न अपिल गरेको छ ।

सङ्गठनका ब्युरो संयोजक वीरेन्द्र विकले अहिले विश्व–महामारीका रूपमा रहेको कोरोना भाइरसले विश्व–मानव जाति नै सङ्कटमा परिरहेको बेला दलाल पुँजीवादी देशहरू मानवताभन्दा आफ्नो नाफामा केन्द्रित रहेको बताएका छन् । उनले अक्सिजन र उपचार गर्ने बेड नपाएर जनताले अकालमै ज्यान गुमाउनु परिरहेको यो विशिष्ट परिस्थितिमा नेपाल कम्युनिस्ट पार्टी र पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जनताको जिम्मेवार पार्टी र जिम्मेवार सङ्गठन भएको बताउँदै अहिलेको आवश्यकताअनुसार विभिन्न कार्यक्रम निर्माण गरेको बताए ।
कार्यक्रम

– वैशाख २९ गते कोरोना भाइरससम्बन्धी जनचेतनामूलक सन्देश सामाजिक सञ्जालमा राख्ने ।

– ३० गते ब्यानरहरू सार्वजनिक स्थलमा राख्ने ।

– वैशाख ३१ देखि जेठ २ गतेसम्म तराईका जिल्लाहरूमा माइकिङ गर्ने तथा पहाड र तराईका जिल्लाहरूले मास्क/सेनिटाइजर वितरण गर्ने ।

– जेठ ३ देखि १० गतेसम्म सम्भव हुने जिल्लामा अनलाइन मिटिङ र प्रशिक्षण गर्ने ।

– कोरोना महामारी र राज्यको भूमिकाविषयमा अनलाइनमार्फत अन्तरक्रिया गर्ने ।

– कोरोना महामारीका कारण अप्ठ्यारोमा परेका विद्यार्थीको तथ्याङ्क सङ्कलन गरी राहत वितरण गर्ने ।

– अनलाइन कक्षा सञ्चालन गरेनगरेको र शुल्क असुल गरेनगरेको विषयमा विद्यार्थी/अभिभावकका माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बुझ्ने र रेकर्ड राखी कारबाही गर्ने ।

– कोरोना महामारीका विषयमा सकारात्मक सन्देशहरू बढीभन्दा बढी सामाजिक सञ्जालमा सेयर गर्ने, आफूले पनि लेख्ने ।

संयोजक विकले सम्पूर्ण विद्यार्थी, सचेत नागरिकलाई सुरक्षित भएर कोरोना महामारीका विरुद्ध आआफ्नो ठाउँमा जनसेवामा जुट्न अपिल गर्दै उल्लिखित कार्यक्रमहरू ब्युरोका सबै जिल्लामा अनिवार्य लागू गर्न अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :