आमाप्रति रातो सलाम छ

कविता

इतिहास लेख्ने निर्माता
म कसरी व्याख्या गरूँ
आज म तिम्रा बारेमा
‘आमा’ भन्दामाथि
ठूलो कुनै जाति देखिनँ
मेरो दृष्टिकोणमा
लेखिएको छैन
त्यो शब्दकोशमा
त्यसैले आमा तिमी
जीवन र जगत्की
सृष्टिकर्ता हौ ।

छाडिदिनुस् ती
वीर पुरुषका कुरा
इतिहास पल्टाउँदा
तिम्रो काखबाट
पल्टाउने गरिन्छ
‘आमा’ तिमी महावीर हौ
महावीर आमाप्रति
रातो सलाम छ ।

पीडा पिएर जिउने
तिम्रो जिन्दगानीप्रति
रातो सलाम छ ‘आमा’
जन्माउँदा श्वास दियौ
मृत्यु हुँदा नाम दियौ
श्वास र नामबीचको
यात्रा गर्ने जीवन दियौ
त्यही जीवनका लागि
सबथोक दियौ
‘आमा’ तिम्रो
त्याग र उपकारप्रति
रातो सलाम छ ।

‘आमा’ तिमी
जिन्दगीको
संरक्षणकर्ता हौ ।
जब मानवीय
इतिहास रहन्छ
तबसम्म तिम्रो माया,
ममता, स्नेहको
प्राप्ति हुनेछ
त्यसैले आमा तिम्रो
गौरवप्रति रातो सलाम छ ।
आमाप्रति रातो सलाम छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :