कोरोनाभन्दा घातक संसदीय व्यवस्था

कोरोनाभन्दा घातक संसदीय व्यवस्था

नोबल कोरोना भाइरसले जति आतङ्कित र त्रसित बनाएको छ, त्योभन्दा कैयौँ गुणा बढी दलाल संसदीय व्यवस्थाले जनतालाई भयभीत र आतङ्कित बनाएको छ । कोरोना एक जीवाणु हो । अति सानो रूपमा हुन्छ । यो आफ्नो नियममा चन्दछ । यसले आफ्नो क्षमताका आधारमा प्रभाव पार्ने र स्वरूप पनि निश्चित छ । यसले विश्वका अधिकांश राष्ट्रका लाखाैँ मानिसलाई मृत्युको मुखमा पुर्याएर नेपालमा पनि देखिएको डबल म्युटेन्ट प्रकृतिको कोरोना भाइरसले लाखौँको सङ्ख्यामा सङ्क्रमित बनाएर हजारौँको ज्यान लिएको छ । कोरोनाको सङ्क्रमण बढ्दै जादा यसले जनमानसमा एक प्रकारको भय उत्पन्न भएको छ । दुनियाँका धेरै जनसङ्ख्या भएका कम्युनिस्ट मुलुकले सामान्य उपायहरू प्रयोग गरेर अत्यन्त कम क्षतिमा कोरोनालाई अफ्नो काबुमा पार्न सफल भएका छन् । व्यक्तिगत दूरी कायम गरेर, माक्स लगाएर र सरसफाइमा विशेष ध्यान दिँदा पहिला त कोरोना सङ्क्रमित हुनबाट टाढै रहन सकिन्छ । कोरोना सङ्क्रमित भैसक्दा पनि समयमै स्वास्थ्य मापदण्ड पालना गरी चिकित्सकको सल्लाहअनुसार अनुशासित तरिकाले कार्य गर्दा हामी सुरक्षित रहन सक्छौँ तर सरकारले अनेक विधिको प्रयोगमार्फत उचित व्यवस्थापन गरी कोरोनाको महामारी नियन्त्रण गर्नुको सट्टा संसदीय व्यवस्थामा अनावश्यक खालका गलत प्रचारबाजीले जनताको मनोविज्ञानलाई भयभीत बनाएर बिरामीको उपचारका नाउँमा गरिब जनताको ढाड सेक्ने गरी गलत तरिकाले पैसा कमाउने सुनौलो अवसर निर्माण गरेका छन् । स्वास्थ्य सेवाका नाउँमा अकूत सम्पत्ति कमाउँदै जनता मारिरहेका छन् । आफूले बनाएको संविधानका पानालाई सुन्दर बनाउन केही रमाइला शब्दहरू उल्लेख गरिएका छन् जसले जनताको आँखामा छारो हालेर माफियातन्त्र, लुटतन्त्र, कालोबजारीतन्त्र, भ्रष्टाचारतन्त्रजस्ता तमाम तन्त्रैतन्त्रको अँध्यारो कुनामा बसेर राज गरिरहेका छन् । अझ कम्युनिस्टको नक्कली मुकुन्डो लगाएर आफूलाई समाजवादी कम्युनिस्ट भन्न रुचाउँछन् ।

हुनेखानेका लागि यो देश स्वर्ग हो तर गरिबका लागि नर्क । अहिलेका शासक र उहिलेका राणा शासकमा खासै भिन्नता पाइँदैन । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टलाई मान्ने हो भने हाम्रो मुलुक एसियाकै पहिलो नम्बरको भ्रष्ट मुलुकको सूचीमा पर्छ । यो देशमा प्रधानमन्त्री स्वयम् आफ्ना भ्रष्ट मन्त्री र नेताको संरक्षणका लागि मैदानमा उत्रिन्छन् ।

संयुक्त राष्ट्रसङ्घले यो वर्ष हाम्रो देशको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ । राष्ट्रसङ्घको अनुमानबमोजिम दक्षिणएसियाको सबैभन्दा खराब अर्थतन्त्र नेपालको हो । केपी ओली नेतृत्वको सरकारले चालू आवको बजेट प्रस्तुत गर्दा ७ प्रतिशत आर्थिक वृद्धिको सपना जनतालाई देखाएको थियो तर अहिलेको आर्थिक वृदिदर १ प्रतिशत पुगे पनि भाग्य मान्नुपर्ने अवस्था छ । मुलुक यस्तो हरिकङ्गाल भैसक्दा जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेर, उपचारखर्च नभएर जनता आत्महत्या गर्न विवश भैरहँदा यो देशका मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बेखबर छन् । यस्तै अवस्था निरन्तर जारी रहे नेपालको करिब आधी जनसङ्ख्या डिप्रेसनमा जानसक्ने सम्भावना देखिन्छ । जनताको हालत जति खराब छ नेता र साशकको मति उति नै भ्रष्ट र गैरजिम्मेवार छ । संसदीय व्यवस्थामा नेपालका नेताहरू कहिले, कसैले, कुनै देशमा पनि नगरेको राजनीति गरिरहेका छन् । राजनीति भनेको देश बदल्ने माध्यम हो भनेर बुझेका नेताले देश त बदलिदिए तर आशालाई निराशामा, अन्याय–अत्याचारमा, कमिसनखोरीमा, नीतिगत भ्रष्टाचारमा बदलिदिए । लाख–दस लाखमा हुने भ्रष्टाचारलाई एकैपटक सत्तरी करोडमा बदलिदिए ।

हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक एवम् प्राकृतिक सुन्दरता तथा स्रोतसाधनले भरिपूर्ण देश हो । नेपाली जनताको जीवनशैली दुःख कष्टका साथै हाँसो, खुसी र सहयोगी मनहरूले मिलेर रहेको मुलुक हो । यो देशमा विभिन्न शासनप्रणाली, सत्ता,नेतृत्वमा परिवर्तन त आयो तर नेपाली श्रमजीवी जनताको जीवनशैली बदल्ने कुनै पनि परिवर्तन आएन । अहिलेको समयमा कोरोना महामारीबाट नेपाली जनतालाई सुरक्षित बनाउन ध्यान दिनुको सट्टा उल्टै आफ्नो कुर्सीको रक्षा गरी सत्ता लम्ब्याउँदै इतिहासकै ठूलाठूला राष्ट्रघात र जनघातमा लागिरहेको हुँदा यो दलाल व्यवस्थाले नेपाली जनताको मुक्ति भविष्य दिँदैन । केही नजिकका आसेपासेबाहेक अरू सम्पूर्ण नेपालीको अहित छ । त्यसकारण नेपाली जनताको भाग्य बदल्ने सुनौलो व्यवस्था एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादमा लामबद्ध हुन सबैका लागि बध्यता भएको छ ।

(लेखक अखिल क्रान्तिकारीका विशेष जिल्ला अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :