अस्पतालहरू अस्तव्यस्त, कोरोना प्रभावितहरूको उपचार असहज

अस्पतालहरू अस्तव्यस्त, कोरोना प्रभावितहरूको उपचार असहज

काठमाडौँ : कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै नेपालमा त्यसको असर र प्रभाव गम्भीर बन्दै गएको छ । कोरोनाका कारण सङ्क्रमित हुनेहरूको सङ्ख्या दिनदिनै बढिरहेको छ भने निको हुने दर कम रहेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका कारण देशको स्वास्थ्यप्रणाली नै अस्तव्यस्त हुन थालेको छ । अस्पतालहरू कोरोनाका बिरामीले भरिँदा बेडको अभावले ठाउँठाउँमा बिरामीहरूलाई अस्पताल परिसर, ग्यालरी र इमर्जेन्सीमा उपचार गराइरहेका खबरहरू प्रकाशित भइरहेका छन् ।

यसैबीच चितवनका अस्पतालहरूमा कोरोनाका बिरामीको चाप अत्यधिक बढेको र बिरामीको उपचारमा खटिने स्वाथ्यकर्मीसमेत सङ्क्रमित हुन थालेका छन् । अहिलेसम्म त्यहाँका अस्पतालहरूमा कार्यरत डाक्टर, नर्स र कर्मचारी गरी ८० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण भएको तथ्याङ्क छ । हिजोआज दैनिक ७ जनासम्म सङ्क्रमितको मृत्यु हुने गरेको चितवनमा कोरोनाका बिरामीहरूले आवश्यक रेखदेख नपाएको सङ्क्रमित र उनका आफन्तको गुनासो छ । जिल्ला अस्पतालको कोभिड वार्डमा श्रीमती बन्धु चन्दको उपचार गराइरहेका नेकपाका केन्द्रीय सदस्य मोहलाल चन्द ‘आधार’ ले चितवन जिल्ला अस्पतालले उपचारमा लापरबाही गरेको बताएका छन् ।

रातो खबरसँग कुरा गर्दै आधारले भने, ‘अस्पतालमा बिरामीहरूको चापअनुसार नर्सहरू छैनन् । बिरामी बेडमा छट्पटाउँदै बस्ने अवस्था आउँदा पनि खोजेको बेलामा डाक्टर त परैको कुरा नर्ससमेत भेटिँदैनन् । उक्त अस्पतालमा कोरोनाका बिरामी र बिरामीका कुरुवा सँगसँगै हुँदा कुरुवा पनि सङ्क्रमित भएका छन् । सबै बिरामीले प्रयोग गर्ने एउटै शौचालय हुँदा शौचालयमा पनि चाप पर्ने गरेको बिरामी र कुरुवाको गुनासो छ । बिरामी कुर्न अस्पतालमा बसिरहेका नेकपा नेता आधार भन्छन्, ‘सरकारले बिरामीको चापअनुसार डाक्टर र नर्सको आवश्यक व्यवस्थापन गर्न नसक्दा यहाँ निकै ठूलो समस्या भएको छ । राम्रोसँग उपचार नपाउँदा बिरामी छट्पटिँदाछट्पटिँदै मर्ने अवस्था आउलाजस्तो भएको छ ।’

चितवन अस्पतालको कोभिड वार्डमा कोरोनाका बिरामी र कुरुवाले पाएको जस्तै सास्ती अन्य अस्पतालहरूमा पनि छ । सुदूरपश्चिमको कोभिड अस्पतालमा कोरोना भाइरसको अवस्था नियन्त्रणबाहिर गएको सार्वजनिक भएको छ । धनगढी र कञ्चनपुरमा समुदायमा कोरोना भाइरस तीव्र गतिमा फैलिएको छ । अस्पतालहरूमा आवश्यक स्रोतसाधनको अभावका कारण बिरामीको ज्यान जोगाउन कठिन हुने अस्पताहरूले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :