म्याग्दीमा सहिद जगतको श्रद्धाञ्जलीसभा सम्पन्न

म्याग्दीमा सहिद जगतको श्रद्धाञ्जलीसभा सम्पन्न

म्याग्दी : म्याग्दी जिल्लाको मालिका गाउँपालिका रुमको अदिवारामा नेकपाका तत्कालीन म्याग्दी जिल्ला जनसरकार प्रमुख जगतको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।शुक्रबार सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ध्रुव घिमिरेले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै सहिद जगतको तस्बिरमा माल्यार्पण गरेका थिए । उनले सहिद जगत अब घरपरिवारमा मात्र सीमित नभई सिङ्गो देशको सहिद भएको र सम्पूर्ण महान् सहिदहरूको अभिभावक नेपाल कम्युनिस्ट पार्टी भएको बताए । उनले सहिद जगतसँगको लामो सहकार्यको स्मरण गर्दै सहिदहरूको सपना पूरा गर्न आफ्नो पार्टी निरन्तर एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको बाटोमा अहोरात्र खटिरहेको प्रस्ट पारे ।

कार्यक्रमका अर्का वक्ता विकिरण र जगतका भाइ थम पुनले पनि मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी दीपाले र अध्यक्षता फिल्टरले गरेका थिए ।

सहिद जगतलाई जनयुद्धका क्रममा सङ्कटकालको समयमा अन्नपूर्ण गापा सिखको घोडेपानीबाट शाहीसेनाले गिरफ्तार गरेपछि लामो समय जेलमा राखेको थियो । निरन्तर क्रान्तिका पक्षमा लाग्दा तत्कालीन दुईतिहाइ बहुमतको केपी सरकारले म्याग्दी जिल्लाका जनसरकार प्रमुख जगतलाई पटकपटक गिरफ्तार गरेर छोड्ने क्रममा २०७६ साल फागुन ९ गते रुमको अदिवारास्थित आफ्नै घरबाट गिरफ्तार गरी म्याग्दीमा अभद्र व्यवहारको मुद्दा चलाएको थियो । त्यहाँबाट धरौटी राखेर रिहा भएलगत्तै म्याग्दी जिल्ला प्रहरीले पर्वत जिल्लामा बुझाएको र पर्वतको जिल्ला कारागारमा रहँदा चरम मानसिक एवम् शारीरिक यातनाका कारण षड्यन्त्रपूर्ण हत्या भएको थियो । उहाँको शव चार महिनादेखि गण्डकी प्रादेशिक अस्पताल पोखरामा रहेकोमा यही मिति २०७८ वैशाख १२ गते मात्र दाहंसस्कार गरिएको थियो । जगतको परिवारले निष्पक्ष छानबिन र दोषीउपर कडा कारबाहीको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :