नेकपाद्वारा मकवानपुरमा संयुक्त सहकार्यमा जनश्रमदान

नेकपाद्वारा मकवानपुरमा संयुक्त सहकार्यमा जनश्रमदान

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरमा जिल्ला पार्टी, विद्यार्थी सङ्गठन युवा सङ्गठन, महिला सङ्घ र केन्द्रीय सामना परिवारको संयुक्त सहकार्यमा जनश्रमदान भइरहेको छ ।

वैशाख १३ गतेबाट सुरु भएको “सङ्गठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको सांस्कृतिक कार्यक्रम–२०७८” अभियानको क्रममा अभियान टोली मनहरी गाउँपालिकाको विभिन्न वडाहरूमा सङ्गठन निर्माणका साथै जनश्रमदान गर्दै अघि बढिरहेको छ । पछिल्लो समयमा मकवानपुरमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएकोले १९ गतेदेखि निषेधाज्ञा लागू भएसँगै अभियान टोली पनि उच्च सतर्कता अपनाउँदै आफ्नो गन्तव्यमा लागिरहेको छ ।

माना छरेर मुरी फलाउने समय भएकोले आजभोली सबै जनता खेतीपातीमा नै व्यस्त भइरहेका छन् । त्यसैले केन्द्रीय सामना परिवार सहितको अभियान टोली पनि जनतासँगै उत्पादन तथा विकास निर्माण कार्यमा प्रत्यक्ष रूपले जोडिरहेको छ । यसै क्रममा बिजुलीको खम्बा गाड्ने, दाउरा काट्ने, खेतबारीमा गएर मल बोक्ने, मकै छर्ने, मकै गोड्ने जस्ता कार्यमा सहयोग गरिरहेको छ ।

यसरी जनतासँगै श्रममा जोडिँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीको अभियान टोलीप्रति जनताले खुसी व्यक्त गरेका छन् । साथै द्रुत गतिमा सङ्गठन विस्तार भई एकीकृत जनक्रान्ति सफल हुँदै छिट्टै वैज्ञानिक समाजवाद लागू होस् भन्ने पनि चाहान्छन् र यस कार्यमा आफ्नो तर्फबाट सकेको साथ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

जनपक्षीय पार्टी भएको नाताले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता कुनै न कुनै माध्यमले जनतासँग श्रममा जोडिँदै उत्पादन मूलक कार्यमा लागिरहेका छन् । यस कार्यमा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनसँगै पूर्व जिल्ला इन्चार्ज वाटर पनि लागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :