बैतडी जिप दुर्घटनामा ६ जनाको मृत्यु

बैतडी जिप दुर्घटनामा ६ जनाको मृत्यु

बैतडी : जिल्लाको पञ्चेश्वरमा मङ्गलबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो ।

पञ्चेश्वर गाउँपालिका ६ रोडीदेवलको गणमेश्वर मन्दिरनजिकै जिप दुर्घटना हुँदा सोही गाउँपालिकाको वडा नम्बर ६ का ५० वर्षीय जितसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

दुर्घटना परी घाइते भएका चालक तेजबहादुर बोहरा र ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको वडा नम्बर ६ का अध्यक्ष रामसिंह पुजाराले बताए । दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।

घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहनसिंह भण्डारी, ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलीपसिंह भण्डारी छन् ।

जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीका कारण जिप दुर्घटनामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :