क्रान्तिको मोर्चाबाट आमालाई पत्र

क्रान्तिको मोर्चाबाट आमालाई पत्र

प्यारी आमा !
आमा, तिम्रो ममतामयी काख र तिम्रा आँखादेखि धेरै टाढा छु । तर तिमीले जुन उद्देश्यले जन्मायौ, त्यसबाट भने म कत्ति पनि टाढा गएको छैन । आमा, तिमीले आफू खाइनखाई दसधारा दूध चुसाएर हुर्कायौ । घाम, पानी, हुरी, बतास र बाह्य आक्रमणबाट बचाउन ममतामयी काख र हृदयको छहारी दियौ । पालनपोषण गर्यौ । हुर्कायौ, बढायौ, ठूलो बनायौ । बोल्न सिकायौ, हिँड्न सिकायौ । भोको पेटमा पटुकी कसेर पढ्न–लेख्नका लागि कापी, कलम र किताब किनी स्कुल पठायौ । लेखपढ गरेर छोरा ठूलो मान्छे भएको हेर्न चाहन्थ्यौ । देश र जनताको सेवा गरेको, दुःखी, गरिब र उत्पीडित वर्गको मुक्तिका निम्ति लडेर विश्व–सर्वहारा वर्गको विजय भएको हेर्न चाहन्थ्यौ । हो, म त्यही क्रान्तिकारी मार्गमा छु । आमा, म त्यही मार्गमा छु । मालेमावादी सिद्घान्त र एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्घ भएको छु ।

यसो भन्दै गर्दा आमा मात्र भन्दिनँ म, बाबाको पनि ठूलो योगदान र उत्तिकै हात छ आज म यो बाटोमा हुनुमा । आमा, मलाइ राम्ररी थाहा छ– तिमी रोगी छ्यौ । उमेरले पनि नेटो काटिसकेको, ७६ वर्षकी भैसक्यौ । भौतिक रूपमा बूढो शरीर, निक्कै गाह्रो भएको छ । यो बेलामा छोराको साथ टड्कारो रूपमा खाँचो परेको छ । तर आमा…! छोरा साथमा नभएकोमा पिर, चिन्ता र दुःख नमान्नू, तिम्रो शिर झुक्न दिनेछैन किनकि तिम्रो छोरा गर्व गर्नलायकको बाटोमा छ । तिमीजस्तै दुःखी, गरिब, उत्पीडित र असक्त लाखौँ–करोडौँ आमाहरू र विश्व–सर्वहारा वर्गको मुक्तिका निम्ति टाउकोमा कफन बाँधेर क्रान्तिका मोर्चाहरू लड्दैछ ।

महान् गुरु कार्ल माक्र्सले ‘जिते संसार, हारे हत्कडी’ भनेझैँ सर्वहारा वर्गका निम्ति हार्नका लागि हतकडीबाहेक अरू के नै हुन्छ र ? तर जितियो भने सारा संसारको भौतिक सुख, सुविधा, मानवीय समानता र न्यायिक समाजको सुख भोग गर्न सकिन्छ । यसलाई हामी मुक्तिको बाटो भन्छौँ । आमा, जन्म लिएपछि मृत्यु निश्चित छ । बाँकी मुक्ति वा मृत्युको प्रश्नमा हामी मुक्ति चाहन्छौँ तर हाम्रो दुस्मन दलाल संसदीय व्यवस्था र त्यसका मतियारहरूले हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए । मलगायत हाम्रा कयौँ नेता–कार्यकर्ताहरूलाई विभिन्न दुःख, कष्ट, जेलनेल, झूट्टा मुद्दा र जालझेलमा फसाएर अनेकन यातनाहरू दिइयो । तिनीहरूलाई के थाहा रहेनछ भने विचार र सिद्घान्तबाट स्पात बनेका क्रान्तिकारी योद्घाहरू मृत्यु रोज्छन् तर देश र आफ्नो वर्गप्रति कहिल्यै गद्दारी गर्दैनन् । महान् नेता क. होची मिन्हको भनाइअनुसार ‘गद्दारहरूले धोका दिन्छन्, कायरहरू घुँडा टेक्छन्, क्रान्तिकारीहरू अघि बढछन् ।’ हाम्रो क्रान्तिकारी पार्टी र हाम्रा नेता तथा कार्यकर्ता योद्घाहरू निरन्तर अघि बढिरहेका छन् । हुनत २००७ सालदेखि २०३६ साल, २०४६ साल हुँदै २०५२ सालबाट सुरु भएको १० बर्से महान् जनयुद्घ, २०६२/०६३ को जनआन्दोलनलगायत सबै मुक्तिकामी आन्दोलनहरू देश र जनताप्रति फलदायी बन्न सकेनन् । गद्दारहरूले धोका दिएका कारण जनताका न्यायपूर्ण आन्दोलनहरू तुहिए । तर हामी खबरदारी गर्न चाहन्छाँ– यो देश र यहाँको उर्वर भूमि हाम्रो पनि हो । यहाँको प्राकृतिक स्रोतसाधनमाथि हाम्रो पनि उत्तिकै अधिकार छ जति यहाँका दलाल शासक वर्गहरूको छ । तर यहाँका भ्रष्ट, दलालहरूलाई देश नै बेचेर खाने अधिकार छैन । आफू सत्ता र कुर्सीमा पुग्न देशको कुनै पनि भूगोल, नदीनाला, बनजङ्गल, प्राकृतिक स्रोतसाधन वेच्न तयार हुने । देशका ठूला उद्योगधन्दा र कलकारखाना बेच्न तयार हुने । दीर्घकालीन रूपमा असर पुग्ने सन्धिसम्झौता गर्न तयार हुने । देशमा उद्योगधन्दा, कलकारखाना सञ्चालन गर्ने र स्वदेशमा वस्तु उत्पादन गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने रोजगारी सिर्जना गर्नेजस्ता बाटोतिर यिनीहरूको ध्यान कत्ति पनि गएको देखिन्न । के भर्भराउँदा युवाहरू बेरोजगारीको छट्पटीले बिदेसिन बाध्य करोडौँ युवा जनशक्ति स्वदेशमै रोजगारी गरेर आफ्नो परिवार, बालबच्चा र बूढाबूढी बुबाआमासँग रमाएर जीवनयापन गर्दै देश विकासमा योगदान पुर्याउने रहर थिएन होला र ? तर अहँ, त्यस्तो हुन सकेन किनकि यो देश दलालहरूको हातमा छ । यहाँको राजनीतिक व्यवस्था नै ठीक छैन जसले गर्दा तमाम समस्याहरू दिनानुदिन झन्झन् विकराल बन्दै गएका छन् । भनिन्छ, जुन देशको राजनीतिक व्यवस्था ठीक हुन्न, त्यस देशको नागरिकले कहिल्यै सुख र समृद्धिको अनुभूति गर्न पाउँदैन । न त कहिल्यै त्यो देश स्वाधीन र स्वतन्त्र बन्न सक्छ । न त कहिल्यै विकास र समृद्धिको वाटोमा अघि बढ्न सक्छ । त्यसो हुँदा हाम्रो पार्टी नेकपाले भन्यो– यो देश र जनताको जिम्मा हामी लिन्छौँ । यो देशको मुहार हामी फेर्छौं । हामीलाई साथ दिनुस् । जनतालाई अपिल गर्यो र यो महान् कामका लागि पार्टी महासचिव क. विप्लवको नेतृत्वमा गद्दारहरूले चिहानमा पुर्याएको क्रान्तिलाई खरानीको थुप्रोबाट पुनः क्रान्तिकारी झन्डा उठायौँ । महासचिव क. विप्लवले कोर्नुभएको क्रान्तिको बाटो मालेमावादी सिद्धान्तमा आधारित एकीकृत जनक्रान्तिको कार्यदिशामा हामी क्रान्तिकारीहरू गोलबन्द हुँदै क्रान्तिकारी आवाजल बुलन्द पार्दै आएका छौँ ।

आमा, तिमीलाई निराश हुन दिनेछैनौँ । तिमीजस्तै लाखौँ–करोडौँ आमाहरूको मुहारमा खुसीको लहर ल्याउनेछौँ । यो हाम्रो प्रतिबद्धता हो । महासचिव कमरेड विप्लवले भन्नुभएझैँ ‘आत्मासमर्पण हैन विद्रोह, वर्गसमन्वय हैन वर्गसङ्घर्ष, गद्दारी हैन बलिदान ।’ हामीले भनेका छौँ– युद्धका मोर्चाहरूमा सम्झौता, आत्मसमर्पण, वर्गसमन्वय कदापि गर्नेछैनौँ । परिआएमा बलिदान गर्नेछौँ तर देश र जनताप्रति, आफ्नो वर्ग र क्रान्तिप्रति कुनै पनि मानेमा गद्दारी गर्नेछैनौँ ।

अहिलेको सन्दर्भमा भन्नुपर्दा देशभक्त प्रगतिशील शक्तिहरू, बौद्धिक वर्ग, विभिन्न राजनीतिक दलहरू, प्रगतिशील अन्तर्राट्रिय समुदायहरू र न्यायप्रेमी जनताको दबाबकै कारण भन्नुपर्छ– २ वर्षपछि हाम्रो जनप्रिय पार्टी नेकपामाथि लगाएको प्रतिबन्ध हटाउन केपी सरकार बाध्य भएको छ । यसको हाम्रो पार्टीले खुलेर स्वागत गरेको छ तर देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूलाइ यो कुरा मन परेको छैन जसको कारण जनमानसमा यसको कुप्रचार गरिएको छ र हाम्रो पार्टीलाई बदनाम गराउने मनसायबाट– विप्लव अब सरकारमा जाँदैछन्, एमालेसँग पार्टी एकता हुँदैछ भन्ने दुष्प्रचार गरिएको छ । प्रचण्डले त खुलेरै भने– विप्लव पनि मेरै बाटोमा आइपुग्यो । काङ्ग्रेसलगायत केही तत्वहरूले तीन बुँदा मात्रै भयो, चौथो बुँदा खोइ ? जस्ता भ्रामक कुतर्कहरू गरेर धमिलो पानीमा माछा मार्ने र आफ्नो स्वार्थ पूरा गर्ने कुराहरू गरेको देखिन्छ । तर हाम्रो पार्टी यस्ता गलत चिन्तन र प्रवृत्तिलाई खारेज गर्छ । हाम्रो प्रस्ट धारणा र सुस्पष्ट दृष्टिकोण र लक्ष्य मालेमावादी सिद्धान्तमा आधारित एकीकृत जनक्रान्तिको माध्यमबाट दलाल संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य र न्यूनतम् कार्यक्रम वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्नु रहेको छ । जनताले न्याय पाउने कुरा, जनता समृद्ध बन्ने कुरा, देश स्वाधीन र समृद्ध हुने कुरा के यो सर्वपरि हितको कुरा होइन र ? केही मुठीभर दलाल, भ्रष्ट, तस्करहरू र यो दलाल संसदीय पुँजीवादी व्यवस्थाका मतियारहरूबाहेक सबै तह र तप्कामा टड्कारो रूपमा क्रान्तिको आवश्यकता रहेको देखिन्छ । यहाँ कुनै व्यक्ति वा पार्टीविशेषको कुरा हैन, सिङ्गो देशको कुरा छ । जनताको भविष्यको कुरा छ । त्यसो भएको कारणले गर्दा हाम्रो पार्टीका महासचिव क. विप्लवले पनि यही आह्वान गर्नुभएको छ । हामी तमाम नेता, कार्यकर्ता र सिङ्गो पार्टीको पनि अपिल छ– मुक्ति चाहनेहरू, देशभक्त, बुद्धिजीवी, डाक्टर, पाइलट, वकिल, इन्जिनियर, राष्ट्रिय पुँजीपति वर्ग, उद्योगी–व्यवसायी, सेना, पुलिस, कर्मचारी, मजदुर, किसान, सुकुमबासी, मधेसी, महिला, मुस्लिम, दलित, जनजाति, उत्पीडित, बाहुन क्षेत्री, युवा, विद्यार्थी, सबै एक ठाउँमा उभिऊँ र क्रान्तिकारी झन्डामुनि गोलबन्द होऔँ । दलाल संसदीय व्यवस्थालाई ध्वंस गरौँ । जनताका निम्ति जनताद्वारा नै शासन गर्ने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था लागू गरौँ ।

आमा, तिमीलाई निराश हुन दिनेछैनौँ । तिमीजस्तै लाखौँ–करोडौँ आमाहरूको मुहारमा खुसीको लहर ल्याउनेछौँ । यो हाम्रो प्रतिबद्धता हो । महासचिव कमरेड विप्लवले भन्नुभएझैँ ‘आत्मासमर्पण हैन विद्रोह, वर्गसमन्वय हैन वर्गसङ्घर्ष, गद्दारी हैन बलिदान ।’ हामीले भनेका छौँ– युद्धका मोर्चाहरूमा सम्झौता, आत्मसमर्पण, वर्गसमन्वय कदापि गर्नेछैनौँ । परिआएमा बलिदान गर्नेछौँ तर देश र जनताप्रति, आफ्नो वर्ग र क्रान्तिप्रति कुनै पनि मानेमा गद्दारी गर्नेछैनौँ ।

हाम्रो पार्टीले यसो भनिरहँदा वर्गदुस्मन, प्रतिक्रियावादीहरू क्रान्तिकारीहरूलाई एकताबद्ध हुन नदिन विभिन्न जालझेल र षड्यन्त्र गरेर भनिरहेका छन्– विप्लवले युद्ध गर्दैछ । फेरि अशान्ति, हत्या, हिंसा मच्चाउँदैछ अथवा विप्लव सरकारमा जाँदैछ । यो सत्ताको खेल हो । मेरै बाटोमा आउँदैछ । चौथो बुँदा खोइ ? उनीहरु यस्ता कुप्रचार र कुतर्कहरू गरिरहेका छन् । आमा, यी सब क्रान्तिविरोधी, प्रतिक्रियावादी तत्वहरूको आफ्नो लुटको स्वर्ग बचाइराख्ने दुष्प्रयास मात्र हो ।

हामीले राम्ररी पढेका र बुझेका छौँ– विश्वमा भएका ठूलाठूला क्रान्तिहरू जस्तै सन् १९१७ मा क. लेनिनको नेतृत्वमा सम्पन्न रुसको क्रान्ति । त्यहाँ क. लेनिनले गर्नुभएको आह्वानमा जारसाहका साराका सारा सेना र सिपाहीहरू क्रान्तिकारी आन्दोलनमा लामबद्ध भएका थिए र त्यहाँ जनताको आन्दोलन दबाउने र गोली हान्ने सेना–सिपाही नै क्रान्तिका पक्षमा उभिएपछि अन्ततः त्यहाँको राजा जार बाध्य भएर भग्नुपर्यो, लेनिनले नेतृत्व समाल्नुभयो र समाजवादी शासनसत्ता सुरु भयो । त्यसको लहरले युरोपका धेरै देशमा समाजवाद आयो । त्यस्तै सन् १९४९ मा चीनमा क. माओले गर्नुभएको आह्वानमा च्याङकाइसेकका राष्ट्रिय सेना–सिपाहीहरू जनमुक्ति सेनासँग मिलेर तात्कालिक साम्राज्यवादी जापानी सेनासँग लडे र युद्ध जितियो । जापानी सेनाको हार भयो । च्याङकाइसेकलाई सोधे– तिमी के गर्छाै ? अन्ततः च्याङकाइसेक भागेर ताइवानमा पुग्यो र क. माओले नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नुभयो । त्यसैगरी भियतनाममा क. होची मिन्हको नेतृत्वमा भएको युद्धमा मै हुँ भन्ने अमेरिकी साम्राज्यवादी शक्ति हार्न पुग्यो र त्यहाँ समाजवादी राज्यसत्ता आयो । त्यसैगरी क्युबा, जनगणतन्त्रलगायत मुलुकहरूमा समाजवादी व्यवस्था आयो । त्यसैले हेक्का रहोस्, जनता नै त्यस्तो निर्णायक शक्ति हो जसले चाह्यो भने संसारका ठूलाठूला साम्राज्यवादी शक्तिहरू बढारिन्छन् । त्यसो हुनाले हाम्रो पार्टीले खोलेको पछिल्लो मोर्चा हो प्रगतिशील संयुक्त सरकार र त्यसको जगमा जनमतसङ्ग्रह । हाम्रो पार्टीले सुस्पष्ट रूपमा भनेको छ– जनमतसङ्ग्रहको माध्यमबाट जनतामा जाऊँ : कुन व्यवस्था ठीक ? अहिलेको दलाल संसदीय पुँजीवादी व्यवस्था ठीक कि हामीले भनेको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सूचना, मनोरन्जन, यातायातलगायत आधारभूत आवश्यकता राज्यले ग्यारेन्टी गर्ने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था ठीक ? यसरी जनमतसङ्ग्रहद्वारा आफ्नो व्यवस्था आफैँले चुन्ने अधिकार जनतालाई दिऊँ भनेका छौँ । आमा, यसरी हामी जनतालाई अहिलेको व्यवस्था र वैज्ञानिक समाजवादका बारेमा बुझाउने काममै व्यस्त छौँ । त्यसो हुँदा हामी क्रान्तिको निरन्तर प्रक्रियामा छौँ । तसर्थ तमाम शोषित, उत्पीडित, सर्वहारा वर्ग निरास नहोऊन् भन्ने हाम्रो पार्टीको अपिल छ ।

अन्त्यमा आमा, तिमीजस्तै रोगी र वृद्ध शरीर भएका लाखौँ–करोडौँ आमाहरूको औषधी र सहारा बनेर, अपाङ्ग र असक्तहरूको ह्विलचियर र वैशाखी बनेर, दलाल संसदीय पुँजीवादी व्यवस्थाको अन्याय, अत्याचार र शोषणमा परेर चहर्याइरहेका हृदयका घाउहरूका लागि मलम बनेर, तमाम उत्पीडित, सर्वहारा वर्ग, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक र सांस्कृतिक रूपमा उपेक्षित, विभिन्न जाति–समुदायहरूको संरक्षक र अभिभावक बनेर अब छिट्टै आउँदैछ वैज्ञानिक समाजवाद । आमा, हाम्रो भविष्यमाथि मडारिएको अन्धकारमय कालो बादल फटाउनु छ । आशाको दियो निभ्न नदिनू है आमा । म आउनेछु, वैज्ञानिक समाजवादको कोसेली लिएर छिट्टै आउनेछु । सङ्घर्षशील, क्रान्तिकारी जीवनका दुःख–कष्टहरू तिम्रो ममतामयी काखमा बिसाएर आफ्ना सारा थकानहरू मेटाउनेछु । आशाका दियोहरू निभ्न नदेऊ है आमा ! आशाको दियो निभ्न नदेऊ !

क्रान्तिकारी अभिवादनसहित
छोरा
रोजन

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :