सहिद वरुणको स्मृतिसभा सम्पन्न

सहिद वरुणको स्मृतिसभा सम्पन्न

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद शिवाजी तिवारी ‘वरुण’ को स्मृतिसभा सम्पन्न गरेको छ । नेकपा लमजुङले १० बर्से जनयुद्धका क्रममा पार्टीको सङ्गठन विस्तार गर्ने क्रममा शाही नेपाली सेनाको घेरामा परी २०५९ साल वैशाख २१ गतेकै दिन लमजुङ जिल्लाको तार्कुघाटमा सहादत प्राप्त गरेका शिवाजी तिवारीको स्मृतिमा सभा आयोजना गरेको हो ।

कार्यक्रममा नेकपा लमजुङ जिल्ला इन्चार्ज आक्रोशले हिजो राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध लड्दै गर्दा तिवारीले सहादत प्राप्त गरेका थिए तर त्यही संसदीय व्यवस्थाले झन् उग्र र विकराल रूप लिएको बताए । भीषण जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुरामहरू नै संसदीय व्यवस्थाको गोलचक्करमा शरण लिन पुगेको र अहिले छियाछिया भएको बताए ।

नेकपा फेरि पनि निरन्तर क्रान्ति र सहिदहरूले देखाएको सुन्दर क्रान्तिको बाटोमा अविराम रूपमा लागिपरेको उनले बताए । उनले सहिदहरूले देखेको नयाँ समाज निर्माणको सपना एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादबाट पूरा गर्ने बताए ।

स्मृति सभामा सहिद शिवाजी तिवारीका जेठा छोरा गणेशबाबु तिवारी, जेठी बुहारी शोभा तिवारी, माइला छोरा कुमार तिवारी, नेकपाका लमजुङ जिल्ला इन्चार्ज जङ्गबहादुर भण्डारी ‘आक्रोश’, सेक्रेटरी गौरव, अखिल (क्रान्तिकारी) लमजुङ जिल्ला अध्यक्ष राजन साउद, पार्टीका जिल्लास्तरीय नेता टेकतारा बोहोरा, मोहन बोहोरा, खिम भण्डारीलगायत स्थानीय शिक्षक, बुद्धिजीवी, समाजसेवीहरूको सहभागिता थियो ।

सहभागी सबैले सालिकमा खादा, फूलमाला र अबिर लगाएर सम्मान गरेका थिए भने अखिल (क्रान्तिकारी) लमजुङ जिल्ला अध्यक्ष राजन साउदले सभा सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :