वैज्ञानिक समाजवादी शिक्षाका आधारहरू

वैज्ञानिक समाजवादी शिक्षाका आधारहरू

विषयारम्भ

“शिक्षासँग जोडिएका हाम्रा तीनवटा अवधारणा छन् : एक, बौद्धिक शिक्षा; दुई, शारीरिक विकास र तीन पोलिटेक्निक शिक्षा, जसले उत्पादन प्रक्रियाका सामान्य वैज्ञानिक सिद्धान्तसँग परिचित गराउनुका साथै बालबच्चा तथा किशोरलाई सबै उत्पादनसँग जोडिएका औजार चलाउन सिकाउँछ ।” – कार्ल माक्र्स

शिक्षा मानव जीवनको प्रागैतिहासिक कालदेखि अहिलेसम्मको श्रम, लगन र अनुभवको वैज्ञानिक संश्लेषण हो । यसले मानिसको बौद्धिक र शारीरिक क्षमतालाई थप समृद्ध बनाउँदै मानव समुदायलाई वर्गविहीन बनाउने र मानिसलाई पूर्ण मानव बनाउने हुनुपर्नेमा तर त्यही शिक्षा वर्गीय, जातिय र क्षेत्रीयताका आधारमा जब एक देशमा दुई तरिकाले जनतामा प्रदान गरिन्छ, तब प्रस्ट रूपमा वर्गीय, जातिय, क्षेत्रीय असमानता समाजमा देखिन्छन् र राष्ट्रको सन्तुलित उन्नयन हुन सक्तैन । पछिल्लो पंचायत, प्रजातन्त्र वा संघीय लोकतान्त्रिक गणतन्त्र हरेक समयमा नेपालको शिक्षा क्षेत्रमा देखिएको यो विभेदले हाम्रो समाजको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा ठूलो विभेद खडा गरेको छ, जसको प्रभाव हामी राज्य र समाजका सबै संस्थागत संरचनामा प्रस्ट देखिरहेका छौँ, जसले गर्दा हामीले लिने शिक्षा हामीलाई सामाजिक, आर्थिक, राजनीतिक हिसाबले छुट्याउने मानक बनिरहेको छ, आज सरकारी–सामुदायिक विद्यालय र निजी विद्यालयहरूमा पढ्ने–पढाउने विषय गरिब र धनीहरूको पहिचानजस्तो बन्न पुगेको छ । सरकारी–सामुदायिक विद्यालयहरू गरिब वर्गको विद्यालयजस्तो र निजी तथा संस्थागत विद्यालय धनी वर्गको जस्तो भएको छ ।

एकातिर धुलोमैलो, पुरानो फाटेको र अर्कोतिर सफा सुग्घर, नयाँ तथा एकातिर नेपाली माध्यम अर्कोतिर अङ्ग्रेजी माध्यम (अहिले यो विभेद नमुना भनिएका सरकारी वा सामुदायिक विद्यालयहरूमा पनि देखिन थालेको छ) पहिलोबाट पढाइ सकाएर ज्यामी, मजदुर, किसान र तल्लास्तरका कर्मचारी उत्पादनजस्तो र अर्कोतिर (निजी) बाट पढाइ सकाएर समाजले माथिल्लोस्तर मानेको शिक्षक, सरकारी कर्मचारी, डाक्टर, पाइलट, इन्जिनियर, व्यापारी र राज्यसञ्चालकहरू बन्नेजस्तो अवस्था छ । सरकारी विद्यालयबाट राम्रो पढे पनि आर्थिक हैसियत राम्रो नहुँदा प्रतिभा–क्षमतामाथि आउन सक्ने अवस्था छैन । छात्रवृत्ति कोटा पनि घुमाई फिराई पहुँचवाला र हैसियत भएकाहरूका लागि जस्तो भएको छ । यी सबै कारणले नेपाल र श्रमजीवी नेपाली जनताको अवस्था दिन–प्रतिदिन कमजोर, दयनीय र बिजोगपूर्ण भएको छ । यसले देशमा चरम प्रकारको गरिबी, बेरोजगारी, भ्रष्टाचार र अनियमितताजस्ता विकृति विसँगति निम्त्याएको छ, जसले गर्दा युवाशक्ति देशमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भएको छ वा त्यही विकृति विसँगतिको हिस्सा बन्नेमा रमाइरहेको छ, यसले देशको साझा भविष्य चौपट भएको छ । मानिसलाई देश, जनता, समाज र आफ्नो स्वतन्त्रतासँग कुनै मतलव छैन, मात्र आफ्नो स्वार्थ पूरा भए हुने जस्तो भएको छ । आखिर यी सबैको मूल विषय हाम्रो उत्पादन सम्बन्ध र त्यसको उपरिसंरचनाको रूपमा रहेको शिक्षा नै हो, जसले समाजमा असमानता, विभेद र चरम व्यक्तिवादी चिन्तनको विकास गरेको छ, जसलाई शिक्षाको निजीकरण र व्यापारीकरणले अझ मलजल गरेको छ ।

राज्यको दायित्व हुनुपर्ने शिक्षा, स्वास्थ्य, रोजगार हाम्रोमा यी व्यापार र निजी स्वार्थको विषय बनाइएको छ, जुन किमार्थ सही होइन । संविधानमै यी विषय मौलिक अधिकारको रूपमा रहेको र आफूलाई कम्युनिस्ट सरकार र समाजवादोन्मुख राज्य भन्नेहरूका लागि त यो भयानक लज्जाको विषय हुनुपर्ने हो तर यी विषय राज्य सञ्चालक वा उनीहरूका प्रतिनिधिहरूका लागि प्रतिष्ठाको विषय बनिरहेको छ । त्यसैले यसमा उनीहरू बेलगाम व्यापार गरिरहेका छन् । विश्वका बुर्जुवाहरूले समेत शिक्षा, स्वास्थ्य, रोजगारलाई राज्यको दायित्व बनाइरहेको आजको सन्दर्भमा शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्यायका लागि जनताका पक्षमा काम गर्न नसक्नु राज्य सञ्चालकहरूका लागि अब सामान्य विषय रहेन । यो राज्यव्यवस्था असफलताको पराकाष्ठा हो, यो उनीहरूले लिएको दलाल संसदीय व्यवस्थाभित्रको राजनीतिक–वैचारिक खराबीका कारणले निम्त्याएको परिणाम हुन् । अब यसको विकल्पको रूपमा हामीले वैज्ञानिक समाजवादी व्यवस्था र त्यसलाई सफल बनाउने राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिको मुख्य आधारका रूपमा रहेको शिक्षालाई वैज्ञानिकीकरण गर्न जरुरी छ, जसलाई हामीले वैज्ञानिक समाजवादी शिक्षा भनेका छौँ ।

हामी सबै हिसाबले असफल भइसकेको दलाल संसदीय व्यवस्था र त्यसको आधारको रूपमा रहेको पुरानो शिक्षा प्रणालीको समूल नष्ट गरी राज्यव्यवस्थाको रूपमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था र यसको आधार संरचनाको रूपमा रहेको शिक्षालाई वैज्ञानिक समाजवादी शिक्षाको रूपमा ग्रहण गर्नुपर्दछ भन्ने मान्यताका साथ अघि बढिरहेका छौँ । त्यसैले हामी २१ औँ राष्ट्रिय सम्मेलनमार्फत् राष्ट्रको भौगोलिक, सामाजिक, आर्थिक आवश्यकता र बदलिएको विश्व परिवेश थेग्न सक्ने एउटा भर पर्दो विकल्पको रूपमा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको स्थापना र त्यसको आधार संरचनाको रूपमा वैज्ञानिक समाजवादी शिक्षाको स्वरूपबारे गम्भीर बहस गर्दै आइरहेका छौँ, जुन आज पनि जारी छ । हामीले सुरुआत गरेको यो बहसमा सबैको सहभागितामा देशको पुरानो शिक्षा प्रणालीलाई खारेज गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको सान्दर्भिकता र वस्तुगत आवश्यकताको उचाइलाई वैज्ञानिक ढंगले स्थापित गराउने नयाँ अभियानमा सबैले सामूहिक प्रयास गरौँ । यहाँ समाजवादी शिक्षाको वैज्ञानिक आधारको प्रारूप भनेर केही विषय नेपालको आवश्यकताको सन्दर्भमा छलफलको प्रयोजनार्थ ल्याइएको छ, जसलाई सबै वैज्ञानिक समाजवादी अभियानकर्मीहरूको साझा प्रयासबाट निष्कर्षमा पुर्याउन सकिनेछ ।

१. दृष्टिकोण निर्माणमा शिक्षा

आजसम्म हामीले लिँदै आएको शिक्षा विचार–दर्शनको हिसासबले हेर्दा बुर्जुवा दर्शनसँग जोडिएको शिक्षा हो । जसले मानिस जति धेरै शिक्षित र समृद्ध हुँदै जान्छ, ऊ त्यति नै स्वार्थी र व्यक्तिवादी हुँदै गइरहेको छ । मानिसले सबै विषयमा अंशबाट सोच्ने र समाधान पनि फुट्करमा खोज्ने निम्न पुँजीवादी चिन्तनसहितको चरम व्यक्तिवादी महत्वकांक्षासहितको जनशक्ति यो शिक्षाले उत्पादन गराइरहेको छ, जसले आफूभन्दा फरक क्षमता र निम्नस्तरको श्रमलाई श्रम नै भन्दैन । जसका कारण यो विस्तारै श्रमबाट कट्दै जाने र श्रमिक, मजदुरहरूको अपमान गर्ने प्रवृत्तिको रूपमा विकास भइरहेको छ, जसका कारणले पनि हामी र हाम्रो देशलाई यो स्तरको परनिर्भरता भोग्नु परिरहेकोमा अब कुनै शङ्का छैन । यसो हुनुमा मूलभूत रूपमा हाम्रो दृष्टिकोण निर्माण कसरी भयो भन्ने प्रश्न नै मुख्य हो । त्यसकारण हामीले अब निर्माण गर्ने शिक्षा प्रणालीमा विद्यार्थीको व्यापक दृष्टिकोण निर्माण गराउने गरी सोच्नुपर्दछ । विद्यार्थीले हरेक विषयलाई समग्रबाट सोच्ने र सामूहिक प्रयासबाट क्षमताको विकास र समस्याको समाधान खोज्ने समाजवादी दृष्टिकोण अबको समाजवादी शिक्षा प्रणालीमा हुनुपर्दछ । यसले मात्र समग्र मानवको भलाई र प्रतिनिधित्व गर्न सक्दछ । यसबाट मात्र हामीले कल्पना गरेको समानतामूलक राज्यको निर्माण र त्यसलाई आवश्यक पर्ने जनशक्तिको विकासमा मद्दत पुग्दछ, यसकारण पनि वैज्ञानिक समाजवादी शिक्षाभित्र कम्युनिस्ट (साम्यवादी) दृष्टिकोण निर्माणको पाटो मुख्य हो र हामीहरूले यसमा विशेष ध्यान दिँदै यसलाई पनि दुई भागमा बाँडेर पाठ्यक्रम बनाउनुपर्दछ :

(क) सामूहिकताको आधार निर्माण

हामीले हाम्रो पाठयक्रम बनाउँदा नै विद्यार्थीहरूको उमेर समूहका आधारमा पाठ्यक्रम बनाउन जरुरी हुन्छ, समाजवादी शिक्षा प्रणाली मूलतः सामूहिकतामा आधारित शिक्षा प्रणाली भएकाले यसका जराहरू मूलभूत रूपमा समाजसँग अभिन्नरूपले जोडिएको हुन्छ, यसकारण पनि हाम्रो प्रारम्भिक शिक्षाले हाम्रा बालबालिकाहरूको जगलाई सामूहिकतामा आधारित भएर निर्माण गराउन जरुरी हुन्छ । जसले भोलिको भविष्यलाई पनि अहिलेको जगमा टेकेर निर्माण गर्न सकोस् योगदान गर्न सकोस्, त्यसैले हाम्रो प्रारम्भिक शिक्षाले बालबालिकाहरूमा सामूहिकता निर्माण गर्ने वा समाजबाट सबै कुराको समाधान खोज्ने समाजवादी मान्यतालाई बल पुग्ने गरी सामूहिक खेल, उत्पादन र साझा जीवनबारेमा बल पुग्ने पाठ्यक्रम निर्माणमा ध्यान दिएर करिब माध्यमिक तहसम्मको पाठ्यक्रम बनाउनुपर्दछ, यसले मात्र निम्न पुँजीवादी दृष्टिकोणमा ठाउँमा समाजवादी दृष्टिकोण निर्माण र समाजवादको जग प्रदान गर्नेछ, जसले समाजवादलाई दिगो बनाउन काम गर्नेछ ।

(ख) कम्युनिस्ट दृष्टिकोण निर्माण

यो पाठ्यक्रमको निम्न माध्यमिक तहभन्दा माथिका विद्यार्थीहरूलाई हामीले हाम्रो आदर्श विचार कम्युनिस्ट विचारधाराबारेको ज्ञान दिनुपर्ने हुन्छ । जसका लागि माध्यमिक र उच्च माध्यमिक तहमा क्रमिक रूपमा हाम्रो विचारबारेको प्रारम्भिक र मध्यम हुँदै विश्वदृष्टिकोण निर्माण गर्न सक्ने खालको विश्वराजनीति र यसका सबै पाटा पक्षका विषय समेटेर पाठ्यक्रम तयार गरी व्यवस्थित अध्यापन गराउने गरी सोच्नुपर्दछ, यसले समाजवादको निर्माण र दिगो व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसले मानिसको सोच, चिन्तनमा आउने विचलन निम्न पुँजीवाद, व्यक्तिवाद र अराजकतावादलगायत सबैखाले खराब प्रवृत्तिका विरूद्ध लड्न सक्ने कम्युनिस्ट समाजको निर्माण र समाजवादलाई दिगो बनाउन खोज अनुसन्धानको काम पनि हुनेछ । यसले समाजवादको अपरिहार्यतालाई विश्वव्यापी बनाउन पनि मद्दत गर्नेछ ।

२. उत्पादनसँग शिक्षा

हामीले बहसमा ल्याउन खोजेको समाजवादी शिक्षा प्रणालीभित्र देशको क्षमता र आवश्यकलाई समेट्न सकिने गरी उत्पादनका मुख्य साधनका रूपमा रहेका राज्यका कृषिफार्म, उद्योग, कलकारखाना, खानी, जलविद्युत, पर्यटनलगायतका क्षेत्रसँग अभिन्न रूपले जोडिएको शिक्षा हुनुपर्दछ । विद्यार्थी पढ्दै गर्दा निश्चित उमेर र कक्षापछि विद्यार्थी र विद्यालयले आफ्नो स्थानीय आवश्यकलाई आफ्नै स्रोत र श्रमले पूरा गर्न सक्ने र विद्यालय तहको शिक्षापछि माथि उल्लेख गरिएका क्षेत्रसँग जोडिँदै आत्मनिर्भर हुने गरी पाठ्यक्रम निर्माण गर्न आवश्वक छ । यसरी उत्पादित जनशक्ति उत्पादनका सबै क्षेत्रमा जोडिँदा अहिलेको दलालीमा आधारित पुँजीलाई यो प्रक्रियाले विस्थापित गरी नयाँ समाजवादी उत्पादन प्रक्रिया स्थापित हुनेछ, यो प्रक्रियाले अहिलेको बेरोजगारी र गरीबी दुबैलाई सँगसँगै विस्थापित गर्दै श्रम र श्रमिकको सम्मान गर्ने राष्ट्र र मानव समुदायको आवश्यकतालाई पूरा गर्न सक्ने विशिष्टता हासिल गर्नेछ । यो शिक्षाले नै समाजवादको निर्माणमा पहिलो खुड्किलो हुनेछ । त्यसकारण समाजवादका पक्षधरहरूले उत्पादनसँग जोडिएको शिक्षालाई प्राथमिकतामा राखेर पाठ्यक्रम बनाउनुपर्दछ, जसका लागि यसलाई दुई भागमा छुट्याएर पाठ्यक्रम बनाइनेछ ।

(क) साधारण उत्पादन शिक्षा

समाजवादी पाठ्यक्रमले विद्यार्थीलाई विद्यालय जीवनको प्रारम्भसँगै उसलाई सामूहिकतामा आधारित उत्पादन (खोज) तर्फ डोर्याउनेछ, जस्तै सामान्य कलपुर्जाको मर्मत तथा खोज, सामूहिक खेती, पशुपालन, घरेलु र मौलिक उद्योगहरूको सञ्चालन र संरक्षण आदि पाठ्यक्रमका यी विषयले विद्यार्थीलाई उसको उमेर र कक्षाअनुसार सामान्यबाट विशिष्टतर्फ जान मद्दत गर्नेछ, जुन कुराले विद्यार्थीलाई श्रमसँग जोड्नुका साथै, निरन्तर जिज्ञासु र नयाँ खोजतर्फ उन्मुख बनाउनेछ ।

(ख) विशिष्टीकृत उत्पादनसँग शिक्षा

हामीले बनाउने पाठ्यक्रममा विद्यार्थीले निश्चित तहको शिक्षा हासिल गरिसकेपछि उसलाई उत्पादनका आधुनिक र विशिष्टीकृत चरणका सीप र अनुभव दिँदै नयाँ खोजका लागि प्रेरित गरिनेछ, जसले आफ्नो एक तहको अध्ययनपछि राज्यको आवश्यकतामा रहेर समाज र राष्ट्रको सेवामा आफूले सिकेको ज्ञान, सीप र अनुभव लगाएर राज्यका उद्योग कलकारखानामा उत्पादन र आविष्कारका काम गर्नेछन्, यसले जनशक्तिको क्षमताको प्रयोग र मानवीय आवश्यकता बिच लामो समयदेखि रहँदै आएको अन्तरविरोधको हल गर्दै क्षमताअनुसारको काम र कामअनुसारको दाम हुने समाजवादी मान्यताको सुरुआत पनि गर्ने भएकाले पुँजीवादी मुनाफाखोरहरूको अन्त्य गर्दै लुटको प्रतिस्पर्धा सकिने र मानिसलाई उसको क्षमताअनुसारका काम उसलाई आवश्यक पर्ने आवश्यकताअनुसारको व्यवस्थापन (साम्यवादी) प्रणालीको पनि सुरुआत गर्नेछ ।

३. राष्ट्रियतासँग शिक्षा

राष्ट्रियता भनेको एउटा भूगोल मात्र कदापि होइन, बरू यो त्यो भूगोलभित्रको जाति हो, जनसंख्या हो, भावना हो, सभ्यता, संस्कार, संस्कृति, मूल्य मान्यता सबथोक हो । यसलाई अंशमा बुझ्नु हाम्रो अल्पज्ञान हो, यही अल्पज्ञानका कारण हाम्रो राष्ट्रियता सधैँ विभाजित रहँदा हामीले धेरै कुरा गुमाएका छौँ । यसमा भूगोल गुमाएको कुरा पनि पर्दछ, विश्वभर नागरिकहरूमा राष्ट्रियताका सन्दर्भमा सन्तुलित बुझाई हुन नसक्दा देशको अस्तित्व नै सकिएका उदाहरण हाम्रोसामु प्रशस्त छन्, त्यसकारण हाम्रो शिक्षाले देशको भूगोल र भूगोलभित्र बस्ने जाति, क्षेत्र, लिङ्ग, धर्म सबैको भावनालाई समेट्न सक्नुपर्दछ । अहिलेको बुर्जुवा शिक्षाले यसबारे खासै ध्यान दिन सकिरहेको छैन, जसका कारण हामी राष्ट्रियता भनेको भूगोल मात्र बुझ्दछौँ तर आफ्नो आन्तरिक राष्ट्रियताका विषयमा बेखबरजस्तै छौँ । यसका ज्वलन्त उदाहरण हुन्– मधेसी, जनजाति, मुस्लिमलगायत अन्य समुदायको भाषा, भेषभूषा, संस्कृति आदि विषयसित सम्बन्धित राष्ट्रियताको सम्मान हुन नसक्नु । यसले हामीलाई भित्रैदेखि कमजोर मात्र बनाएको छैन, आपसमै विभाजित पनि गरेको छ, जसका कारण हाम्रो भूगोलसँग जोडिएको राष्ट्रियता खोसिँदा राज्यका केही अमूक जाति, समुदायको सरोकारको विषयजस्तो बन्ने गरेको छ । हालैका वर्षहरूमा चर्चामा आएका तर बर्षौंदेखि खोसिएको हाम्रो भूगोल लिम्पियाधुरा, कालापानी, लिपुलेक एवम् महेशपुर, सुस्तालगायत देशभर करिब ८३ स्थानमा सीमा हस्तक्षेप भोगिरहेका छौँ । यसमा समान धारणा नबन्नुमा हाम्रो राष्ट्रियताको परिभाषाले सबैलाई समेट्न नसक्नुको परिणाम हो । त्यसकारण पनि यी छुटेका राष्ट्रियतालाई समेटेर नयाँ पुस्तालाई शिक्षित र दीक्षित बनाउनु समाजवादी शिक्षाको अर्को महत्वपूर्ण पाटो र दायित्व हो । यसर्थ, यी विषयलाई हामीले अहिलेदेखि नै नयाँ पाठ्यक्रम बनाई विद्यार्थीमाझ लैजानुपर्दछ ।

(क) आन्तरिक राष्ट्रियतासँग शिक्षा

हामीले वैधानिक समाजवादी शिक्षाको पाठ्यक्रम बनाउँदा वा त्यो दिशामा काम गर्दा हाम्रो शिक्षामा जोड्नुपर्ने विषय हो, हाम्रो आन्तरिक राष्ट्रियताको सवाल । अहिलेको शिक्षाले समेट्न नसक्दा हाम्रो आन्तरिक राष्ट्रियता (जाति, भाषा, क्षेत्र) को सवाल कमजोर भएको छ, जसका कारण हामीले विभिन्न बहानामा आन्तरिक समस्या भोगिरहेका छौँ, यसले देशलाई कमजोर बनाउँदा बाह्य शक्तिले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको छ । यसको असर हामीले दैनिक जीवनमा भोगिरहेका छौँ । त्यसकारण अब समाजवादी शिक्षा प्रणालीभित्र तयार पारिने पाठ्यक्रममा हाम्रो आन्तरिक राष्ट्रियतालाई समृद्ध र जागरुक बनाउने गरी काम गरिनेछ, जुन हाम्रो प्रारम्भिक पाठ्यक्रमबाटै समेटिनेछ । यसले हाम्रो आन्तरिक एकतालाई मजबुत र समृद्ध पार्न सहयोग गर्नेछ ।

(ख) बाह्य राष्ट्रियतासँग शिक्षा

हामीले यो विषयअन्तर्गत विश्वमान चित्रको राजनीतिक नक्सासँग जोडिएको भूगोल र त्यससँग सम्बन्धित सवाल समेट्ने कुरा गरिरहेको छौँ । यसभित्र हाम्रो मिचिएको सिमाना, भूपरिवेष्ठित राष्ट्रले पाउने अधिकार र आफ्नो माटोसँग जोडिएका प्रश्नहरूको साझा उत्तर खोज्नेछौँ । हाम्रो शिक्षा आफ्नो माटोप्रतिको माया र गौरवलाई थप स्थापित गर्ने र आफ्नो जमिनको एक चिम्टी पनि नगुमाउने र अरूको एक चिम्टी पनि नलिने सहअस्तित्वको समाजवादी मान्यतामा टेकेर काम गर्न सक्ने स्वाभिमानी जनता तयार गर्नका लागि हुनेछ, जसले अहिले देखिएको सबैखाले हस्तक्षेप, विभेद र अतिक्रमणविरूद्ध आफूलाई उभ्याउनेछ र एउटा स्वाधीन राष्ट्रको रूपमा हाम्रो परिचय दिनेछ, जुन समाजवादी व्यवस्थाभित्र मात्र सम्भव छ ।

४. विज्ञान र प्रविधिसँग शिक्षा

वैज्ञानिक समाजवादी शिक्षाभित्र अहिलेको विज्ञान र प्रविधिलाई राष्ट्र र आम जनताको सेवा र सुविधाका लागि प्रयोग गर्ने गरी शिक्षामा समावेश गरिनेछ । न कि मुट्ठीभर मान्छेको सेवा र फाइदामा जुन आजको दलाल संसदीय व्यवस्थाले अहिलेको शिक्षामार्फत् आफ्ना सेवकहरू तयार पारिरहेको छ, यो पुँजीवादी मान्यता हो, जसले आफ्नो वर्गको हित र अकूत मुनाफाबाहेक केही सोच्दैन, आजको युग डिजिटल युग हो । एकीकृत भौतिक विज्ञानको आविष्कारले दुनियाँ मुट्ठीमा कैद गर्न सम्भव भएको विश्वपरिवेशमा हाम्रो शिक्षामा विज्ञान र प्रविधि पर्याप्त मात्रामा समावेश हुन सकेको त छैन नै, भएकोमा पनि त्यो जनता र राज्यको हितमा छैन, जुन दुःखलाग्दो विषय हो । त्यसकारण पनि देश र आम नागरिकलाई विज्ञान प्रविधिसँग जोडेर बाँकी विश्व बराबरको सेवा, सुविधा, खोज, योगदान र हाम्रो राष्ट्रिय हितमा जोड्न हाम्रो शिक्षामा विज्ञान प्रविधिलाई अनिवार्य गर्नुको साथै, यसको व्यावहारिक प्रयोग गर्न सक्ने गरी विज्ञान र प्रविधिलाई जोड्नुपर्दछ । यसले मात्र राष्ट्र र विश्वपरिवेशलाई अहिलेको आवश्यकताअनुसार राजनीतिक, आर्थिक, सामाजिक हिसाबले जोड्दै समानतामूलक विश्व निर्माणमा हाम्रो भूमिकालाई सार्थक बनाउनेछ ।

(क) प्रविधि बुझ्ने शिक्षा

अहिलेको हाम्रो शिक्षा फगत अरूका (साम्राज्यवाद) लागि गुलाम उत्पादन गर्ने मात्र भएको छ । यो शिक्षाले न अहिलेको प्रविधि बुझेको छ, न आफ्नो मौलिकता नै दिन सकेको छ । त्यसकारण पनि वर्षौंदेखि हाम्रा क्षमता प्रतिभाविना प्रयोग परीक्षण गुमनाम भएका छन् । हामी यसरी पछाडि पर्नुको कारण हो, हामीले आफूले त बनाएनौँ नै, अरूले बनाएको पनि राम्ररी बुझ्न सकेनौँ । त्यसकारण अबको वैज्ञानिक समाजवादी शिक्षाभित्र संसारको प्रविधि बुझ्ने र हाम्रो आफ्नो मौलिक प्रविधिलाई उन्नत र विस्तार गर्न पाठ्यक्रममै यी विषय सामान्यदेखि जटिल विषय क्रमिक रूपमा समेटेर हाम्रो शिक्षा पद्धतिलाई समृद्ध गरिनेछ, जसले दुनियाँ बुझ्न र बदल्न थप विकास गर्न मद्दत मिल्नेछ ।

(ख) नयाँ खोज गर्ने शिक्षा

समाजवादी शिक्षा प्रविधिमैत्री त हुने नै छ, त्योसँगै विश्व मानव समुदायलाई यो क्षेत्रबाट उत्पादन गरिएको वस्तुको समान वितरण गर्न सक्ने गरी तयार पारिनेछ । यसका लागि हामीले समाजवादको आधार तयार पार्दै गर्दा हाम्रो शिक्षाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ खोज र अनुसन्धानलाई प्राथमिकतामा राख्ने छ । यसका लागि राज्यले आफ्नो लगानीमा ठुला खोज अनुसन्धान केन्द्रहरूको विकास गर्ने छ, जसमार्फत् राज्यले जनताका सरोकार र आवश्यकतासँग जोडिएका विषयमा नयाँ खोज अनुसन्धान गरी विश्व समुदायलाई थप सुसंस्कृत र समृद्ध बनाउने दिशामा यो शिक्षा र पाठ्यक्रमले काम गर्नेछ ।

५. प्राकृतिक स्रोत र मानवीय क्षमतासँग शिक्षा

शिक्षाले हाम्रा प्राकृतिक स्रोत साधनको खोज, अध्ययन, अनुसन्धान गर्ने र हाम्रो भौतिक (जनशक्ति) तागतलाई त्यसमा प्रयोग गरेर राज्य र मानव समुदायको हितमा उपयोग गर्नका लागि सहयोग गर्ने अथवा त्यस बाटोमा बल पुर्याउने शिक्षा बनाउनुपर्दछ । उपर्युक्त विषय समेटिएको शिक्षाले मात्र हाम्रो अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्दछ । अहिलेको शिक्षाले न प्राकृतिक स्रोत साधनबारे खोजी गर्दछ, न सम्भावनाबारेमा नै । हाम्रा आवश्यकता र क्षमताबारेमा नै अलमल छ, जसको प्रभाव देशको हरेक क्षेत्रमा परिरहेको नै छ । त्यसकारण मानवीय क्षमतालाई हाम्रो प्राकृतिक स्रोत साधनसँग जोड्ने गरी हामीले निर्माण गर्ने समाजवादी शिक्षामा यसको भरपूर सदुपयोग गर्न सिकाउनुका साथै, हाम्रो मानवीय क्षमतालाई देशको आफ्नो आवश्यकतामा प्रयोग गर्न सकिने गरी समावेश गरिनु जरुरी छ, जसले सक्षम देश बनाउन मद्दत गर्नेछ, जसका लागि हाम्रो पाठ्यक्रममा वैज्ञानिक र प्रामाणिक विषयहरू प्राथमिकतामा राख्नुपर्दछ ।

(क) स्रोतको पहिचानमा जोड

हामीले हाम्रो पाठ्यक्रममा विद्यार्थीलाई निश्चित तहको आधारभूत शिक्षापछि देशको आवश्यकता र त्यस आवश्यकतालाई निरुपण गर्ने माध्यमका बारेमा सोच्न सिकाउने शिक्षा दिन जरूरी छ, जुन विषय अहिलेको शिक्षा समावेश नहुँदा हाम्रा सम्भावना र प्राकृतिक स्रोतहरू ओझेलमा परेका छन् । यसको फाइदा घुमाउरो रूपमा साम्राज्यवादीहरू वा उसका नेपाली दलालहरूले उठाइरहेका छन् । यसको सिधा असर देश र जनताले भोगिरहेका छन् । त्यसकारण यो समस्यालाई समाजवादको आधार निर्माणकै चरणमा पाठ्यक्रमकै विकासबाट हल गरिनेछ, जसले माथिको दलाल प्रवृत्तिलाई रोक्नेछ र हाम्रो स्रोत र साधनको व्यवस्थित परिचालनमा जोड दिँदै राष्ट्रको समग्र विकासको आधार निर्माण हुनेछ ।

(ख) स्रोत र जनशक्ति परिचालन

हामीले निश्चित तहको अध्ययनपछि विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई राज्य र समुदायमा आधारित कलकारखानाहरूमा विद्यार्थीहरूको प्राविधिक ज्ञान र हाम्रा प्राकृतिक स्रोतसँगै जोडेर व्यवस्थित उत्पादन र वितरण गराउने उच्च प्रकारको व्यवस्थापकीय कलासम्बन्धी पाठ्यक्रम निर्माण गरी प्रयोगमा ल्याइनेछ र जसको व्यवस्थित अध्ययन र प्रयोगले अहिलेको पुँजीवादी लुट ठाउँलाई सामूहिकता प्रयासमा आधारित समाजवादी प्रणालीका लागि मजबुत आधारको काम गर्नेछ ।

६. व्यायाम र स्वास्थ्यसँग शिक्षा

समाजवादभित्र हामीले हाम्रो जनशक्तिलाई शिक्षामार्फत् समाज र राष्ट्रका हरेक आवश्यकताको सम्बोधन गर्न सक्ने बनाउनुपर्दछ, जसका लागि जनताको राम्रो स्वास्थ्य अपरिहार्य छ । त्यसकारण स्वास्थ्य तथा शारीरिक शिक्षालाई पाठ्यक्रमसँग जोडेर प्रयोगात्मक शिक्षामार्फत् विद्यार्थीले पढाइको उत्तराद्र्धमा आफूलाई सबै हिसाबले सक्षम, निरोगी र आत्मविश्वासीका साथै, देशलाई आवश्यकता परेको बेला राष्ट्रिय सेनामा समेत सामेल रहेर काम गर्न सक्ने गरी जनशक्ति उत्पादन गर्नुपर्दछ । यसका लागि हामीले पढाइको प्रारम्भदेखि उत्तराद्र्धसम्मको स्वास्थ्य तथा शारीरिक क्रियाकलाप समेटेको पाठ्यक्रमलाई दुई भागमा विभाजन गर्न सक्तछौँ :

(क) चरित्र र स्वास्थ्यसँग शिक्षा

हामीले शिक्षाको प्रारम्भिक समयमा दिने सैद्धान्तिक र प्रयोगात्मक शिक्षाले हाम्रा विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा मद्दत गर्नेछ । यसका साथै, यसको व्यावहारिक प्रयोगले हाम्रा विद्यार्थीहरूमा सकारात्मक र गतिशील चरित्र निर्माण गर्ने छ, जसले दीर्घकालीन महत्व राख्नेछ । यसले समाजवादको भावी यात्रामा चरित्रवान् जनशक्ति प्रदान गरी देशको सर्वोपरि हितमा काम गर्नेछ । त्यसकारण हाम्रा सबै प्राथमिकदेखि विश्वविद्यालयका पाठ्यक्रम र त्यसको प्रयोग गर्न मिल्ने गरी विषयहरूलाई समेटेर काम गर्ने कुराको सुनिश्चितता वैज्ञानिक समाजवादी शिक्षाले गर्नेछ ।

(ख) सैन्य तालिमसँग शिक्षा

हाम्रो शिक्षाको व्यावहारिक प्रयोग विभिन्न क्षेत्रमा गर्नुपर्दछ तर मुख्य हामीले दिने र ग्रहण गर्ने शिक्षा हाम्रो राष्ट्रिय सुरक्षा र स्वाधीनताको रक्षा गर्नमा मद्दत गर्छ कि रमिते बन्दछ भन्ने कुराले निर्धारण गर्ने हुनाले सबै जनता देशको अस्तित्वको सवालमा सबै हिसाबले एकजुट हुन सक्ने त्यो सैन्य हिसाबले पनि हुनुपर्दछ । यसका लागि निश्चित उमेरपछि विद्यार्थीहरूलाई एउटा निश्चित कोर्स बनाएर सैन्य क्षेत्रको सैद्धान्तिक र व्यावहारिक तालिमको व्यवस्था गर्न सक्दा मात्र समाजवादलाई दिगो र व्यापक बनाउने कुरामा बल पुग्न सक्ने भएकाले यो हाम्रो पाठ्यक्रममा अनिवार्य राखेर विद्यार्थीहरूलाई प्रशिक्षित गर्न जरुरी छ ।

निष्कर्ष

राज्यका पुराना मूल्य मान्यताको आधारमा वर्गविभाजन गराउने मुट्ठीभर शासकहरूको जयजयकार र दलाली गर्ने दलाल पुँजीवादी व्यवस्थाको जगका रूपमा रहेको अहिलेको असमान र अवैज्ञानिक तथा अनावश्यक शब्द र सूत्रजालमा जकडिएको शिक्षाको विकल्प हो । वैज्ञानिक समाजवादी शिक्षा, जहाँ मानवले आफ्नो सम्पूर्ण क्षमता मानव समुदायको हितमा लगाउँछ र आफ्नो सम्पूर्ण आवश्यकता त्यही समाजबाट प्राप्त गर्दछ । यस्तो वैज्ञानिक समाजको आधार निर्माण गर्न सक्ने शिक्षा नै वैज्ञानिक समाजवादी शिक्षा हुन सक्दछ । त्यसकारण हामी सबै कम्युनिस्ट क्रान्तिकारी युवा विद्यार्थीहरूले समकालीन मक्किएको दलाल संसदीय व्यवस्थाको समूल नष्ट गरेर त्यसको विकल्पमा समानतामूलक राज्यप्रणाली वैज्ञानिक समाजवादका लागि सङ्घर्ष गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट खोज, अनुसन्धान र वैज्ञानिक प्रयोगका लागि समर्पित गरौँ । यी कुराको जग वैज्ञानिक समाजवादी शिक्षाले मात्र निर्माण गर्दछ । त्यस यात्रातर्फको यो पहिलो कदम भएकाले यसको वैज्ञानिक प्रयोग र पुष्टिका लागि व्यापक छलफल आवश्यक छ, जसका लागि सङ्गठन सबैमा अपिल गर्दछ ।

(लेखक :  अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव हुन्)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :