पुस ७ : लोकमान प्रवृत्तिविरुद्ध धावा बोलेको दिन

पुस ७ : लोकमान प्रवृत्तिविरुद्ध धावा बोलेको दिन

सङ्गठनको कार्यालयबाट फोन आयो,‘कमरेड कता हुनुहुन्छ ?’ जबाफ फर्काएँ, ‘बिहान काठमाडौँ पुगियो ।’ ‘कमरेड, दिउँसो एक बजेतिर कार्यालय आउनुहोला भन्ने छ’, कार्यालयको ताकेताले केही महत्वपूर्ण सन्दर्भ हुनुपर्छ भन्ने अनुमान लगाएँ । दिउँसो करिब १२ः३० बजे कार्यालय बागबजार पुग्दा सङ्गठनका अध्यक्ष पूर्णबहादुर सिंह, उपाध्यक्ष लालबहादुर तामाङलगायत हुनुहुँदो रहेछ । कोही पुग्दै हुनुहुन्थ्यो । केहीबेरपछि छलफल सुरु भयो । भोलि७ गते उपत्यका पार्टीको बन्द छ । त्यसमा हामीले सङ्गठनका तर्फबाट सहयोग गर्ने कुरो छ । रत्नपार्क, दरबारमार्ग, जमल, असन, सुन्धारा, डिल्लीबजारलगायत ठाउँ हाम्रो जिम्मा छ । साथीहरू सबै बिहानै जिम्मेवारीपूर्वक तोकिएको स्थानमा जाने र गाडीहरूलाई सम्झाएर उपत्यका बन्दबारे जानकारी दिने कुरा भए । हामीलाई रत्नपार्क तोकिएको थियो । कार्यक्रमका हिसाबले उपत्यका मेरा लागि नयाँ थियो । पार्टीका केन्द्रीय सभा, प्रदर्शनहरूमा त पहिले पनि सहभागी थिएँ तर काठमाडौँ उपत्यका कार्यक्षेत्रपछिको प्रत्यक्ष सहभागिता पहिलोजस्तो थियो । धेरै नापजोख गर्नुपर्ने त थिएन तर पनि कस्तो होला त भन्नेचाहिँ लागेकै थियो । साथीहरू सुनाउँथे— केही वर्षयता हाम्रा बन्दहरू खासै प्रभावकारी भइरहेका छैनन् । बिहान मात्र हो, दिउँसो सबैले गाडी, पसल खोलिहाल्छन् आदिइत्यादि । भोलिको कार्यविभाजनपछि बैठक सकियो ।

लेखक : प्रकाश शाही

कार्यालयमा भीडभाड थियो नै, त्यसैबीच मलगात तीनजना साथीहरूलाई अर्को कोठामा बोलाइयो । तपाईंहरू यता आउनुहोला है काम छ, पूर्ण दाइले भन्नुभयो । हामी साथीहरूसँग गफमा थियौँ । म छोडेर अर्को कोठाभित्र छिरेको मात्र थिएँ, असल दाइलाई देखेँ । सलाम दाइ भन्दै हार्दिकता आदान–प्रदान भयो । त्यहीबीचमा पूर्ण दाइ,सङ्गठनका फ्र्याक्सन इन्चार्ज रवि दाइलगाएत छिर्नुभयो । सहयोद्धा साथीहरू चन्द्र बुढा र दीपेन्द्र गौतम पनि हुनुहुन्थ्यो । दाइहरू मुखामुख गरेर पूर्ण दाइले सोध्नुभयो, ‘साथीहरू, एउटा काम गर्नुपर्नेछ, गर्ने भए भन्नुपर्यो, नत्र किन कुरा गर्नू !’ पूर्ण दाइ अलि सोझै कुरा राख्ने मान्छे । ‘प्रकाशले के छ, भन्नु त ?’ भनेर प्रश्न गर्नुभयो ! मैले ‘हुन्छ, गर्ने नि’ भनेँ । सङ्गठनको कामकै लागि त यहाँ आ’को भनेँ । अरू साथीहरूले पनि गर्ने भनेपछि विषयको बेलीविस्तार लगाइयो । भोलि ७ गते सर्वोच्चमा लोकमान कार्की मुद्दामा सुनवाइ हुँदैछ । ऊ त्यहाँ आउँदैछ । पार्टीको भ्रष्टाचारविरोधी आन्दोलनको केन्द्रीय नीतिअनुसार काम गर्नुपर्ने भयो । के हुन्छ, भन्नु त साथीहरू ? सबै कारबाही गर्ने विषयमा सहमत भयौँ । गर्ने तर के ? सामाजिक कारबाही कालोमोसो दल्ने भन्ने भयो ।

त्यति बेला देशमा लोकमान आतङ्क थियो । नुनदेखि सुनसम्मका काममा अख्तियार लगाउने धम्की दिन्थे उनी । हिजो राजाको आशीर्वादबाट जागिर खाएर राजाको प्रत्यक्ष शासनकालमा हर्ताकर्ता भए । उच्च तहका हाकिम पनि भए । २०६२÷०६३ को जनआन्दोलन दबाउन भूमिका निर्वाह गरेका खलनायक थिए उनी । त्यस्ता व्यक्तिलाई गणतान्त्रिक सरकारले अख्तियार प्रमुखजस्तो संवैधानिक अङ्गमा नियुक्ति दिनु आफैँमा ठूलो विरोधाभास थियो । मान्छेहरू भन्ने गर्दथे— उनको नियुक्तिमा भारतीयहरूको हात छ । सायद यस्तै केही थियो । उनी आफ्ना सबै विरोधीहरूलाई अख्तियारको डन्डाले तर्साउने दाउमा थिए । यो हर्कतले आमनागरिकदेखि उनलाई नियुक्त गर्न स्वीकृति दिने प्रमुख भनिएका दलसम्म आजित थिए । त्यसैले उता संसद्मा लोकमानमाथि महाभियोगको प्रस्तावका लागि हस्ताक्षर सङ्कलन हुँदै थियो । समय यस्तैयस्तै थियो ।

साथीहरूसित हुन्छ त भनियो तर मनमा भावनाको उद्वेलना पैदा भयो । अरूलाई त थाहा थिएन होला तर पूर्ण दाइलाई थाहा थियो, भाइको भर्खर बिहे गरेको कुरा । यो के गरेका होलान् जस्तो पनि भयो ! बिहे गरेको साता दिन हुँदैछ । आफूसँगै बिहे गरेका दुनियाँ हनिमुन भन्दै सेल्फी पोस्ट गर्दैछन् । आफूलाई भने जीवन–मरणको जिम्मेवारी आइलाग्यो जस्तो भयो । मनमा सङ्कटको अवस्था पैदाजस्तो भयो ।

हामीले नगरे कसले गर्छ त ? आफैँलाई प्रश्न गरेँ । उता रञ्जु (श्रीमती) लाई भोलिको कार्यक्रम (उपत्यका बन्द) पछि कोठा सर्ने भनेर सल्लाह गरिएको छ तर जिम्मेवारीको कामको प्रकृति हेर्दा कोठा सर्ने त के जिउँदो पनि फर्कने हो कि होइन, ठेगान छैन भन्ने लाग्यो । एकपटक घर सम्झिएँ । श्रीमती सम्झिएँ । बुबामुमा सम्झिएँ । शरीरभरि बरर काँडा उम्रियो । अनि मनमनै भनेँ— आखिर हामी यसैका लागि त हौँ । अहँ मैले धेरै भावुक हुनु हुँदैन । मुख्य कुरा विचार–दृष्टिकोणको हो । हामीले नगरे कसले गर्ने ? एकपटक महान् सहिद गङ्गालाल, दशरथ, शुक्रराज, धर्मभक्त माथेमा सबैलाई सम्झिएँ । हामीले गर्नुपर्छ भन्ने भयो । आखिर इतिहास यत्तिकै बन्ने कुरो पनि त होइन । आफूलाई सम्झाएँ । दाइहरूले सुनाउँदै गरेको कुरामा ध्यान दिएँ । सर्सती योजना ब्रिफिङ भयो । त्यहाँबाट हामी निस्कियौँ । बिहानैदेखि काममा लाग्नु थियो । कोठा टाढा भएकाले साथीहरू सुन्धारा बस्ने कुरा भयो । म भने बिहान सात बजे पुग्ने भन्दै छुट्टिएँ र लागे कोठातिर ।

बाटोभरि मनमा कुराहरू खेले । अनेक कुराहरू आए तर काम गर्नुपर्छ भन्नेमा दृढ नै रहेँ । अर्को कोठा खोज्दै गरेकाले बसाइ व्यवस्थित थिएन। साँझको खाना खाइयो । कामको जिम्मेवारीले हो वा के हो, खासै केही बोल्न मन लागिरहेको थिएन । मन कता–कता गइरहन्थ्यो । रञ्जुले के भयो, किन नबोलेको भनिरहन्थिन् । म भने त्यस्तो केही होइन, हल्का टाउको दुखेको जस्तो भएको छ भनेर पन्छिन खोज्थेँ तर मनमा अनेक कुराहरू खेली नै रहेका थिए । सोचेँ, विवाहअघि जस्तो छैन, विवाहपछिको जीवन भन्ने लाग्यो । आफैँभित्र अनेक सवाल–जबाफ चल्दाचल्दै खै कति बेला निदाइयो, पत्तै भएन । बिहान ५ः३० बजेको मोबाइल अलार्मले ब्युँझायो । ७ बज्न डेढ घन्टा समय भएकाले धेरै हतार त थिएन तर दिउँसो के हुने हो भनेर मन साह्रै बेचैनजस्तो लाग्दै थियो । सबै काम हतार–हतारजस्तो लाग्ने भइरहेको थियो । बन्द बिहान ६ बजेदेखि थियो । श्रीमतीलाई स्कुटीमा नारायणहिटीछेउको जय नेपाल हलसम्म छोड्न भनियो । फेरि पनि बाटैभरि मनमा अनेक तर्क–वितर्कका छालहरू उठिरहे जुन स्वाभाविक पनि थियो ।

मन गाँठो पारेर पैदलै सुन्धारा साथीहरूकहाँ पुगेँ । मनमा कुतूहल थियो— के होला ? कसो होला ? चिया पिएपछि सल्लाह भयो । काम त गर्ने तर कसरी र कसले गर्ने ? सबै स्तब्ध भइयो । कोही बोल्दैनन् त । मैले बोली खोलेँ— के हुन्छ त कमरेडहरू ? कसले गर्ने हो काम ? फेरि सन्नाटा छायो । त्यत्तिकैमा चन्द्र कमरेडले भन्नुभयो, ‘आफ्नो त हाइटले नै पुग्दैन । लोकमान अजङ्गको छ ।’ एकछिन हाँसो पनि भयो । दीपेन्द्र कमरेड पनि बोलेनन् । सायद उहाँलाई मैले गर्नु पर्दैन नै भन्ने थियो होला । त्यसपछि मैले भनेँ, ‘ठीक छ त्यसो भए मै गर्छु नि त ! मेरो मिल्छ सबै ।’ त्यसपछि सबैको मुहार उज्यालो भएजस्तो लाग्यो । हाँसो पनि गरियो । अब काम त गर्नु छ तर कसरी गर्ने, कसरी जाने, कसरी सामान लाने अनेक विकल्पबारे कुराहरू भए । त्यसपछि एउटा टुङ्गोमा पुगियो ।

उता घडीले १० बजाउँदै थियो । सबैले खाना खायौँ अनि हिँडियो योजनामुताबिक सिंहदरबार सर्वोच्च अदालततिर । केही सामग्री किन्नु थियो । सर्वोच्च जाँदा प्रशिक्षार्थी वकिल भन्ने कुरोअनुसार डायरी, पेनलगायत किनियो । बाटो सुनसान थियो बन्द भएकाले । सबैतिर पुलिस प्रशासनको बाक्लो तैनाथी थियो । बाटो हिँड्नेले अलि घोरिएर हेर्दा पनि सबै थाहा पायोजस्तो हुने भयो । सायद मनको बाघले खाने भनेको त्यही हुनुपर्छ । यसरी सर्वोच्च परिसर त पुगियो तर भित्र कसरी छिर्ने भन्ने विषयमा सल्लाह भयो । नेपाल बार एसोसिएसनको कार्यालयभित्रको गेटबाट छिर्ने सल्लाह भयो । सोहीअनुसार सरासर भित्र छिरियो तर गेटको पुलिसले छिर्न दिएन । उनले कता यता आ’को, यताबाट त लोगो चाहिन्छ भने । ‘पहिलो गाँसमै ढुङ्गो’ भनेजस्तै भयो । फेरि सल्लाह गरेर मेन गेटबाट छिर्ने भन्ने भयो ।

कमरेडहरू आफन्तको पेसी छ भन्दै छिर्नुभयो । म भने वकिलको विद्यार्थी हुँ, यहाँ सरले बोलाउनुभएको छ भनेर सजिलै छिरेँ । भित्र चहलपहल बेग्लै थियो । सायद बाहिरको बन्द र भित्र लोकमानको मुद्दामा हुने भनिएको बहसले हुनुपर्छ, आज केही हुँदैछ भन्ने प्रतीत हुन्थ्यो । त्यतिन्जेल १ बजिसकेको थियो । बिस्तारै क्यामेराधारी फोटो पत्रकार, पत्रकार र वकिलहरूको उपस्थिति पनि बाक्लिँदै गयो । ‘कति बेला आउने रे लोकमान’ नेपथ्यमा यस्तैयस्तै आवाजका प्रश्न आउँथे । हराउँथे । कोही भन्थे— माथि बेन्चमा लोकमानकै मुद्दामा बहस हुँदैछ । सकिएपछि बुझ्न मात्र आउँछ क्या त्यो ! यस्तैयस्तैबीच माथि बहस सकियो भन्ने हल्ला आयो । फेरि चहलपहल बढ्यो । पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, वकिल, न्यायाधीश सबैका मुखमा जताततै लोकमान नै लोकमान थियो । मानौँ ती नायक हुन् । सबै उनको एक झलक दर्शन पाउन लालायित छन् । लोकमान हामीले पनि रेडियो, टेलिभिजनमा सुने–देखेको नाम । सक्रिय राजतन्त्रका बेलाका एक शक्तिशाली माथिल्लो तहका कर्मचारी, जनआन्दोलन दबाउन राजालाई उकास्ने, राजाका नजिकका सहयोगी र लोकतान्त्रिक आन्दोलनप्रति अनुदार मान्छे । तिनै मान्छे अवकाशपछि कारबाही हुनुपर्नेमा शक्तिकेन्द्रको चलखेलका कारण अख्तियार प्रमुख भए । यी केही विरोधाभासले उनी सबैको नजरमा थिए ।

सबै आयो–आयो भन्दै गेटतिर सोझिए । हामी पनि सतर्क रह्यौँ । आङभरि काँडा उम्रिए । शरीर तातेर आयो । गाडी मूल गेटबाट भित्र पस्यो । हल्लाखल्ला मच्चिँदै थियो । पत्रकारहरू क्यामेरा निकाल, स्ट्यान्ड निकाल भन्दै थिए । यत्तिकैमा गाडी रोकियो । अगाडिको ढोका खुल्यो । ढोका खुलेसँगै निस्कियो भीमकाय शरीरसहितको राजसी ढाँटको लोकमानसिंह कार्की । लाग्थ्यो, त्यहाँ उपस्थित सबै उसको स्वागतमा उभिएका छन् । क्यामेराको फ्ल्यासले सबैतिर उज्यालो छाएको थियो । लोकमानका डोबहरू मुद्दाफाँट कार्यालयको कोठा नम्बर आठको ढोका नजिक गएर रोकिए ।

अख्तियार प्रमुख भएपछि उनले गरेका काण्ड र गतिविधिले उनलाई सिफारिस गर्ने संसद् नै महाभियोग लगाउने तयारीमा थियो भने सर्वोच्चको पटकपटकको निर्णय अवज्ञा गरेकाले उनी कति बदनाम र चर्चित थिए भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । यी यावत् कारणले पनि पत्रकारलगायत सबैको ध्यान उनीतिर थियो । भनौँ, यस्तो मानिससँगको पहिलो भेट र कारबाही कस्तो होला भन्ने कुराले रोमाञ्चित नै थियौँ । समय अघि बढिरहेको थियो । करिब सवा चार बज्दै थियो । यत्तिकैमा कमरेड चन्द्रको मोबाइलमा घन्टी बज्यो । उहाँले फोन उठाउनुभयो । फोन काटेपछि कमरेडको मुख मलीन भयो । मैले सोधेँ, ‘के भयो कमरेड ?’ ‘खै सर के हो, नगर्ने रे ! कसले जिम्मा लिन्छ भन्ने छ रे माथिको’ भन्नुभयो । झन् तनावमाथि तनाव थपियो । सोचेँ, के होला यस्तो कसले फोन गर्यो त ! फेरि यो त कसैलाई जानकारी थिएन । कसरी नगर भन्छन् त । सोचेँ, पूर्ण दाइ हो ? होइन भन्ने लाग्यो । को रहेछ, माथिको भनेपछि कोही होला भन्ने लाग्यो अनि फेरि सोचेँ, यस्तै केही भएर होला खारा हारेको । प्रभाकरको एउटा, नन्दकिशोर ‘पासाङ’ को अर्को बुझाइ भएका कारण लडाइँ हारियो भन्ने सुनाउनुहुन्थ्यो अग्रजहरू । यस्तै केही भएर होलाजस्तो लाग्यो । मनै खल्लो भयो । ठग्न चाहेको भए ठूलो बहाना थियो त्यो फोन हाम्रा लागि तर गर्नुपर्छ भनियो । त्यसमै दृढ भइयो र गरियो पनि तर मनमा लाग्यो यति गोप्य भनिएको विषय कसले फुस्काएछ त ! पछि फेरि कमरेड चन्द्रले होइन, गर्ने रे भन्नुभयो । ठीक छ भनियो । म नयाँ भएकाले पार्टीसँग सम्पर्क थिएन । त्यो सम्पर्कको काम कमरेडहरूले गरिरहनुभएको थियो । साथीहरूको माथिको भनिएको र साथीहरूको हाउभाउ देख्दा लाग्थ्यो, माथि केही इगोको समस्या छ । यो केही बुझ्ने अवसर पनि थियो त्यो घटना । घरिघरि कोठाबाट फोन आउँथ्यो । कति बेला फर्कने ? ५ बज्न लाग्यो, बेला भएन आउने ? म भने अब केहीबेरमा आउने हो भन्दै टार्थें । लाग्थ्यो, अबोध मान्छेलाई के थाहा केही समयपछि उसको श्रीमान्को हालत के हुने भनेर मन भारी हुन्थ्यो ।

हामी दूरी मिलाएर बसेका थियौँ; पुछारमा दीपेन्द्र, बीचमा चन्द्र र अगाडि म । त्यत्तिकैमा प्रधानन्यायाधीश सुशीला कार्की पनि बाहिरिने बेला भयो । सुरक्षा चहलपहल बढ्यो । एकछिनमा सबैजसो न्यायाधीशहरू बाहिरिए । केही समय सुनसानजस्तो भयो । अब उपस्थित पत्रकारहरू पनि बिस्तारै बाहिरिन थाले । ऊ (लोकमान) आउँदैन । घडीले करिब ५ बजाउँदै थियो तर फेरि सुनियो, लोकमान हिँड्यो रे टङ्गालबाट । फेरि सर्वोच्चको गेट छेउछाउ पुगेका सञ्चारकर्मीहरू फर्किए । चहलपहल बढ्यो । पत्रकारहरू क्यामेरा तयार पार्दै थिए । सुरक्षाकर्मी सतर्क हुँदै थिए भने कर्मचारीहरू हतारहतार भित्र–बाहिर गर्दै थिए । लोकमानको कामको सहजताका लागि म मनमनै सोच्दै थिएँ— यी कर्मचारीहरू एउटा गरिबको मुद्दाको यही प्रकृतिको सुनवाइ र कार्यालय समयपछिको गरिब सेवाग्राहीको उपस्थितिमा यही प्रकारको सक्रियता देखिन्थ्यो त ? पक्कै देखिन्थेन । बुर्जुवाहरू जोसुकै हुन्, हाकिम होस् कि पीएन, आखिर सबै शक्तिका पुजारी न हुन् । शक्तिका अगाडि सबै खुला छ बिकाउ बजारको सामानजसरी कार्यालय समयपछि पनि । यत्तिकैमा सेतो गाडी प्रहरीको लावालस्करसहित सर्वोच्चको मूल गेटमा झुल्कियो । सबै आयो–आयो भन्दै गेटतिर सोझिए । हामी पनि सतर्क रह्यौँ । आङभरि काँडा उम्रिए । शरीर तातेर आयो । गाडी मूल गेटबाट भित्र पस्यो । हल्लाखल्ला मच्चिँदै थियो । पत्रकारहरू क्यामेरा निकाल, स्ट्यान्ड निकाल भन्दै थिए । यत्तिकैमा गाडी रोकियो । अगाडिको ढोका खुल्यो । ढोका खुलेसँगै निस्कियो भीमकाय शरीरसहितको राजसी ढाँटको लोकमानसिंह कार्की । लाग्थ्यो, त्यहाँ उपस्थित सबै उसको स्वागतमा उभिएका छन् । क्यामेराको फ्ल्यासले सबैतिर उज्यालो छाएको थियो । लोकमानका डोबहरू मुद्दाफाँट कार्यालयको कोठा नम्बर आठको ढोका नजिक गएर रोकिए ।

कोठाभित्रका कर्मचारी असिनपसिन भएर ढड्डा पल्टाउँदै थिए । बाहिर भीडभाड अझ बढ्यो । लोकमान साउथ हिन्दी फिल्मको भिलेनको शैलीमा कलम निकालेर ढड्डा हेर्दै थियो । ती यावत् हर्कत झ्यालबाट नियाल्दै गरेको म बाहिरको भीडलाई कभर बनाएर ढोकामा रहेको उसको निजी रक्षाकवचलाई हुत्याउँदै कोठाभित्र पसेँ र उसको ज्यादतीविरुद्धको साङ्केतिक कारबाहीस्वरूप कालोमोसो उसको अनुहारमा पोतिदिएँ । शरीरमा उत्पन्न भएका आवेगका छालहरू रोकिए । उसको वरपर गम्भीर सन्नाटा छायो । ऊ एक्कासि चिच्यायो : ‘बचाऊ !’ केहीबेर अघिसम्मको उसको फुर्तीफार्ती र अजङ्गको जिउडाल अनि मिडिया आउने हाउगुजी र त्यस बेलाको लोकमान साह्रै टीठलाग्दो, रुझेको बिरालोजस्तो देखिन्थ्यो । त्यहाँ सबै निरीह भएजस्तै लाग्थ्यो । उसका नौनाड़ी गले । उसलाई सुरक्षाकर्मीहरूले भित्र लुकाए । म भने बाहिर निस्किएर नारा लगाएँ— जनान्दोलनका हत्यारा लोकमान मुर्दावाद ! भ्रष्ट लोकमानलाई कारबाही गर ! नेकपा माओवादी जिन्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद ! माथिका दुई नाराहरू लगाउँदासम्म सबैले मुर्दावाद भनेजस्तो लाग्थ्यो । पछिका नाराहरूमा म एक्लैजस्तो भएँ । क्यामेराका फ्ल्यासहरू सबै म भएतिरै सोझिए । साह्रै हुलमूल थियो । लाग्थ्यो हलिउडको कुनै फोटो सेसनमा छु म । कतिबेला कार्यालयको बरन्डाबाट तल आँगनमा पुगेछु, थाहा नै भएन ।

कसैले भन्दै थियो— सुट गर, सुट गर । अर्कोले भन्यो— यो अदालत परिसर हो । हल्ला चल्यो लोकमानलाई कालोमोसो दलियो । मलाई चारैतिर पुलिसले घेरेका र समातेका थिए । एकछिनमा चन्द्रलाई पनि समायो । यसरी हामी समातियौँ । दीपेन्द्र हुलमूलमा निस्किएछन् । प्यासले मुख सुकेर प्याकप्याक भइरहेको थियो । हामी दुवैका हातमा हत्कडी लगाइयो । सबै मान्छे अवाक् थिए । के भयो ? कसरी भयो ? प्रश्नहरू सोधिँदै थियो । एकछिनमा लोकमान निस्कियो । क्षणभरमै संसारभर समाचार बज्यो— लोकमानसिंह कार्कीलाई सर्वोच्च परिसरमै कालोमोसो दलियो । नेपाली जनताले राहत महसुस गरे होलान् । लोकमानको त्यो ज्यादतीविरुद्धको कारबाहीको खबरले आकाश उचालेको थियो तर हामी भने प्रहरी कस्टडी टेकुमा पुग्यौँ । केहीबेरमा लोकमानले १५०० शब्द जतिको विज्ञप्ति जारी गर्दै घटना संसद्वादीहरूले गराएको भन्दै समय आएपछि सबैको एकएक हिसाबकिताब गर्ने र सबै संसदीय पार्टी र नेताहरूको रहस्यको धोती खोलिदिने बेहोराको धम्कीपूर्ण भाषामा आफ्नो धारणा सञ्चारमाध्यममा प्रसारण गराए जसले बुर्जुवाहरूको क्याम्पमा ठूलै खैलाबैला मच्चाइदियो ।

यता मेरा लागि हिरासतको अनुभव नयाँ थियो । हिरासतमा खचाखच मान्छेहरू थिए । त्यसमा उमेरका हिसाबले १८ देखि ४० वर्षका थिए धेरै । दैनिकजसो नयाँ मान्छे थपिन्थे त्यहाँ । जग्गा दलालदेखि मिर्गौला तस्करसम्म, जँड्याहादेखि भरियासम्म, हत्यारादेखि लागूपदार्थ कारोबारीसम्म थिए । त्यो हुलमा हामी पनि मिसिएका थियौँ । टेकु हिरासतमा टेलिभिजन हेर्ने सुविधा भएकाले हाम्राबारे सबैजसो जानकार थिए । हामीलाई त्यहाँ बस्न सजिलै भयो । १९ दिनको हिरासत बसाइमा बसौँ पढेर गर्न नसकिने अनुभव र शिक्षा लिने अवसर मिल्यो । मानिसहरू हिरासत पुग्नुका आआफ्नै कारण हुन्छन् तर ती बसाइले सुखदुःखका साथी चिन्ने अवसर दिँदो रहेछ । हाम्रा लागि हिरासतको बसाइ त्यस्तोविधि गाह्रो थिएन र भएन पनि । भित्रका पुलिस तथा कैदीबन्दीहरूले सम्मान नै गर्दथे । अझ भेटघाटमा आउने साथीभाइको सहानुभूतिले क्रान्ति र आन्दोलनप्रति अझ हौसला मिल्थ्यो । बेलाबेला सर्वोच्च गइरहनुपर्ने, त्यहाँ भेटघाट हुने अधिवक्ताहरू, प्रहरीप्रशासन, कर्मचारीहरूको हामीप्रतिको सहानुभूति र सदाशयताले खुसी लाग्थ्यो । साँच्चै देश उकुसमुकुसमा रहेछ । मान्छेहरूले दलालहरूको विकल्प खोजिरहेका छन् भन्ने अनुभूति हुन्थ्यो । आफूले गरेको काममा गर्व लाग्थ्यो र सोच्ने गर्दथेँ— मानिसहरू एउटा नायकको पर्खाइमा छन् जो देश, जनता र मान्छेको जीवनसँग साक्षात्कार गर्न सकोस् र यो दलाल राज्यव्यवस्थाको विकृत चित्रलाई बदलोस् । यो अनुभूति हिजो पनि थियो र अहिले पनि गहिरो गरिरहेको छु । हाम्रो मुद्दा सर्वोच्च अदालतमा थियो । हामीमाथि अदालतको अवज्ञा गरेको आरोप थियो । यसमा हाम्रो कुनै गुनासो थिएन ।

लोकमानलाई कारबाहीको बेला अदालत परिसर पर्नु संयोग मात्र थियो । यो कुनै योजनाको विषय नभएकाले हामीले सर्वोच्चको बेन्चमा यसैअनुसार आफ्नो बयान दियौँ । आदरणीय वरिष्ठ अधिवक्ता, जनयुद्धमा काठमाडौँबाट बेपत्ता तत्कालीन विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य विपीन भण्डारीका बुबा एकराज भण्डारी, अधिवक्ता कपिल पोखरेल, कान्ति ढुङ्गानालगायत एक दर्जन अधिवक्ताले लामो बहस गर्नुभयो र हाम्रो विषय सुनेपछि न्यायाधीशद्वय अनिल सिंह र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले फैसला गर्यो । हामीमाथि एक महिनाको जेल सजाय तोकियो म र चन्द्रलाई काराबासका लागि । सुन्धारामा रहेको मलाई केन्द्रीय कारागार र चन्द्रलाई भद्रगोल चलान गरियो । हाम्रा लागि कारागार बसाइको अनुभव पनि नितान्त नौलो थियो । हामी आउने हल्ला दिउँसै चलेको रहेछ । म जेलमा छिरेँ । जेलभित्रका केदैबन्दीको आफ्नै प्रशासन हुँदो रहेछ । मलाई जेलको आन्तरिक प्रशासनले माथि लग्यो र जेलभित्रका नियमहरूबारे जानकारी दिइयो ।

लाग्थ्यो, नयाँ मुलुकमा छु ।सबै कुरा बुझेझैँ गरिदिएँ। अब जेलभित्र पुगियो ।मानिसहरूको भिडभाड थियो । ७०० क्षमताको जेलमा १७०० मानिसहरू थिए । भाइनाइकेको सहयोगमा मलाई भित्रको सबै वातावरणबारे जानकारी र अनुगमन गराइयो । भाइनाइके संयोगले मेरै गाउँले भाइ रहेछन् । उनी लागूपदार्थको मुद्दामा कैदसजाय भोग्दै रहेछन् । उनको मद्दतले मेरो बसाइ अलिक सजिलो भयो । धेरै मानिससँग भाइले चिनजान गराइदिए जसमा राजनीतिक आस्थाका बन्दीदेखि गुन्डा नाइकेसम्मलाई भेटियो । लाग्यो, संसार बुझ्न धेरै बाँकी छ । संयोगले बिकिनी किलर भनेर चिनिने चाल्र्स सोभराज पनि त्यहीँभित्रको गोलघरमा थिए । उनका बारेमा मान्छे विभिन्न किस्सा सुनाउँथे— सोभराजले फ्रान्सको खाना खान्छ, रातमा मात्र एक्सरसाइज गर्छ, रेडियोलाई मोबाइल बनाएर कुरा गर्न सक्छ रे, भारतको जेल तोडेर भागेको रे, उसकी गर्लफ्रेन्ड २१ वर्षकी मात्र छिन् रे, आफू ७० वर्षको बूढो छ आदिआदि । मैले उनका बारेमा पत्रपत्रिकाहरूमा पढे–सुनेको थिएँ, देखेर हुने त के थियो र तर कस्तो होला त्यस्तो मान्छे देख्न पाए हुन्थ्योझैँ लाग्थ्यो तर गोलघरका मान्छेलाई भेट्न कसैलाई अनुमति थिएन ।

दिनहरू बित्दै गए । जनयुद्धकालीन मुद्दामा सजाय भोगिरहेका जुम्लाका कमरेड रामप्रसाद उपाध्याय, दाङमा हुँदा सँगै विद्यार्थीको जिल्ला समितिमा रहेर काम गरेका साथी सीताराम चौधरीलगायत साथीहरूसँगको भेटघाटले थप हौसला प्रदान गर्यो । जनयुद्धका कमान्डर प्रचण्ड–बाबुरामप्रतिको वितृष्णा बाहिर मात्र होइन, कारागारभित्र पनि सहिनसक्नु थियो । अब कमरेड विप्लवहरूले गर्नुपर्छ । जनता साथमा छन् भन्दै हौस्याउँथे कमरेड रामप्रसाद उपाध्याय । उमेरले ६० कटेका उनमा युवाजोस देख्दा लाग्थ्यो, उमेरले केलाई छेकेको छ र ? कमरेडमा जनयुद्धमा सरकार प्रमुख भएर काम गरेको अनुभव रहेछ । भित्र गाह्रो–साह्रो पर्दा सबैलाई हेर्ने उनी नेता थिए जेलभित्रका । दिनभर पत्रपत्रिका पढ्ने र आफ्नो जीवनको अनुभव बाँड्ने दैनिकी थियो उनको । मान्छेहरू उनका कुरा सुन्न उत्सुक हुन्थे । उनले बसाइभर साह्रै माया गरे । । हौस्याए । अहिले मेडिकल माफिया दुर्गा प्रसाईंले केपी–प्रचण्डलाई खुवाएको मार्सीभात मैले जीवनमा पहिलोपटक त्यहीँ रामप्रसाद कमरेडसँग खाएको थिएँ जेलभित्र । औपचारिक शिक्षा लिनेहरूका लागि स्कुल–कलेज रहेछ र अध्ययनका लागि पुस्तकालय पनि थियो ।

मानिसले बाहिरबाट जे सोच्छ, वास्तवमा जेल त्यो मात्र होइन भन्ने लाग्यो । यद्यपि सुधार गर्नुपर्ने पाटो पनि धेरै छन् । केन्द्रीय कारागार समावेशी मोडेलमा गएको रहेछ । भित्र मन्दिर, गुम्बा, चर्च, मस्जिदलगायत देख्दा अनौठो लाग्यो । त्यसमाथि कारागार (जेल) मानिस आफ्नो अपराधको सजायका लागि गएको हुन्छ । त्यहाँ पनि गेरुवस्त्रधारीले भजनकीर्तन गरेको देख्दा साँच्चै अपराधीहरूमा पनि आफ्नो धर्म, संस्कृति भन्ने चीज हुँदो रहेछ भन्ने लाग्थ्यो । जम्मा सजाय एक महिनाको थियो । करागारको बसाइ ११ दिनको । १९ दिन हिरासत बसेकाले त्यो ११ दिन देश र व्यवस्था बुझ्ने सन्दर्भमा मेरा लागि ठूलो समय भयो । जेलभित्र आफ्नो सजाय कटाउन आएका कैदीबन्दी मात्र छैनन्, त्यहाँ साहित्य छ, रचना छ, विचार छ, उद्वेलन छ । अभावपछिको विद्रोह छ जसले मानिसलाई बुझेर वा नबुझेर त्यहाँसम्म पुर्याएको छ, यसको जिम्मेवार अवश्य पनि राज्य हुनुपर्छ जसले समस्याको समाधान होइन, बरु समस्या ल्याउनेहरूलाई कैद गर्न चार पर्खालको घेराभित्र जेल बनायो ।

साथीहरू सुनाउँदै थिए— २०७२ को भूकम्पसँग जोडिएका घटना । एउटा घटनामा पुर्पक्षमा कारागार बसेका एक कैदी करिब आठ वर्ष कारागार बसे । न्यायालयले अन्तिममा निर्दोष साबित गर्यो तर बाहिर जाँदा भूकम्पले उनको परिवारै सखाप पारेको थियो । घरपरिवार, बालबच्चा सबै भूकम्पले लगिदियो । अब सोचौँ, उनको मनमा के र कस्तो आँधीबेहरी चल्यो होला राज्यव्यवस्था, शासक अनि नीतिनिर्माताहरूप्रति ! यसको चित्तबुझ्दो जबाफ छ यो दलाल व्यवस्थाका मतियारसँग ? यस्ता हजारौँ निर्दोष मानिसले आफ्नो सुनौलो उमेर गुजारेका छन् राज्यको निकम्मा न्याय सम्पादनका कारणले । कारागारहरूका यी त उदाहरण मात्र हुन् । यस्ता सयौँ निर्दोषहरू छन्, राज्यको झ्यालखानामा जो न्याय नपाई त्यहीँ सकिन्छ ।

कारागार बसाइको ११ दिन सकिँदै थियो । दिनहरू बितेको खासै पत्तै भएन तर एउटा कुरा सारै खट्किँदो रहेछ जेल–हिरासतमा । त्यो हो, मान्छेको स्वतन्त्रता र पैसाको महत्व । जेलभित्र सबै कुरा हुँदाहुँदै पनि जेल भन्ने शब्द किन यति भयानक छ भन्दा जेल–हिरासतले मानिसको स्वतन्त्रता हरण गरेको हुन्छ जसका कारण जेल–हिरासत भनेपछि मानिस डराउँछन् र राज्य आफ्ना खुनी हर्कत ढाकछोप गर्न यसको दुरुपयोग गर्दछ जुन यतिबेला हाम्रो पार्टी नेपाल कम्युनिस्ट र यसका समर्थक–शुभेच्छुकहरूमाथि थोपरिएको छ । त्यति बेला हामीले जानेर नै लोकमानमाथि कारबाही गरेकाले सजाय हाम्रा लागि पूर्वनिर्धारितजस्तै थियो । त्यो हामीले छिचोल्यौँ र यसका धेरै शिक्षाहरू पनि छन् जसले हामीलाई राज्यका विभेदविरुद्ध उभिन सहयोग गर्नेछ । ११ दिनको सजाय सकियो । जेलभित्रका कमरेडहरूले एकीकृत जनक्रान्तिप्रति ऐक्यबद्धता जाहेर गर्दै निरन्तरताको कामनासहित खादा र अबिरले बिदा गर्नुभयो ।

हामी दुवै टेकु आयौँ । कार्यालय परिसरमा हाम्रा पार्टी विद्यार्थी नेता र कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । मन हर्षले उत्साहित भयो र गर्वले छाती फुल्यो । केहीबेरमा अबिरजात्रासहित टेकुदेखि त्रिपुरेश्वरसम्म नाराजुलुससहित नागरिक अभिन्दन गरियो । मन हर्षले विभोर भयो । जेल बसाइका पीडाहरू खुसीमा बदलिए र आफूले गरेको कामप्रति गौरव लाग्यो । हाम्रो पुस्ताले यस्ता सङ्घर्षहरूको हजारौँ कीर्तिमान खडा गर्नुपर्ने महसुस पनि गहिरो गरी भयो । हाम्रो वर्गीय मुक्ति अभियानमा अझ स्पातिलो भएर लाग्ने प्रतिबद्धता गरियो । नागरिक अभिनन्दनसभामा परिणत भयो । सङ्गठनका तत्कालीन महासचिव दीपेन्द्र चलाउनेले सञ्चालन गरेको सभामा अध्यक्ष पूर्णबहादुर सिंहलगायत नेताहरूले मन्तव्य राख्नुभयो । हामीले पनि आफ्ना धारणा राख्यौँ र कार्यक्रम सम्पन्न भयो । एउटा इतिहासले दिएको जिम्मेवारी निर्वाह गरेर सकुशल फर्कने अवसर मिल्यो । सबैप्रति कृतज्ञ हुँदै लोकमान र लोकमान प्रवृत्तिविरुद्ध जीवनभर सम्झौताहीन सङ्घर्ष गर्ने प्रतिवद्धतासहित नयाँ यात्रामा अहिले पनि त्यही जोश र जाँगरसहित सक्रिय छौँ ।

आज त्यो प्रतिबद्धताको चौथो वर्षगाँठ मनाइरहँदा हाम्रो आन्दोलन वा बाहिरका सबै नयाँ पुस्ताका साथीहरूलाई एउटा अपिल के छ भने यो दलाल संसदीय व्यवस्थाको महँगी, भ्रष्टाचार, कमिसन, नातावाद कृपावाद र नालायकीको जाँतोमा पिँधिएर अझै पनि हामी कति दिन सास्ती भोग्ने ? त्यसैले हामी सबैको साझा भविष्यका खातिर केही समय हाम्रा सबै निजी रुचि र चाहनाभन्दा फरक देश, जनता र मानवजातिको मुक्तिका लागि एउटा सम्झौताहीन सङ्घर्षको मोर्चामा हेलिऊँ । आगामी पुस्ताले बर्सौंदेखि निष्कर्षमा पुग्न नसकेको राजनीतिक परिवर्तनको जालझेलमा फस्न नपरोस् । न्याय र समानतासहितको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरौँ जहाँ अहिलेको जस्तो मानवले मानवलाई दासता थोपर्ने होइन, विश्वका सम्पूर्ण मानवजातिले एकअर्काका परिपूरक भएर काम गर्ने साम्यवादतर्फको यात्रा तय गर्नेछन् ।

अहिले हामी त्यही जिम्मेवारीबोधका साथ नयाँ परिवेशमा फरक कार्यभारसहित उपस्थित छौँ । त्यो कार्यभार पूरा गर्ने हामीसँग वैज्ञानिक हतियार, जनताको अदम्य तागत छ र त्यसको नेतृत्व गर्ने कार्यदिशा एकीकृत जनक्रान्तिको मौलिक मोडेल छ जसले गाउँ र सहर, भूपरिवेष्ठित परिवेश, देशभक्त जनता, हाम्रो जातीय र सांस्कृतिक विविधता र अहिलेको विज्ञान र प्रविधिलाई जोडेर राज्यको दलाल प्रवृत्ति र बाह्य हस्तक्षेपविरुद्ध जनतालाई गोलबन्द गरेर सङ्गठित प्रतिरोध गर्दछ । त्यसकारण हामी मानवमुक्तिको महान् अभियानमा छौँ । हामीले हौसला बुलन्द गर्नु छ । हामीमा वर्गीय मुक्तिको ज्यूँदो सपना छ । दुस्मनहरूले लाख कोसिस गरून् जालझेल र षड्यन्त्रको, हामीसँग त्यसलाई चिर्ने ब्रह्मास्त्र छ, नेतृत्व र एकीकृत जनक्रान्तिको ।

(लेखक अखिल क्रान्तिकारीका महासचिव हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :