कञ्चनपुरमा सरोकारवालासँग छलफल र सहकार्य गर्न तयार छौँ : पुन

कञ्चनपुरमा सरोकारवालासँग छलफल र सहकार्य गर्न तयार छौँ : पुन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले कञ्चनपुर जिल्लाका कोरोना प्रभावित क्षेत्रको अनुगमन र सरोकारवाला निकायसँग छलफल गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतसँग सिमा जोडिएका जिल्लाहरूमा निकै प्रभाव देखिन थलेका छन् ।

नेता पुनले नेपाल कम्युनिस्ट पार्टी जनता यस्तो महामारीमा परेको बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने जस्तो सुकै जोखिम उठाउन तयार रहेको बताएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतों, भिमदत्त नगर प्रमुख सुरेन्द्र बिष्ट, महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठ लगायतका सरोकारवालासँग छलफल गर्दै महामारीमा आफ्नो पार्टी सहकार्य गरेर जान तयार रहेको बताएका हुन् । कञ्चनपुरका प्रजिअ महतोंले जिल्लामा सङ्क्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैशाख १७ गतेबाट निषेधाज्ञा जारी गरेको जानकारी दिँदै जिल्लामा रहेका दुइटा सिमा नाकामा भारतबाट स्वदेश फर्कनेको चाँप दिनप्रति दिन बढी रहेको बताएका छन् । प्रत्येक दिन जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले गर्ने एन्टिजेन जाँचमा दैनिक ३० देखि ४५ जनामा सङ्क्रमण देखिने गरेको बताउँदै जिल्लामा हाल ८६१ जना सङ्क्रमित सङ्क्रमित रहेको र कोरोनाका कारण ३६ जनाले ज्यान गुमाएको समेत उनले जानकारी दिए । आफू विपत व्यवस्थापनको संयोजक भएता पनि बजेट अभावका कारण सामान्य सुरक्षाका समाग्री पनि मागेर प्रयोग गर्नुपर्ने अवस्था रहेको उनले बताए । दिनप्रति दिन कोरोनाको कहरलाई मध्यनजर गर्दै आइसोलेसन हबको लागि ठुला सरकारी भवन कबर्डहल र खाली स्थान लैङ्गिक मैत्री होल्डिङ सेन्टर निर्माण गरि व्यवस्थापन गर्नुपर्ने बताउँदै विपतको बेला सबै राजनीति दल, नागरिक समाज र युवा क्लबले सकारात्मक भूमिका निर्वाह गरे सङ्क्रमण फैलिन रोक्नमा मद्दत पुग्ने बताएका छन् । दिन प्रतिदिन सङ्क्रमण बढेसँगै अक्सिजन अभाव देखिन थालेको छ । यसको सहज आपूर्तिका लागि केन्द्र सरकार र प्रदेश सरकारसँग पहल भइरहेको उनले बताए ।

नेता पुनसँगको भेटमा भिमदत्त नगर प्रमुख बिष्टले स्थानीय सरकारले आइसोलेसन कक्ष र बेड सङ्ख्या बृद्धि, कालोबजारी नियन्त्रणमा जुटि रहेको बताएका छन् । सङ्क्रमणसँगै समस्या पनि दिन प्रतिदिन बढ्ढै गइरहेका र यसको समाधानका लागि नागरिक आचार संहिता तयार पार्ने, जोखिम नियन्त्रणका लागि टोल विकास समिति बनाउने वडामा रहेको कर्यपालिकालाई कार्य विभाजन गरेर यो जोखिमको सामना गर्ने बताएका छन् । नेता पुनले जोखिम नियन्त्रणमा बिलम्ब गर्न नहुने भन्दै नगरमा पार्टीले जुन सुकै ठाउँमा जोखिम नियन्त्रणमा सहयोग गर्ने जानकारी दिए । महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले नेता पुनसँग अस्पतालमा अक्सिजन र जनशक्तिको अभाव रहेको बताएका छन् । कन्सलटेन्ट डाक्टरको अभाव रहेको र भएका डाक्टर सङ्क्रमित भएकोले अभाव रहेको उनले जानकारी दिए । बजेट अभावका कारण कर्मचारी व्यवस्थापनमा गाह्रो भएको र महामारी नियन्त्रणमा अपुग रहेको संरचना निर्माण गर्न समस्या देखा परेका छन् । बेतकोट नगरपालिकाले १० लाख हस्तान्तरण गरेको र भिमदत्त नगरपालिकाले २० लाख दिने घोषणा गरेको जानकारी दिँदै यसले थोरै भएपनि राहत हुने उनले बताए ।

नेता पुनले कोरोना जोखिमलाई मध्यनजर गर्दै पार्टीले प्रत्येक क्षेत्रमा जनशक्ति उपलब्ध गराउन तयार रहेको बताए । सङ्क्रमितहरूले अनेक प्रकारका समस्या खेप्नु परेको र समाधानका लागि पार्टीले सरोकारवाला निकायसँग सहकार्य गरेर अगाडि बढ्ने र यो लडाइँमा जुनसुकै जोखिमको सामना गर्न आफ्नो पार्टी तयार रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :