वार्ताबारे एक चर्चा

वार्ताबारे एक चर्चा

२०७७ फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी र केपी वली नेतृत्वको नेपाल सरकारबीच वार्ता सम्पन्न भयो । वार्ता पश्चात राष्ट्रिय राजनीतिमा मिश्रित प्रतिक्रिया आएका छन् । फेरी पनि वार्ता र सम्वादबाट समस्याको हल खोज्नु सबैभन्दा उत्तम विकल्प रहेको अधिकाङ्शको धारणा रहेको पाइन्छ । प्रायले अनुमानको आधारमा विश्लेषण र संश्लेषण गर्ने गरेको पाइन्छ । यो स्वाभाविक पनि हो । यसलाई एकरूपतामा बुझ्नु र बुझाउनु पर्दछ । वार्ता गर्नुको वास्तविकता र यथार्थता के हो ? अहिले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच कसरी वार्ता सम्भव भयो ? तीन बुँदे सहमतिको अन्तरवस्तु केके हुन् ? वार्ताप्रति विभिन्न धारणा बनेका छन् । यी सकारात्मक वा नकारात्मक सवालहरूको विषयमा प्रस्तुत लेखलाई केन्द्रित गर्ने प्रयास गरिएको छ ।

लेखक : उमा भुजेल ‘शिलु’

१) वार्ता अनिवार्य र आवश्यकता बन्नु

सरकार र विद्रोही दुबै पक्षको लागि वार्ता निरपेक्ष रुपमा नकार्ने विषय हुँदैन । वार्ता अनिवार्य र आवश्यक हुन्छ । फरक यति हुन्छ कि कुन अवस्थामा, कुन विषयमा र कुन शक्तिसँग वार्ता गर्ने हो । वार्तामा बस्ने दुबै पक्षले आफ्नो वर्गको लक्ष्य र उद्देश्य साथै फाइदा बेफाइदामा विषेश ध्यान दिएको हुन्छ । अर्काे पक्ष वार्ता कसैको मनोगत इच्छा र चाहानाले हुँदैन । एक पक्षीय ढङ्गले वार्ता गर्नुपर्छ, गर्छु भनेर हुँदैन । वार्ता दुबै पक्षको आवश्यकता र अनिवार्य विषय बन्नु पर्दछ । यो अवस्था सृजना हुन दुबै पक्ष शक्ति सन्तुलनको अवस्थामा रहनु पर्दछ । यो अवस्थामा एकले अर्काेलाई चाहेर पनि निल्न सक्दैन । बरू एक अर्कामा एकता र सहकार्यको आवश्यकता महसुस गर्दछन् । तबमात्र वार्ता हुने अनुुकूल अवस्था सृजना हुन्छ । नेकपा र सरकारबीच भएको वार्ता यो नियम भन्दा फरक छैन र हुन सक्दैन ।

सरकार र नेकपाबीच जुन वार्ता सम्पन्न भयो, यो प्रक्रियामा आउन अनेकौँ जटिलता पार गर्नु परेको छ । पहिला त वार्ता, सहमति र सहकार्यको बाटो रोज्नु भन्दा सरकारले दमनको नीति अख्तियार गर्यो । पार्टीमाथि प्रतिबन्ध लगायो । नेपाल कम्युनिस्ट पार्टीलाई दुई महिनामा सिध्याउने उद्घोष गर्यो । जसअनुसार नेता कार्यकर्तालाई समाउँदै हिरासत र जेलमा राख्न थाल्यो । नेकपाका समर्थक समेतलाई शान्तसँग बस्न दिइएन । सरकारको यो रबैया शृङ्खलाबद्ध हत्या गर्नेसम्म पुग्यो । सरकारको सोच पार्टीमाथि प्रतिबन्ध लगाउने नेताकार्यकर्तालाई गिरफ्तार गर्ने साथै छानिछानि व्यक्ति हत्या गर्नेसम्म देखिन्थ्यो । जसले गर्दा नेकपाको विचार राजनीतिलाई प्रभावहीन बनाउन सकिन्छ भन्ने सरकारवादी मान्छेहरूलाई लागेको थिायो तर सरकार सोचें अनूरुप आफ्नै योजनामा सफल हुन सकेन । बरू उसले लिएको नीति आफैँका लागि प्रत्युत्पादक बन्दै गयो । नेपाल कम्युनिस्ट पार्टीमाथिको सरकारको नीति असफल साबित भयो । नेपाल कम्युनिस्ट पार्टीले उठाएका, लिएका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सहि मुद्दाका कारण पार्टीप्रतिको विश्वास झनै बृद्धि हुँदै गयो । नेपाल कम्युनिस्ट पार्टी जनताको मन मुटुमा बस्न सफल भयो । सरकारको पक्षबाट भएका भ्रष्ट्राचार, राष्ट्रघात र जनघातको कारण सरकारप्रतिको जनताको विश्वास टुट्न गयो । विश्वास अविश्वासमा बदलिन गयो । पछिल्लो संसद् विघटनसम्म आइपुग्दा दलाल संसदीय व्यवस्थाभित्रको सङ्कट र असफलता दिनको घाम जत्तिकै छर्लङ्ग हुन पुग्यो ।

वर्तमान स्थितिसम्म आउँदा आम जनतामा यो व्यवस्था र सरकारप्रति कुनै आशा र भरोसा छैन । नयाँ विकल्पको खोजीमा आम जनता देखिन्छ । यो व्यवस्था र सरकारले केही पनि समस्या हल गर्न नसक्ने निष्कर्षमा जनता पुगेको देखिन्छ । किनकि समस्याको समाधान होइन, झन् नयाँनयाँ समस्या पैदा भइरहेका छन् । यसले गर्दा मानिसहरूमा गम्भीर प्रश्न खडा भएको छ । यो केपी वलीको सङ्कट हो वा दलाल संसदीय व्यवस्थाको स्कट हो ? केपी वलीको असफलता हो वा दलाल संसदीय व्यवस्थाको ? मुख्य बहस यहाँ केन्द्रित भएको छ । त्यसैले दलाल संसदीय व्यवस्थाको विकल्प दलालल संसदीय व्यवस्था नै हुँदैन । पुँजीवादको विकल्प पुँजीवाद हुँदैन । अब देशको सही समाधान दलाल पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद बनाउनु पर्दछ । पुँजीवादी विचार होइन वैज्ञानिक समाजवादी विचार बन्नुपर्दछ । देशको स्थिति नयाँ ठाउँमा आइपुगको छ ।

देशले नयाँ आवश्यकता महसुस गरेको छ । जसको परिणामस्वरूप नेपाल कम्युनिस्ट पार्टीमाथि हेर्ने सरकारको धारणा, नीति बदलिएको छ । प्रतिबन्ध लगाउने, हत्या दमनबाट नेपाल कम्युनिस्ट पार्टीको विचार राजनीतिक प्रभावलाई रोक्ने सरकारको नीति बदलिएको छ । वार्ताको लागि दलाल संसदीय व्यवस्था र यही संविधान मान्नु पर्दछ भन्ने मान्यताबाट सरकार पछाडि हटेको छ । यो नेपाल कम्युनिस्ट पार्टी राजनीतिक शक्ति हो भनरे स्वीकार्नु पर्ने अवस्थामा सरकार पुगेको अवस्था हो । नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र सम्वाद गर्नुपर्ने आवश्यकता र बाध्यात्मक अवस्थामा सरकार पुगको छ । नेपाल कम्युनिस्ट पार्टी देश र जनताको हितमा अगाडि बढ्न जहिले पनि प्रतिबद्ध रहँदै आएको छ । सरकारले दमनको नीति लिँदै वार्ताको कुरा गर्ने तर व्यवहारमा नगर्ने नियत राख्दा पनि नेपाल कम्युनिस्ट पार्टीले सदैब एकातिर सङ्घर्षको नीति र अर्काेतिर वार्ताको ढोका खोलिराख्यो । अहिलेको वार्ता र सहमति हिजो देखि कै सचेत पहलकदमीको परिणाम हो र देश र जनताको हितको निम्ति आवश्यकतामा सम्भव भएको हो ।

२) तीन बुँदे सहमतिको अन्तरबस्तु

नेपाल कम्युनिस्ट पार्टी र सरकारको बीच तीनबुँदे सहमति भएको छ । पहिलो, दुवै पक्ष (नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी) देशको राजनीतिक समस्याहरू वर्ता तथा सम्वादबाट समाधान गर्न सहमत भएका छौँ । दोस्रो, नेपाल कम्युनिस्ट पार्टी आफ्नो सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । तेस्रो, नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका नेताकार्यकर्ताको रिहाइ गर्न र सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएका छौँ ।

कुनै पनि चीज असहमतिबाट सहमतिमा, सङ्घर्षबाट एकता र सहकार्यमा पुग्नु राम्रो विषय हो । जहिले पनि सङ्घर्ष मात्रै र एकता मात्रै खोज्नु सहि होइन । जुन कुनै वस्तुको विकासमा सङ्घर्ष- एकता, एकता -सङ्घर्षको नियम लागु भइरहन्छ । एकता खोज्दा सङ्घर्ष विर्सनु, सङ्घर्ष खोज्दा एकता विर्सनु हुँदैन । यो मान्यता र निमय अहिलेका नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको वार्ता र सहमतिमा पनि लागु भएको छ । किनकि हिजो नेकपा र सरकारबीच सङ्घर्ष चलिरहेको थिया भने अहिले वार्ता पश्चात तीनबुँदेमा केन्द्रित भएर सहकार्य र एकता भएको छ । नेपाल कम्युनिस्ट पार्टी देश र जनताको बारेमा जिम्मेवारीपूर्ण ढङ्गले सोचिरहेको छ । त्यसै कारण दुवै पक्षबीच वार्ता र सहमति भएको छ । वार्ता अग्रगामी सोचसहित भएको छ । देशलाई पश्चगमन र यथास्थितिबाट मुक्त पार्ने सोंच अन्तरनिहीत छ । देशलाई पश्चगमन र यथास्थितिमा राखिराख्नु भनेको देश झनैँ बर्बादीतिर जानु हो । त्यसैले यो तीनबुँदे सहमतिको अन्तरवस्तु लेनिनको भनाईको मर्मभन्दा बाहिर छैन । लेनिन भन्नुहुन्छ- एउटा क्रान्तिकारी पार्टीका लागि सबै किसिमका सम्झौताहरूमा आफ्ना सिद्धान्तहरू आफ्ना वर्ग, आफ्ना क्रान्तिकारी उद्देश्य, क्रान्तिकारी तयारी गर्ने र क्रान्तिको विजयको लागि जनसमुदायलाई प्रशिक्षित गर्दै लैजाने कार्यभारप्रति आफ्नो निष्ठा कायम राख्नुपर्दछ ।

(क. भि.आई लेनिन, सम्झौताहरूबारे १९१७)

अहिलेको व्यवस्था दलाल पुँजीवादीको छ । जसमा सरकारको नेतृत्व केपी वली आफैँ गरिरहेका छन् । उनीहरूले कार्यक्रम समाजवादी स्वीकार्ने तर व्यवस्था पुँजीवादी मान्ने देखिन्छ भने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी वैज्ञानिक समाजवादी राज्य व्यवस्था चाहान्छ र त्यसको कार्यक्रम पनि समाजवादी हुने कुरामा दृढ रहेको छ । दुई पक्षहरूका बीचमा फरक सोंच र फरक दृष्टिकोण रहँदा रहँदै पनि देशको बारेमा नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था सृजना भएको छ । तीनबुँदे सहमतिले त्यसैको आधार तयार गर्न खाजेको छ । तीनबुँदे सहमति हुनुमा यही सोंचले निर्णायक भूमिका खेलेको छ । यो विषयलाई कसैले पनि न्युनिकरण गरेर बुझ्नु हुँदैन ।

तीनबुँदे सहमतिमा उल्लेखित नेकपामाथिको प्रतिबन्ध फुकुवा भइसकेको छ । जेल हिरासतमा रहेका नेता कार्यकर्ता रिहाई र मुद्दा खारेजीको प्रक्रियामा सरकारको तत्परता देखिँदैन अर्थात परिणाम आइसकेको छैन । नेता कार्यकर्ता रिहाई र मुद्दा खारेजी नहँुदासम्म सहमतिको मुख्य र महत्वपूर्ण पक्ष राजनीतिक समस्या कसरी हल गर्ने विषयमा प्रवेश गर्न गाह्रो छ । देशको राजनीतिक समस्या वार्ता र सम्वादको माध्यमबाट हल गर्न सहमत हुनु सुखद पक्ष हो । तर अगाडि बढ्नको लागि महत्वपूर्ण दुइवटा पक्षमा सरकार र नेकपाबीच एउटै बुझाई बन्नु पर्दछ । एउटै दृष्टिकोण, एउटै बुझाई बन्छ कि बन्दैन चुनौतिको विषय छ । अहिले देशको मुल समस्या के हो ? देशको अबको निकास के हो ? अहिल्यैको अवस्थामा समस्याको कारणलाई बुझ्ने र समस्याको समाधान दिनेमा गम्भीर खालको अन्तर देखा पर्दछ ।

अहिलेको व्यवस्था दलाल पुँजीवादीको छ । जसमा सरकारको नेतृत्व केपी वली आफैँ गरिरहेका छन् । उनीहरूले कार्यक्रम समाजवादी स्वीकार्ने तर व्यवस्था पुँजीवादी मान्ने देखिन्छ भने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी वैज्ञानिक समाजवादी राज्य व्यवस्था चाहान्छ र त्यसको कार्यक्रम पनि समाजवादी हुने कुरामा दृढ रहेको छ । दुई पक्षहरूका बीचमा फरक सोंच र फरक दृष्टिकोण रहँदा रहँदै पनि देशको बारेमा नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था सृजना भएको छ । तीनबुँदे सहमतिले त्यसैको आधार तयार गर्न खाजेको छ । तीनबुँदे सहमति हुनुमा यही सोंचले निर्णायक भूमिका खेलेको छ । यो विषयलाई कसैले पनि न्युनिकरण गरेर बुझ्नु हुँदैन ।

देशको उत्पन्न परिस्थितिका कारण कुनै पनि शक्ति यथास्थितिमा रहेर, पश्चगमनतिर लागेर कसैको पनि सुनिश्चित भविष्य देखिँदैन । जसले अग्रगामी ढङ्गले सोच्छ, गतिशिल र विकासशील हुन्छ त्यसैले देशमा उत्पन्न समस्यको सही समाधान दिन सक्दछ अनि नेतृत्व प्रदान गर्न सक्दछ । अहिले देशमा अग्रगामी ढङ्गले सोचेर अगाडि बढ्नु अनिवार्य आवश्यकता बनेको छ । जसको लागि नयाँ विषयमा बहस केन्द्रित गर्नु पर्दछ र हुँदै गएको पनि छ । अहिलेको मुख्य बहस पात्रको होइन प्रणालीको हो । दलाल पुँजीवादी व्यवस्था होइन वैज्ञानिक समाजवादी प्रणाली ल्याउनु पर्दछ । पात्रलाई भोट दिने र पात्र छान्ने होइन कि व्यवस्था छनोट गर्ने स्तरमा बहस चल्नु् पर्दछ । देशको समस्याको समाधान वैज्ञानिक समाजवादी व्यवस्था ल्याएर मात्र गर्न सकिन्छ । सरकार र नेकपाबीचको वार्ता तीनबुँदे सहमतिको अन्तर्य यहीँनिर रहेको छ । त्यसैकारण यो सहमतिको अत्यन्तै ऐतिहासिक महत्व रहेको छ ।

३) वार्ता र सहमतिप्रति देखा परेका विभिन्न सोचहरू

जब नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच वार्ता र सहमति भयो त्यसलाई बुझ्नेमा फरकफरक सोंचहरू सतहमा आएको पाइन्छ । ती निम्नानुसार व्यक्त भएका छन् ।

क) सकारात्मक सोंच : सरकार र नेकपाबीच वार्ता र सहमति हुनु राम्रो विषय हो । देशको राजनीतिक निकास वार्ता र सम्वादबाट नै खोजिनु पर्दथ्र्यो यसमा नेकपा र सरकार दुवै पक्ष जिम्मेवार ढङ्गले प्रस्तुत भएको छ । वार्ता र सहमतिको मुख्य उद्देश्य देश र जनताको हितलाई केन्द्रमा राखेर गरिएको छ । अब देश नयाँ ढङ्गले अगाडि बढ्दछ । जनतामा आशा पलाएको छ । वार्ता हुनुलाई अधिकांशले सकारात्मक सोंचकासाथ हेरेको पाइन्छ ।

ख) नकारात्मक सोंच : नेकपा र सरकारबीच भएको वार्ता र सहमतिलाई सकारात्मक ढङ्गले भन्दा नकारात्मक ढङ्गले बुझ्ने, सोच्नेहरू पनि नेपाली राजनीतिक वृत्तमा देखिन्छ । पहिला वार्ता हुँनै नदिने, वार्ता भए पनि कुनै पनि हालतमा सफल हुन नदिने र आलोचनामा केन्द्रित बहसहरू मात्र चलाउने, अरूको मृत्युमा आफ्नो जीवन देख्ने यो सोंचको मख्य प्रवृत्ति रहेको छ । यो प्रवृत्तिले विषयको गहिराई र महत्वलाई बुझेर पनि विषयको विषयान्तर गर्ने र सार तत्वलाई नै तोडमोड गर्ने देखिन्छ । यस्ता सोंच भएका पार्टी र व्यक्तिहरू केपी वालीसँग वार्ता गर्न हुँदैनथ्यो भन्दछन् । जसले संसद् विघटन गर्यो उसैसँग वार्ता ! यो त प्रतिक्रान्तिलाई साथ दिएको हुन्छ । जुनसुकै कोणबाट तर्क गरे पनि सारमा वार्ता गर्न हुँदैनथ्यो भन्ने उनीहरूको निष्कर्ष रहेको पाइन्छ । यी र यस्ता विषय त राजनीतिमा कखरा नबुझेकाले मात्र भन्छन् ।

राज्य र विद्रोहीबीचको वार्ता अरू कोही कसैले हल गर्न सक्दछ त ? यो सम्भव हुने कुरा होइन । यो केपी वलीसँगको विषय पनि होइन । यो राज्यसँगको विषय हो, सरकारसँगको विषय हो । समस्या जहाँबाट पैदा भएको हो, हल पनि त्यहीबाट खोज्नु पर्दछ नत्र काशी जानु छ कुतितिर गएजस्तो हुन पुग्दछ । अर्काे विषय संसद् विघटन गरेर केपी वलीले प्रतिक्रान्ति गरेको, केपी वलीसँग वार्ता गरेर प्रतिक्रन्तिलाई सहयोग गरेको गम्भीर विषय उठाइएको छ । यो तर्कको लागि तर्क गरेको विषय हो । यसमा कुनै सत्यता छैन ।

नेपाल कम्युनिस्ट पार्टी अरू पार्टी भन्दा फरक दृष्टिकोण भएको पार्टी हो । नेपाल कम्युनिस्ट पार्टी यो दलाल संसदीय व्यवस्था र त्यसै व्यवस्थालाई पक्षपोषण गर्ने संविधानलाई अस्वीकार गर्दै जनताको व्यवस्था र जनताको संविधान घोषणा गरेर अगाडि बढिरहेको सर्वविदितै छ । जुन दिनमा पहिलो संविधानसभाको विघटन भयो तत्पश्चात संविधानसभाको कार्यनीति सर्वहारावर्गको हित गर्ने नभई पुँजीपतिको हित गर्ने साधनको रूपमा परिणत भएको अनि सोही संविधानसभाबाट बन्ने संविधान प्रतिगामी र प्रतिक्रान्तिकारी हुने निष्कर्ष निकाल्दै पार्टी जनसत्ता र जनसंविधानको घोषणा गर्दै अगाडि बढ्यो । आज संसद् विघटन वा पुर्नःस्थापना जे भए पनि हाम्रो लागि मुख्य चासोको विषय बन्न सक्दैन । संसद् विघन वा पुर्नःस्थपना जे गरे पनि समस्याको हल दिँदैन भन्नेमा हाम्रो पार्टी स्पष्ट थियो र आफ्नो धारणा स्पष्ट ढङ्गले राख्दै आएको थियो । फेरि पनि कतिपय पार्टी र व्यक्तिहरू खोलो धमिल्याएर माछा मार्न सकिन्छ कि भनि प्रयत्न गर्न खाज्दैछन् ।

यो सरकारसँगको वार्ता प्रतिक्रान्तिलाई स्वीकारेको होइन बरू क्रान्तिको लागि अगाडि बढ्ने उद्देश्यले गरिएको हो । यस्तै अर्काे विषय पनि उठाइएको पाइन्छ । केपी वलीको सरकारमा जाने, मन्त्री बन्ने, यतिमात्र होइन पार्टी एकतासम्म गर्ने सहमति भएको छ भन्ने मिथ्या र सुनिायोजित प्रचारहरू गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको विषय र धारणा अरू कसैले व्यक्त गर्दै हिँडेर हुँदैन । त्यो त उ आफैँले भन्नुपर्दछ । अहिले तीनबुँदै सहमति भएको छ । यो सत्य हो । सरकारमा जाने, मन्त्री खाने अनि पार्टी एकतासम्म गर्ने यो गलत, षड्यन्त्रमूलक, भ्रामक प्रचार मात्र हो । हुन त आफू जस्तो छ उस्तै सोच्नु स्वभाविक पनि हो ।

अब लक्ष्य वैज्ञानिक समाजवादी बाटो एकीकृत जनक्रान्तिको अपनाउनु पर्दछ । वैज्ञानिक समाजवादी उद्देश्य, मालेमावादी सहि विचार, एकीकृत जनक्रानित्को सहि कार्यदिशा र नेतृत्वको कुशलताको कारण नेपाल कम्युनिस्ट पार्टीले उठाएका एजेन्डाहरू स्थापित हुँदै छन् अर्थात बहसको केन्द्रमा रहेका छन् । परिणामस्वरूप पार्टीको विचार, नेपाल कम्युनिस्ट पार्टी वैकल्पिक शक्तिको रूपमा स्थापित भएको छ । वार्ता र सहमति हुनुमा पनि यही कारण रहेको छ । अहिलेको वार्ता र सहिमति एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयनको परिणाम हो ।

के नेपाल कम्युनिस्ट पार्टीका मुख्य नेतृत्व देखि विभिन्न तहका नेतृत्वहरू अवसर नपाएरै आएका हुन त ? अवसर नपाएर होइन, धेरै अवसरहरू छोडेर देश र जनताको पक्षमा सोच्ने, व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिने जनताको असली प्रतिनिधित्व गर्ने जिम्मेवारपूर्ण नेताकार्यकर्ताको पार्टी हो । यसरी नै केहीले तर अत्यन्तै गम्भीर र महत्वपूर्ण विषयहरू उठाएको पाइन्छ । यसमा नेकपा निकै गम्भीर छ । नेकपा र सरकारबीचमा वार्ता हुनुमा विदेशी शक्तिको हात रहेको भन्ने गलत र सुनियोजित अफवाहहरू काहीँकाहीँ फैलाइएको पाइन्छ । हुन त आफू कहिल्यै आफ्नो खुट्टामा टेक्न नसक्ने र टेक्नुपर्छ भन्ने मान्यता नराख्नेहरूले यो सोच्नु स्वभाविक हो । देशको बारेमा सोच्न, देशको समस्या समाधान गर्न त्यति मात्रै होइन प्रधानमन्त्री, मन्त्री बन्नसमेत विदेशीको सहयोग चाहिने र वैदेशिक शक्तिसामु लम्पसार पर्ने प्रवृत्ति नेपाली संसदीय राजनीतिमा आम प्रवृत्ति बनिसकेको छ ।

आफ्नै बल बुँतामा स्वतन्त्र ढङ्गले पहल कदमी गरेर वार्ता हुन्छ, गर्न सकिन्छ भन्ने कुरा यस्ता लम्पसारवादीहरूले कसरी सोच्न सक्छर ! कतिपय देशका नेताहरू र खासखास मान्छेहरूमा स्वाभिमान गुम्न जाँदा सबै चीजमा विदेशीको भर पर्ने परनिर्भरता र आत्मसमर्पणवादी चिन्तन मौलाउँदो रहेछ । त्यसैले साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भन्ने नेपाली उखान अहिले पनि सत्य साबित भएको छ । देशमा सानादेखि ठुलासम्म जे काम गरे पनि र जे काम गर्न खोजे पनि विदेशीको निर्देशन र भरमा हुँदै आएका छन् । अहिलेसम्मको यो विरासतलाई तीनबुँदे वार्ता र सहमतिले तोडिदिएको छ । नेकपा र सरकारबीच वार्ता र सहमति आफ्नै स्वतन्त्र पहलमा, आफ्नै भूमिमा जनताको हितलाई केन्द्रमा राखेर शानदार ढङ्गले सम्पन्न भएको छ । बरू इतिहासमा कायम भएको गलत, पुराना, विरासत तोडिएको छ । नयाँ इतिहास र नयाँ आयाम थपिदिएको छ । आफ्नै देशमा आफ्नै पहलकदमीमा वार्ता सहमति गर्न सकिन्छ र कुनै विदेशीको निर्देशन र भर पर्नु पर्दैन भन्ने कुराको पुष्टि भएको छ ।

ग) रचनात्मक र आलोचनात्मक सोंच

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको वार्ता र सहमतिलाई सकरात्मक रूपमा लिँदै रचनात्मक र आलोचनात्मक ढङ्गको सोचाई रुाख्नेहरूको पनि कमि देखिँदैन । वार्ता र सहमति अनिवार्य र आवश्यक थियो । तर कतै वर्गको पक्षधरता, लक्ष्य र उद्देश्यबाट विचलित त हुँदैन ? क्रान्तिको कुरा गर्दै क्रान्तिकारी बाटो बिर्सने त होइन ? जनता र देशको हितको कुरा गर्दै पुँजीवादी बाटो र पुँजीपति वर्गको हित गर्ने ठाउँमा पुग्ने त हुँदैन ? जुन प्रचण्ड बाबुरामले गरे । प्राय पार्टीहरूमा कुरा एउटा र काम अर्काे गर्ने गरेको पाइन्छ । सिद्धान्त र व्यवहारमा ठूलो भिन्नता पाइन्छ । अरू पार्टीका यी यस्ता क्रियाकलापका कारण वार्ताप्रति सकारात्मक हुँदाहुँदै पनि यदाकदा शङ्का देखिन्छ । जनताहरू, सहिद तथा वेपत्ता परिवारहरू, राष्ट्रवादी शक्तिहरू, बुद्धिजीविहरू भनिरहेछन् कि पार्टीे नेकपा नै ठीक र विचार नेकपाले नै लिएको ठीक छ तर कतै अब बाटो भुल्ने त होइन ! आशा र विश्वाससँगै थोरै आशङ्का पनि गरिरहेका छन् ।

कुनै पनि हालतमा जनताको सपना नभुल्न रचनात्म्क, आलोचनात्मक ढङ्गले सुझाव, सल्लाह दिइरहेका छन् । जुन विषयले हाम्रो पार्टीलाई अगाडि बढ्न प्रेरित गरिरहेको छ ।

अन्त्यमा, यतिबेला देशमा दलाल संसदीय व्यवस्थमा चरम सङ्कट र असफलता देखा परेको छ । देशमा पात्रको होइन प्रणालीको बहस चलिरहेको छ । यही संसदीय व्यवस्थामा पात्र बदलिँदैमा, बुढोको ठाउँमा युवा आउँदैमा समस्याको हल हुँदैन यसमा पाात्रलाई मुख्य, बुढोको ठाउँमा युवालाई मुख्य बनाउनु हुँदैन । यहाँ त व्यवस्थाको विषयलाई मुख्य बनाउनु पर्दछ । त्यो पनि दलाल संसदीय व्यवस्था होइन वैज्ञानिक समाजवादी व्यवस्थालाई ल्याउने विषयलाई मुख्य बनाउनु पर्दछ । अहिले देशमा रहेको समस्याको हल यसले मात्र गर्न सक्दछ । त्यसैले अब लक्ष्य वैज्ञानिक समाजवादी बाटो एकीकृत जनक्रान्तिको अपनाउनु पर्दछ । वैज्ञानिक समाजवादी उद्देश्य, मालेमावादी सहि विचार, एकीकृत जनक्रानित्को सहि कार्यदिशा र नेतृत्वको कुशलताको कारण नेपाल कम्युनिस्ट पार्टीले उठाएका एजेन्डाहरू स्थापित हुँदै छन् अर्थात बहसको केन्द्रमा रहेका छन् । परिणामस्वरूप पार्टीको विचार, नेपाल कम्युनिस्ट पार्टी वैकल्पिक शक्तिको रूपमा स्थापित भएको छ । वार्ता र सहमति हुनुमा पनि यही कारण रहेको छ । अहिलेको वार्ता र सहिमति एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयनको परिणाम हो । अहिलेको वार्तालाई एकीकृत जनक्रान्तिसँग जोड्नु पर्दछ र एकीकृत क्रान्तिकै तरिकाले बुझ्नुपर्दछ । वार्तालाई बुझ्दा सहि तरिकाले बुझ्नु पर्दछ । वार्ता सबै थोक हो, वार्ता केही पनि होइन भन्ने सोंचाइबाट मुक्त हुनु पर्दछ । अहिलेको वार्ता वैज्ञानिक समाजवादमा पुग्ने आधार बन्नेछ । यसमा हामी पूर्ण विश्वस्त हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :