जागै बस प्रिय मान्छे, फेरि कुनै पनि समय सपना लुटिन सक्छ !

समय समीक्षा

जागै बस प्रिय मान्छे, फेरि कुनै पनि समय सपना लुटिन सक्छ !

मुलुकमा राष्ट्रघात, जनघात, महँगी, कालोबजारी, तस्करी, घुसखोरी, बलात्कार, हत्यालगायत हर्कत दोहोरिइरहेका छन् र यी कर्म अब विद्यमान दलाल पुँजीवादी सत्ताका स्थायी संस्कृतिका रूपमा अघि बढिरहेका छन् । यसका विरुद्ध जनता जाग्रत छ र विद्रोह पनि गरिरहेको छ । सत्तास्वार्थीहरूका निरसलाग्दा र झन्झटिला गतिविधि र क्रियाकलापका कारण पट्ट्यारलाग्दो र आक्रोशपूर्ण समय व्यतीत भइरहेको छ । जनताले विद्रोह गर्ने अधिकार पाउनुपर्छ र समानतामूलक वैज्ञानिक समाजवादी समाज निर्माण हुनुपर्छ भनेकै र लेखेकै आरोपमा हामीले दुई वर्षसम्म कठोर प्रतिबन्ध झेलेका छौँ । हाम्रा १२ जना सहयोद्धाले बलिदानको गौरवशाली बाटो रोज्नुभएको छ । इतिहास बदल्न बलिदान गरेका महान् योद्धाहरूको स्मृति र सम्मानमा हामीले यसबीचमा बलिदान दिवस, प्रतिरोध दिवस, बेपत्ता योद्धा सम्मान दिवस र सहिद सप्ताहहरू मनायौँ । सहिद जन्मिने यामहरू अझै सकिएका छैनन् किनकि कालो रात अझै हटिसकेको छैन । महान् जनयु्द्धमा दसौँ हजार योद्धाले यही अन्धकार हटाएर उज्यालो जीवन ल्याउने युद्ध लड्दालड्दै बलिदान गरेका थिए । त्यो बलिदानमाथि घात भयो । युद्धका नायकहरू खलनायक बने । त्यसपछि फेरि अर्को क्रान्ति आरम्भ गर्नुपर्ने अवस्था उत्पन्न भयो । घात र धोकाहरूलाई चिर्दै आरम्भ गएिको एकीकृत जनक्रान्तिमा १२ जना योद्धाले बलिदान गरिसकेका छन् । बलिदानको पछिल्लो कोटा चुक्ता गरेका छन् म्याग्दीका योद्धा जगतले । प्रतिबन्धका बीच गिरफ्तार गरी उपचार नगराएर राज्यले उनको जीवन खोसेको छ । सत्ताले हामीलाई अझै आक्रोशित बनाएको छ । इतिहासले यसको उचित हिसाबकिताब त गर्ने नै छ तर पनि बिझाइरहेको वर्तमानविरुद्ध स्रष्टाहरूले विद्रोह ओकलिरहेका छन् सिर्जनाहरूबाट । स्रष्टाहरूको चरित्र नै हो अन्याय, अत्याचार, विभेद र अँध्यारोविरुद्ध आगो ओकल्नु । स्रष्टा भीम भारती योद्धाहरूको बलिदानको उच्च सम्मान गर्दै लेख्छन् :

मरे भनेका मान्छेहरू बाँचिरहेका हेर
सहिदहरू युगयुगसम्म हाँसिरहेका हेर
सामन्तीको दुनियाँ तोड्दै अघि बढेका
आधा आकाश, आधा धरती नाचिरहेका ।
ठक्कर खाई चट्टानसँग, उड्दै बादलसँग
वर्गीय मायाप्रेम साँचिरहेका हेर
आँसु, हाँसो, वेदना र सङ्घर्षको साथ
विजयको माला आज गाँसिरहेको हेर ।

स्रष्टाहरूमा निराशा र कुण्ठा मात्र छैन, आशा, आवेग र आक्रोश साथसाथै छ किनकि जनता न्यायपूर्ण समाज निर्माणका लागि क्रान्तिमा लामबद्ध छ र हरेकखाले सम्झौता र सहमतिलाई चासो, चिन्तामिश्रित शङ्काको दृष्टिले खबरदारी गरिरहेको छ । राष्ट्रघातका शृङ्खला, अन्याय, अत्याचार, व्यभिचार, जालझेल र षड्यन्त्रमा बाँचिरहेको दलाल पुँजीवाद दैनिक मरणासन्न बनिरहेको छ । कोही पनि आफू सुरक्षित महसुस गरिरहेको छैन । हजारौँ सेना, प्रहरी र गुप्तचरहरूका बीचमा विराजमान प्रधानमन्त्री आफैँ असुरक्षित महसुस गरिरहेका छन् । हिजो लाखौँ जनताका बीचमा हुँदा ढुक्कसँग निदाउने प्रचण्डहरू पुष्पमकल दाहाल बनेर दलालहरूको घेरामा पसेपछि आफूमाथि असुरक्षा बढिरहेको अनुभूति गरिरहेका छन् । यस्तो अवस्थामा आफ्नै हातपाखुरा र दाह्रानङ्ग्राले सत्ता आक्रमणको प्रतिरोध गरिरहेका जनताको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ । कवि, गायक एवम् गीतकार ढुण्डीराज अधिकारी जता पनि आशङ्कैआशङ्का मडारिइरहेको देख्छन् :

विश्वासघातको भुमरीले खोल्ने हो कि ढोका
कताकता शङ्कालाग्छ हुने हो कि धोका !
चनाखो भै बस्नुपर्छ ढुक्क नहौँ साथी
हुन सक्छ भर छैन घात हामीमाथि ।
पटके यो दुस्मनलाई विश्वास नगरौँ है
आक्रमण गर्न सक्छ भर नपरौँ है
खुराफाती मानसिकता जालीझेली खास
यस्ताबाट धोका भाको लामो इतिहास छ ।

हो, देश र जनतालाई यसप्रकारको धोका निरन्तर हुँदै आएको छ । कहिले सत्ताबाट भएको छ र कहिले आफ्नै सहयोद्धा भइसकेकाहरूबाट भएको छ । यसप्रकारको धोका र गद्दारी राष्ट्रियतामाथि पनि भएको छ, जनतन्त्र र जनजीविकामाथि भएको छ । वर्गसङ्घर्षमाथि पनि भएको छ । प्रचण्ड र बाबुरामहरूले नै वर्गसङ्घर्षमाथि घात गरिसकेको अवस्थामा केपी वलीहरूबाट घात हुने कुरामा सन्देह हुनु कुनै अनौठो होइन । हिजोसम्म आतङ्ककारी देखेर दुई महिनामै सिध्याउने ऐलान गर्ने र गोन्जालो वा सीके राउत बनाइदिन्छु भनेर बारम्बार धम्क्याइरहने सत्ता वार्तामा बस्छु भन्दा स्रष्टा अनिल शर्मालाई शङ्का लाग्नु र झोक चल्नु अस्वाभाविक होइन । ‘संवाद गर्ने त मालिक’ ? शीर्षकमा उनले लेखेको कविताको एउटा अंश यस्तो छ :

गोरो मालिकले
आतङ्ककारी घोषणा गरेकै हो
उसै–उसैगरी तिमीले
आतङ्ककारी/हत्यारा/लुटेरा के पनि भनेनौ ?
मालिक ! आज किन
हरियो झिँगाझैँ घुम्दैछौ नख्खुतिर
कस्तो जाल बन्दैछ मालिक ?

तिम्रो मूल प्रवाहलाई
मैले टुकुचा प्रवाह भनेकै हुँ
म छेपारो होइन
तर मालिकको लोली किन फेरिएको ?
कसले कान फुक्यो मालिक ?
फेरि एकपटक संवाद गर्ने त मालिक ?…
बढेको बढ्यै छ बजारभाउ
आँटो–पिठो सस्तो चाहन्छु म
झुक्याएर/धम्क्याएर/छलेर
अपहृत मेरो सपना
फिर्ता चाहन्छु मालिक
हजूर के चाहनुहुन्छ मालिक ?
हजूर चाहनुहुन्छ भने
वार्ता हुन्छ/जात्रा हुन्छ/हिंसा हुन्छ
सबथोक हुन्छ मालिक
फेरि एकपटक
संवाद गर्ने त मालिक ?

आतङ्ककारी समूह करार गरेर दमनबाटै सिध्याउने कुत्सित ऐलान गर्ने सत्ताले विद्रोही शक्तिलाई आफूसमान हैसियत भएको राजनीतिक शक्ति स्वीकार गर्नु विद्रोहीहरूको एक किसिमको विजय नै हो तर यो कुनै विजयोल्लास मनाउने र धूपबत्ती गर्ने समय भने होइन । हरेक किसिमका धोकाधडीहरूबाट पाठ सिक्दै उद्देश्यमा लम्किरहनु आवश्यक छ । सपनाको मृत्यु बोकेकाहरूमा सपना जाग्रत गराउनु आवश्यक छ । युवाकवि रसुवाली कविले वर्तमानलाई ‘के तिमीसँग ज्यूँदो सपना छ ?’ शीर्षक कवितामा यसरी चिरफार र नाङ्गेझार पार्दै नयाँ बाटो र विश्वास देखाएका छन् :

रङहरूविरुद्ध खडा छ अँध्यारो
आन्दोलनहरूविरुद्ध खडा छ प्रतिक्रान्ति
दक्षिणपन्थको हुरी चलेको छ
युगको छातीमा देखापरेको छ क्षयरोग
साथी जरुर
फुट्न तयार छ ज्वालामुखी ।

चुनु गुरुङको आदर्श एकातिर छ
अर्कोतिर हिट खाइरहेछन् कमल ओलीका
मृगनयनी आँखाहरूले
पूर्ण विरामका कविताहरूमा
सत्ता भाइरस छिरेको छ
र नरेश प्रसाईंको नयाँ डकुमेन्टमा
घोत्लिरहेछन् प्रधानमन्त्री
प्रज्ञाभवनमा
पृथ्वीजयन्तीले तातेको कमरेड दिमागमा
फुलिरहेछ बैँसालु समृद्ध नेपालको गन्धे झार
सीता आचार्यका गीतहरू
बेवारिसे छन् पेरिसडाँडाको भूतघरतिर
सहर पसेको कमरेड
फर्माइस ठोकिरहेछ
उन्नति बोहरा शिलाका गजलहरूमा
धोकालाई प्रेम ठानिरहेको
कुनै लठैत प्रेमीजस्तो
आजकाल जनवादी सुनिँदैनन्
झङ्कार बुढामगरका गीतहरू
गणेश भण्डारीलाई
अँगालो हालिरहेको
त्यो मान्छे क्या बेइमान छ
माइला लामाको झोलामा
ग्रिनेट भेटिएको खबर छ
सामना परिवारले
बीच सडकमै गीत गाइरहेको
क्या मधुर दृश्य छ
सहिदका आँगनमा सुनिन थालेका छन्
कविताहरू
जनयुद्ध महाउत्सव देखिरहेछन्
हाम्रा आँखाहरू
वसन्त आइरहेको समयजस्तो
आन्दोलनलाई छातीमा बोकी हिँडेका छन् कमरेडहरू

आगोलाई बिम्ब मान्न छोडेर
त्यतिखेर हामीलाई लेख्न मन्जुर छैन
भजन, कीर्तन र श्लोकहरू
क्रान्तिलाई बालुवाटारमा बिक्री गरेर
अलपत्र पार्न चाहँदैनौँ हामी
मखमली सपनाहरूलाई
हाम्रा प्रिय–प्रिय आदर्शहरू, विचारहरूलाई
हामी जनताका गीतहरूलाई अलपत्र छोडेर
फुक्न तयार छैनौ तिम्रा बेइमानी नरसिंहाहरू

हामी त लड्न जन्मेकाहरू
लडिरहेका छौँ
लाखौँलाखौँ छलछामविरुद्ध
हजारौँहजार गतिहीनताविरुद्ध

साथी छाम त झोलामा
के तिमीसँग हतियार छ ?
के तिमीसँग ज्युँदो सपना छ ?

पुर्खौंदेखि राजनीतिक बेइमानी र धोका सहँदै आएको पुस्ता हो यो । त्यसैले यो सचेत छ र सशङ्कित छ । आफ्नो विचार, मत र शङ्का राख्न पाउनुपर्छ जनतन्त्रमा । त्यसैले त स्रष्टाहरू निर्धक्क शङ्कामिश्रित प्रश्नहरू गरिरहेका छन् आफ्नो प्रिय नेतृत्वसँग । तीक्ष्ण प्रश्न र खबरदारी गरिरहेका छन् कहिल्यै नसुध्रिने दलाल राज्यसत्तासँग ।

स्रष्टा शरद पौडेल ‘म गाइरहेछु उनीहरूकै श्रमगीत, उनीहरूकै युद्धगाथा’ शीर्षक कवितामा भन्छन् :

गाइरहेछु
श्रम जीवन
तिनकै रगतपसिना
उनीहरूकै गाथाहरू ।
हो गाइरहेछु
दुःखहरू
उनीहरूका बरबादीहरू
पीडाहरूमा आहत
सजल आँखाहरू
उनीहरूकै जीवनगीतहरू ।
कहाँ यति मात्र
म त गाइरहेछु,
हजार उत्पीडनहरूका,
दुःखहरूका केन्द्रमा पनि
उम्लिरहेको उनीहरूको रगत ।
माटोमा,
सदियौँदेखि दबाइएको
अनेकानेक आशाहरूका
उनीहरूकै इन्द्रेणी सपनाहरू ।

सपना देख्दादेख्दै सम्झौता र आत्मसमर्पणको होइन, बलिदानको बाटो रोज्ने तेजिला आँखाहरू स्रष्टाहरूका दृष्टिमा नपर्ने कुरै भएन । लथालिङ्ग घरको भताभुङ्ग चालाजस्तो भएको छ देशको अवस्था । एमसीसीले फेरि तर्साइरहेको छ देशलाई । साम्राज्यवादका बुख्याँचाहरू साम्राज्यवादी सेनालाई आफ्नो देशको छातीमा परेड खेलाउने षड्यन्त्र गरिरहेका छन् । स्रष्टाहरू सशरीर सडकमा निस्किएका छन् साम्राज्यवादी षड्यन्त्र र तिनका बुख्याँचाहरूका विरुद्ध । कोरोना भाइरसको सङ्क्रमणले फेरि गाँजिरहेको छ मुलुकलाई । शासकहरू फेरि स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने योजना बनाइरहेका छन् । रोम जलिरहेको छ, । नयाँनयाँ निरोहरूको अवतारमा शासकहरू बाँसुरी बजाइरहेछन् । स्वदेशमा मात्र होइन, विद्रोहका नगराहरू बजिरहेका छन् अन्य मुलुकमा पनि । स्रष्टाहरूका दृष्टिकोणहरू राष्ट्रिय सीमा नाघेर परपरसम्म नियालिरहेका छन् । स्रष्टा ओमप्रकाश पुन ‘लालकिल्लामा झन्डा फहरायो’ शीर्षक कवितामा भन्छन् :

भारतले आज ७२ औँ गणतन्त्र दिवस मनायो
मोदीतन्त्रले साम्राज्य चलायो
धर्तीमा किसान आन्दोलन दबायो
भारतीय किसान आन्दोलन उठ्यो
लालकिल्लामा किसानले धावा बोल्यो
लालकिल्लामा किसान झन्डा फहरायो
हँसिया–हथौडाको झन्डा उठायो
भारतीय साम्राज्यवादको छातीमा
भारतीय किसानले रगत बगायो
मुक्तिका निम्ति बलिदान दियो
अमेरिकामा ट्रम्पतन्त्र ढल्यो
भारतमा मोदीतन्त्रको शिर झुक्यो
किसान आन्दोलनले गणको शिर उठायो
लालकिल्लामा हँसिया–हथौडाको झन्डा फहरायो
नेपालमा हो ओलीतन्त्र आयो
नागरिक आन्दोलनले पाइला उचाल्यो…

आततायी सत्ताका विरुद्ध के नेपालमा, के भारतमा, के अमेरिका, युरोप र अफ्रिका–अस्ट्रेलियाम, सबैतिर विद्रोह झाँगिइरहेको छ । कहीँको विद्रोह अलि सुषुप्त छ, कहीँको अलि वेगवान् । भारतीय साम्राज्यावदका विरुद्ध त्यहाँको माओवादी आन्दोलनले उचाइ लिइरहेको छ भने त्यहाँका किसानहरू पनि रगत बगाइरहेका छन् ।

कवि ओमप्रकाश पुन हिजोका क्रान्तिका नायकहरू खलनायकमा पतीत भए पनि क्रान्तिको दावानल फेरि उठिरहेको छ भन्ने सन्देश यसरी दिन्छन् कविताबाटै :

…तर जनयुद्ध
तिम्रो लक्ष्य पूरा नहुँदै
तिम्रो सपना साकार नहुँदै
केही धोकेबाजहरूले
केही गद्दारहरूले
तिमीलाई धोका दिएका छन्
तिमीलाई बीचमै छोडेका छन्
तिम्रो अपमान गरेका छन्
र त फेरि पनि
तिम्रो निरन्तरतामा
तिम्रो सफलतामा
विप्लवहरू उठेका छन्
किरणहरू जुटेका छन्
ऋषि र आहुतिहरू जुटेका छन्
अरुअरु पनि जुट्दैछन्
सबै एकीकृत हुँदैछन्
तिमी पनि वयस्क भएका छौ

यहाँ एउटा धोका र गद्दारीबाट क्रान्ति समाप्त नहुने बरु नयाँ उचाइ लिएर अघि बढ्ने सङ्केत गर्दै स्रष्टा पुनले नेकपा नेतृत्वमा क्रान्तिकारी रणनीतिक संयुक्त मोर्चाले अबको क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्ने आशा पनि व्यक्त गरेका छन् । एकीकृत जनक्रान्तिले नै क्रान्तिका अधुरा कार्यभारहरू पूरा गरी नेपालमा वैज्ञानिक समाजवाद स्थापना गराउने उनको विश्वास छ ।

सत्तासीनहरू मुलुकमा रामराज्य आइसकेको हौवा फिँजाउँदैछन् तर नेकपा नेता एवम् स्रष्टा सुदर्शन, रणवीर माइला लामा, आदर्शलगायत डेढ सयभन्दा बढी क्रान्तिकारी योद्धाहरूका हतकडी र नेल अझै फुकेका छैनन् । झूट्टा मुद्दाहरु खारेज भएका छैनन् । सरकार लत्रिएर वार्तामा आए पनि सहमति पूरा गरिरहेको छैन । यस्तो अवस्थामा स्रष्टाहरू सशंकित हुनु आवश्यक मात्र होइन, अपरिहार्य नै बन्छ ।

शासकहरूले शासनसत्ता फेरिएको भनेर जतिसुकै स्यालहुइयाँ मच्चाए पनि मुलुकको दुर्दशा नफेरिएको स्रष्टा सुमनसिंह पौडेलको निष्कर्ष छ :

झुपडी खान नपाएर छट्पटाएको छ
दलितहरू मारिन थालेका छन्
महिलाहण्द्दरु दिन दहाडै लुटिइरहेका छन्
जताततै रगतका टाटाहरू
कुटिएका निलडामहरू
लुटिएका पसिनाधाराहरू
जहाँतहीँ आन्दोलित बनेर
जुर्मुराउन थालेका छन् यतिबेला
म पुगिरहेको छु ती आहतहरूमा
खोजिरहेको छु म त्यही भीडमा
सिर्जनाहरू, कविहरू…

यो वास्तविकता हो मुलुकको । युवाहरूको पलायन रोकिएको छैन । युवाहरूले अरबको तातोमा ऊँट चराउनुपर्ने र बाकसमा प्याक भएर फर्किनुपर्ने अवस्था अन्त्य नभई कहाँ रोकिन्छ विद्रोह ? महिलाहरूमाथिको हत्या र बलात्कार नरोकिएसम्म र अपराधीहरू नजन्मिने/जन्मिनु नपर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना नहोउन्जेलसम्म केही भाटहरूबाहेक, केही लुटेरा र जालीहरूबाहेक कसले भन्न सक्छ यसलाई रामराज्य ?

कवि रोशन भारती भन्छन् :

संसदीय भुनाव गरी सरकार परिवर्तन गर्छन्
देशका जनतालाई सयौँपटक ठग्छन्
गणतन्त्र विपरीत दिशामा गइरहन्छ
नेताहरू एकापसमा ठेल्दै
कुर्सीको निम्ति लडिरहन्छन् ।…
जनतालाई होच्याउने, चुनावमा मात्रै पछ्याउने
माफियाहरूको संरक्षण गरी देश चलाउने
घुस लिने काम देशद्रोहीको हो भन्दै
लेनदेनमा लिपुलेकमा सन्धि गर्ने
खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने
नेपालकै संसदीय व्यवस्था हो
नेपाल र नेपालीलाई हेप्ने…
अन्त्यमा

दलाल पुँजीवादी व्यवस्था जनतालाई, देशलाई हेप्ने व्यवस्था हो । यो व्यवस्था रहेसम्म देश र जनताले कहिल्यै खुसीका सुस्केराहरू फेर्न पाउने छैनन् । कवि बीपी विद्रोहीले यसै अवस्थालाई सङ्केत गर्दै क्रान्तिको लामो बाटोमा अविचलित भई लामबद्ध भइराख्नुपर्ने सन्देश यसरी दिएका छन् :

हृदयको मान्द्रोमा सुकाउनुस् है आमा
निराशाको चिसोले ओसिएका सपनाहरू
म अवश्य उदाउनेछु एक दिन
तपाईंंको मनको मझेरीमा
भरोसाको रापिलो घाम बनेर !

त्यो कुहिरोले मलाई छेकेको मात्र हो
म हराएको छैन ।
मेघ गर्जिंदा नआत्तिनू है बा
त्यो गड्गडाहट तपाईंंका विरुद्ध छैन
परिश्रमको पसिनाले भिजेका
अभावका गन्जीहरू सुकाउनुस् है दाजै
धैर्यको पालीमा
म अवश्य उदाउनेछु एक दिन
न्यानो घाम बनेर !
अन्धकार हुँदा नरुनू है दिदी
यी रातहरू लामो समय टिक्दैनन्
झम्केसाँझसँगै मैलिएका रहरहरू
सुकाऊ है बहिनी भरोसाको छानोमा
म झुल्किनेछु अवश्य एक दिन
उज्यालो किरण बनेर !

यो पृथ्वी घुमेको मात्र हो
म अस्ताएको छैन ।

तीनघुम्तीको दोबाटोमा नअल्मलिनू है साथी
अप्ठ्यारो बाटो नै रोज्नू
भ्रमका सजिला बाटाहरू भिरमा पुगेर टुङ्गिन्छन्
थकानले गलेका अन्योल र दिक्दारीहरू
सुकाउनुस् है सँगी बिसौनीका चौतारीमा
म उदाउनेछु अवश्य एक दिन
जाँगरिलो चेतनाको रोशनी बनेर ।

धोका, घात र गद्दारीका निशानीहरू
लगेर झुन्ड्याइदिनू है मान्छे
साहसका अग्ला–अग्ला रूखहरूमा
म सुसाउनेछु अवश्य एक दिन
प्रतिबद्धताको हुरी बनेर ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :