दलितमाथि भएको दुर्व्यवहारको मोर्चाद्वारा भत्र्सना

दलितमाथि भएको दुर्व्यवहारको मोर्चाद्वारा भत्र्सना

काठमाडौँ : राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले नवलपरासीमा भएको जातीय विभेदको घटनाप्रति भत्र्सना गरेको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय विष्णुप्रसाद भण्डारीले सोही ठाउँका दीपक विश्वकर्मालाई सार्वजनिक ठाउँमा दुर्व्यवहार र सामूहिक भोजबाट समेत बहिष्कार गरेकाले २१ औँ शताब्दीमा पनि यस किसिमका जातीय विभेद एवम् छुवाछूतको घटना भइरहेकाले मोर्चाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

मोर्चाका अध्यक्ष विश्वकर्माको विज्ञप्तिमा भनिएको छ, ‘२०७८ वैशाख १ गते नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं. ९ वसन्तपुरमा भएको जातीय विभेद एवम् छुवाछूतसम्बन्धी घटनाप्रति हाम्रो मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । नयाँ वर्ष २०७८ वैशाख १ गते स्थानीय जनताले आयोजना गरेको बनभोज कार्यक्रममा सोही गाउँ निवासी विष्णुप्रसाद भण्डारीले स्थानीय दीपक विश्वकर्मालाई दलित भएकोमा कथित जातका नाममा विभेद र छुवाछूत गरी अपमानजनक गाली, बेइज्जती र दुर्व्यवहार गर्दै सामूहिक भोजबाटै बहिष्कार गरेको घटना अत्यन्तै निन्दनीय र खेदजनक रहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाप्रति आक्रोशित स्थानीय दलित तथा गैरदलित सहभागी करिब एक सयको सङ्ख्यामा रहेका जनताले निज अपराधी भण्डारीमाथि सार्वजनिक रूपमा कालोमोसो दली जुत्ताको माला लगाएर गाउँ घुमाई गरेको जनकारबाहीप्रति हाम्रो मोर्चा हार्दिक समर्थन एवम् ऐक्यबद्धता प्रकट गर्दछ । यस घटनाबाट ध्यान विकेन्द्रित गर्न निज भण्डारीले प्रहरी प्रशासनमा झूटो उजुरी गरेको र प्रहरी प्रशासनबाट स्थानीय सर्वसाधारण जनतालाई त्रसित पार्ने, वारेन्ट जारी गर्ने, झूट्टा मुद्दा लगाउने, घरमा प्रहरी जाने, आतङ्कित पार्ने कार्य गरिरहेका कारण अहिले पीडित दीपक विश्वकर्मालगायत ५ जना घर र गाउँबाट विस्थापित हुन बाध्य भएको बताइन्छ । वैशाख ९ गते करिब ५० जना दलित समुदायका व्यक्तित्वहरु जिल्ला प्रहरी कार्यालय नवलपरासीमा छलफल गर्न र जातीय विभेद र छुवाछूतविरुद्ध मुद्दा दर्ता गर्न गएको तर प्रहरी प्रशासनले उल्टै थर्काएर पठाएको बताइको छ । यसबाट गणतान्त्रिक नेपालमा राज्य, प्रहरी प्रशासन अझै पनि दलित समुदायका पक्षमा नरहेको पुनः पुष्टि भएको छ भने संविधान र कानुन हात्तीको देखाउने दाँत साबित भएका छन् । प्रहरी प्रशासनबाट भैरहेको यसप्रकारको ज्यादतीपूर्ण कार्य र पक्षपातपूर्ण व्यवहार तत्काल बन्द गर्न र जातका आधारमा भेदभाव, छुवाछूत र दुव्र्यवहार गर्ने निज दोषीमाथि कडा कारबाहीका लागि अविलम्ब कदम चाल्न हामी नेपाल सरकार एवम् प्रहरी प्रशासनसमक्ष जोडदार माग गर्दछौँ । अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरकार र प्रशासन हुनुपर्नेछ । साथै यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई न्यायका लागि भूमिका खेल्न अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलित सङ्गठन, मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकार, न्याय र समानताका पक्षधर जनता एवम् सरोकारवाला सबैमा हार्दिक आह्वान गर्दछौंँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :