प्रहरी नियन्त्रणमै मृत्यु भएका जगतको शव ४ महिनापछि परिवारले बुझ्यो

प्रहरी नियन्त्रणमै मृत्यु भएका जगतको शव ४ महिनापछि परिवारले बुझ्यो

कास्की : प्रहरी नियन्त्रणमा रहेको बेला पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्युु भएका जगेन्द्र पुन ‘जगत’ को शव करिब चार महिनापछि आज परिवारले बुझेको छ । किटानी जाहेरी दर्ता नगर्न नमानेको प्रही गिरफ्तारीदेखि मृत्युसम्मका घटनाबारे भने छानबिन गर्ने मौखिक रूपमा सहमत भएपछि जगतको शव परिवारले बुझेको हो ।

मृतकका परिवारले मृत्युको कारण सत्यतथ्य छानबिनसहित दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए ।

कास्की प्रहरीले भने परिवारले सत्यतथ्य छनबिन माग गर्दै दाहसंस्कारका लागि मृत शरीर बुझिलिन र दोषीउपर कारबाही मागसहित बुझाएको जाहेरी लिन नमानेपछि ४ महिनासम्म शव अस्पतालमा अलपत्र परेका थियो । प्रहीले पीडितको शव बुझिलिने जाहेरी लिएको तर दोषीमाथि कारबाही मागसहितको किटानी जाहेरी नलिएको सम्बद्ध स्रोतले जनाएको छ । मृतक जगतका परिवारका सदस्य पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यलय पर्वतका प्रमुख विश्वराज अधिकारी र पर्वत जिल्ला कारागार कार्यालय प्रमुख महेन्द्रबहादुर मरासिनीका नाममा किटानी जाहेरीसहित मानिस मरेको (ज्यानसम्बन्धी कसुर) मा जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । तर जिल्ला प्रहरी कार्यालय कास्कीले भने जाहेरी नलिएको परिवारका सदस्यले बताएका छन् ।

अभद्र व्यवहारको मुद्दा लगाएर म्याग्दी प्रहरीले गिरफ्तार गरेका जगेन्द्र पुन ‘जगत’ को मृत्यु प्रहरी नियन्त्रणमै भएको थियो । म्याग्दी प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएकोमा धरौटीमा रिहा भएलगत्तै उनलाई म्याग्दी जिल्ला प्रहरीले पुनः पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वत थुनामा राखेको थियो । थुनामा रहेका पुन एक्कासि बेहोस भएका कारण पर्वत अस्पतालमा लगिएको र त्यसपछि थप उपचार गर्ने भन्दै राती पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो ।

परिवारका सदस्यलाई जगतको उपचार सघन कक्षमा भइरहेको जानकारी दिइएको थियो तर उनको उपचारकै क्रममा २०७७ साल पुस २८ गते १२ः३० बजे अस्पतालमै मृत्यु भएको थियो । प्रहरी र प्रशासनले गम्भीर बिरामी जगतको उपचारमा लापरबाही गरेको र गैरजिम्मेवार बनेर उपचारमा ढिलाइ गरेका कारण मृत्यु भएको दाबी परिवारका सदस्यले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :