लेनिनजयन्ती र नेकपा स्थापना दिवस

लेनिनजयन्ती र नेकपा स्थापना दिवस

वैशाख ९ गते अर्थात् अप्रिल २२ लेनिनको जन्मदिन हो र साथै नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो । कमरेड पुष्पलालले यही दिन नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो । पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीका आदर्शहरू जीवित छन् । नेकपाले अघि बढाइरहेको एकीकृत जनक्रान्तिले नै पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीको लक्ष्य र उद्देश्यलाई पूरा गर्नेछ ।

विश्व कम्युनिस्ट आन्दोलनमा मात्र नभएर माक्र्सवादको प्रयोग र विकासमा लेनिनको अद्वितीय योगदान रहेको छ । त्यसैले लेनिन एक भव्य मानव हुनुहुन्छ । सन् १८९२ देखि लिएर नमरुन्जेलसम्म आफ्नो जीवनको सम्पूर्ण समय कम्युनिस्ट क्रान्तिकारी सङ्घर्षमा लगाउनुभएका भ्लादिमिर इल्यिच लेनिन विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु हुनुहुन्छ । सन् १८७० अप्रिल २२ का दिन रुसको सिम्बिस्र्कमा जन्मनुभएका लेनिनले माक्र्सवादको सही प्रयोग मात्र गर्नुभएन, माक्र्सवादका ३ सङ्घटक अङ्गहरूमा विकास गरेर माक्र्सवाद–लेनिनवादको प्रतिपादन गर्नुभयो ।

लेनिनले क्रान्तिकारी कम्युनिस्ट पार्टीका बारेमा नै नयाँ अवधारणा निर्माण गर्नुभएको थियो । यस्तो खालको सङ्गठनात्मक पद्धतिलाई लेनिनवादी पद्धति भनिन्छ । त्यसलाई नयाँ ढङ्गको पार्टी पनि भनिन्छ । लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति भएको १ सय वर्षपछि यी कुराहरू गर्दा एकदमै पुरानो कुरा जस्तो लाग्दछ । तर अहिले पनि कैयौँ पार्टीहरूले सशस्त्र क्रान्ति सुरु गरेर विजयतिर लम्किँदै गर्दा हार बेहोर्ने गरेका पनि छन् । यसको मुख्य कारण माक्र्सवादलाई दह्रोसँग नपकड्नु र नयाँ विकास गर्न नसक्नु हो । लेनिनले आफ्नो पालामा कम्युनिस्ट आन्दोलनको कार्यभारलाई समाल्दै रुसी समाज र विश्वको अध्ययन मसिनो गरी गर्नुभयो । उहाँले आविष्कार गरेका कैयौँ विषयहरूमध्ये कम्युनिस्ट पार्टीको साङ्गठनिक पद्धति हो । अहिलेसम्म लेनिनवादी सङ्गठनात्मक पद्धतिभन्दा नयाँ र वैज्ञानिक पद्धतिको विकास भएको छैन । त्यसैले लेनिनको सङ्गठनात्मक पद्धतिको खोज पनि एउटा महत्वपूर्ण योगदान हो ।

लेनिनले माक्र्सपछि अर्थशास्त्रमा नयाँ खोज गर्नुभयो । एकाधिकार पुँजीवादको व्याख्या गर्नुभयो । राजनीतिलाई अर्थतन्त्रको केन्द्रीय अभिव्यक्तिका रूपमा परिभाषित गर्नुभयो । साम्राज्यवादीहरूले आफ्नो सङ्कट र अन्तरविरोधलाई हल गर्न एकाधिकार पुँजीवादी नीति अवलम्बन गर्न पुगेका थिए । जसलाई लेनिनले सन् १९०० देखि प्रतिस्पर्धात्मक पुँजीवाद एकाधिकार पुँजीवादमा बदलिएको विश्लेषण गर्नुभयो । त्यसको १० वर्षपछि लेनिनले साम्राज्यवादबारे खोज गर्नुभयो । उहाँले ‘साम्राज्यवाद भनेको पुँजीवादको विकसित र मरणासन्न अवस्था’ रहेको पत्ता लगाउनुभयो । साम्राज्यवादको वास्तविक चरित्र बुझ्न सकेका कारण रुसमा समाजवादी क्रान्ति सफल हुन सकेको थियो । अहिले पनि विश्वको उत्पीडनको आधार साम्राज्यवादी नै रहेको छ । तर लेनिनले खोजेको साम्राज्यवादी चरित्रमा केही थप भएको छ ।

लेनिनभन्दा अघि क्रान्ति गर्ने पार्टीको सङ्गठनात्मक अवस्था कस्तो हुन्छ भन्नेबारेमा खासै धारणा तय भएको थिएन । लेनिनले नयाँ ढङ्गको पार्टी निर्माणको अवधारणा ल्याउनुभयो । त्यस अवधारणालाई लेनिनवादी सङ्गठनपद्धति भन्ने गरिएको छ । अहिलेसम्म सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले यसै पद्धतिलाई पछ्याइरहेका छन् ।

लेनिनले उहाँकै शब्दमा अर्थोडक्स माक्र्सवादीहरूका विरुद्धमा एउटा किताब नै तयार पार्नुभयो– भौतिकवाद र अनुभवसिद्ध आलोचना । यो विशुद्ध आलोचना मात्र नभएर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा थप विकास पनि हो ।

१८७१ मा केवल ७२ दिन मात्र टिकेको पेरिस कम्युनले वैज्ञानिक समाजवादको व्यावहारिक पुष्टि भएको थियो । तर माक्र्सको समयभन्दा लेनिनको समयमा केही परिवर्तन भैसकेको थियो । त्यसैले लेनिनले क्रान्तिको नयाँ बाटो खोज्नुभयो– अक्टोबर क्रान्ति । उहाँको विचारअनुसार क्रान्ति सफल मात्र भएन, समाजवादी नीतिमा आधारित पहिलो राज्यव्यवस्था नै स्थापना भयो ।

लेनिनले अन्तर्राष्ट्रियतावादको पनि व्यावहारिक अभ्यास गर्न तेस्रो अन्तर्राष्ट्रियको कार्यक्रमलाई अगाडि बढाउनुभयो । त्यसैले लेनिनको समयदेखि समाजवादी आन्दोलन सुदृढ हुँदै गएको थियो । त्यसैले विश्वको एकतिहाइ भूभागमा समाजवादी क्रान्ति पनि सफल भएको थियो । उहाँले अन्तर्राष्ट्रियवाद र सर्वहारा अधिनायकत्वको विकास र कार्यान्वयन गर्नुभयो । लेनिनका यिनै योगदानहरूले विश्वका सर्वहाराहरूले उहाँलाई सम्झिरहेका छन् । त्यसमा पनि सच्चा माक्र्सवादीहरूले उहाँलाई सम्झिने मात्र होइन, उहाँले प्रतिपादन गरेका वैचारिक पक्षहरूलाई आत्मसात गर्न जरुरी छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :