नवगठित बिसु सांस्कृतिक टिम जनताको घरदैलोमा

नवगठित बिसु सांस्कृतिक टिम जनताको घरदैलोमा

कञ्चनपुर : कञ्चनपुरमा नवगठित बिसु सांस्कृतिक परिवारको टिम आफ्ना प्रस्तुति लिएर जनताको घरदैलोमा पुगिरहेको छ । शुक्रबार उक्त टिमले गीत, नृत्य र विभिन्न रचनात्मक प्रस्तुति देखाएर जनतालाई मनोरञ्जन र विचार प्रस्तुत गरेको हो । नवगठित बिसु सांस्कृतिक टिमले आफ्नो पहिलो प्रस्तुति कञ्चनपुरको भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच तीन बुँदे सहमति भई पार्टीमाथिको प्रतिबन्ध हटेपछि पार्टीले आफ्ना सबै ज.व.स मोर्चाहरू मार्फत पार्टीका गतिविधि तिब्रताका साथ अघि बढाएको छ । यसै क्रममा पार्टीको दुई महिने जनजागरण अभियान अन्तर्गत भीमदत्त नगर कमिटीले आयोजना गरेको कार्यक्रममा सांस्कृतिक टिमले आफ्नो बेजोड प्रस्तुति देखाएको हो । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर इन्चार्ज रमेश नेपाली ‘जीवन’ ले प्रमुख अतिथिको रुपमा कार्यक्रममा बोल्दै एकीकृत जनक्रान्तिको यात्रामा सांस्कृतिक टिमको महत्वपूर्ण भूमिका रहने बताएका छन् । कला, नृत्य र गीतका माध्यमबाट पार्टीले आम जनसमुदायका बीचमा विचार धारणा पुर्याउन सफल हुने बताएका छन् ।

दिपेन्द्र ऐरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथि अखिल क्रान्तिकारी सेम ब्युरो संयोजक वीरेन्द्र शाह, केन्द्रीय सदस्य प्रकाश जप्रेल, शंकर महरा, युवा संगठन नेपाल कञ्चनपुर अध्यक्ष विरेन्द्र जोशी लगायत अन्य जनसमुदायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :