ग्रिल तथा धातु मजदुर सङ्घका अध्यक्ष थापालाई रिहा गर : महासङ्घ

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै ग्रिल तथा धातु मजदुर सङ्घका अध्यक्ष विकास थापालाई बिनासर्त रिहा गर्न माग गरेको छ । महासङ्घका संयोजक विनोद थापाले प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनको गतिविधिबाट आतङ्कित भई मजदुरको रगतपसिनाको व्यापार गर्ने केही दलाल व्यवसायीले नियोजित ढङ्गबाट अखिल नेपाल क्रान्तिकारी ग्रिल तथा धातु मजदुर सङ्घका अध्यक्ष थापालाई बिनाकारण ललितपुरको भैँसेपाटीबाट गिरफ्तार गरेको भन्दै बिनासर्त अविलम्ब रिहा गर्न माग गरेका हुन् ।

थापाको विज्ञप्तिमा वैशाख २ गते नियन्त्रणमा विकासलाई जाउलाखेल प्रहरी परिसर हिरासतमा राखेकाले सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । थापाले यो घटनाले उनीहरूले नै भन्ने गरेको कानुनी राज्यको उपहास गरेको प्रमाणित भएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘मजदुर नेता गिरफ्तार गरी कुटपिट गर्ने नैतिकहीन व्यवहार राज्यको निकायबाट हुनु संसदीय व्यवस्था श्रमिकको हितमा छैन भन्ने कुराको थप पुष्टि भएको छ । एकतर्फी रुपमा प्रहरी प्रशासन लगाई आफू दलालको पृष्ठपोषक भएको पुष्टि गरेका छन् । करछली गर्ने केही व्यवसायी र राज्यप्रशासनले गरेको मजदुरविरोधी गतिविधिप्रति हाम्रो सङ्गठन घोर निन्दा र भत्सर्ना गर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :