खेम थपलियाको देशभक्तिपूर्ण गीत ‘यस्तो साथी’

खेम थपलियाको देशभक्तिपूर्ण गीत ‘यस्तो साथी’

कुनै पनि देशको राजनीतिक परिवर्तन होस् या सांस्कृतिक परिवर्तन नै किन नहोस्, बिनाक्रान्ति कुनै पनि परिवर्तन आजसम्म सम्भव भएको इतिहास छँदै छैन । संसारमा भएका ठुला ठुला परिवर्तनहरूमा मानिसहरूको सहभागिता रहने गरेको छ । मानिसद्वारा मानिसमाथि गरिएको थिचोमिचो र भेदभावको विरुद्धमा उत्पीडित वर्गले परिवर्तनको निम्ति गरिने विद्रोह जसलाई क्रान्ति भनिन्छ; त्यो क्रान्ति हतियारबद्ध पनि हुन सक्तछ, हतियारबिनाको पनि हुन सक्तछ । क्रान्तिमा बलिदान हुन्छ, यदि बलिदानबिनाको क्रान्ति कसैले गर्न खोज्छ वा चाहन्छ भने त्यो केवल भनाइमा मात्रै सीमित हुन जान्छ । बलिदानबिनाको क्रान्ति भन्नु केवल ‘मनको लड्डु घ्यूसँग खानु’ भनेजस्तै हो । परिवर्तनको लागि जब क्रान्ति हुन्छ, त्यहाँ बलिदान अवश्यमभावी छ ।

लेखक : भीम भारती

नेपालमा विगत २०५२ सालदेखि क्रान्ति सुरु भयो । परिवर्तनको लागि भएको सो क्रान्तिको सिलसिला अझै पनि जारी छ । क्रान्तिमा खासगरी २०५२ सालदेखि २०६३ सालको अवधिमा नेपाली समुदायमा बलिदानीको उच्च शृङ्खला नै चल्यो । क्रान्तिले बलिदानी मात्रै गरेन, केही उपलब्धिसमेत हासिल गर्यो । क्रान्तिले कैयौं मानिसलाई कवि बनायो, साहित्यकार बनायो, नेता बनायो । क्रान्तिभित्रबाट समाजका विभिन्न अवयवमा चाहिने प्रतिभाहरूसमेत उत्पादन भए । क्रान्तिले गीतकार, सङ्गीतकारलाई कवि मात्रै बनाएन, कविलाई गीतकारसमेत बनायो । यो क्रम चलिरहेको छ । यही क्रममा पछिल्लोपटक जनसाहित्यकार नाटककार मात्रै नभएर समालोचक र आख्यानकारसमेत रहेका खेम थपलिया थपिएका छन् । उनी हालै सशक्त गीतकारको रूपमा देखा परेका छन् ।

थपलियाले हालै एक ‘यस्तो साथी’ शीर्षकको लोक–आधुनिक गीत सिर्जना गरेका छन् । साथी भन्नेबित्तिकै जो कसैलाई लाग्ने गर्छ, सँगै बस्ने, खाने, सुख दुःखमा साथ दिने एक अर्को मानव जीवन । साधारणतया हुन पनि साथी त्यही हो, जसले मानिसको सुख अनि दुःखमा सँगै बसेर साथ दिन्छ । तर, थपलियाले सिर्जना गरेको गीत ‘यस्तो साथी’ मा केवल सुख र दुःखमा साथ दिने अर्को जीवनलाई मात्रै साथी भनिएको छैन; उनको गीतमा साथीको रूपमा आउने मानिसमा हुनुपर्ने साधारण गुण र आम लक्षणबाहेक अरू पनि केही कुरा खोजिएको छ । यहाँ वर्गीय साथीको खोजी गरिएको छ ।

नेपालको जनक्रान्ति र जनसङ्घर्षमा धेरैको योगदान रहेको छ । योगदान यस्तो पनि रहेको छ, जहाँ मानिसहरूले आफ्नो जीवनको समेत बलिदान गरेका छन् । क्रान्तिमा सामेल हुँदा मात्रै होइन, बलिदानी हुँदासमेत योद्धाहरू एकार्कामा यति साथित्वको भावनामा लिन भएका हुन्थे कि एउटाको बलिदान हुँदा अर्को युद्धबाट फिर्ता हुनुको औतित्य नै देख्दैनथ्यो । साथीलाई आन्दोलनको मोर्चामा गुमाएर आउँदा सात दिन, सातै रात अर्को साथीले रोएर बिताएको घटना हाम्रै इतिहाले बोकिसकेको छ । जनताको घरमा डोको बोक्ने आमालाई साथ दिने साथी, युद्ध मैदानमा ढल्दा अर्को साथीले अन्यायका विरुद्धमा छाती थापेको कथा पनि नेपालमा लेखिइसकेको छ । जतिबेला एकतन्त्रात्मक राजतन्त्र नेपालमा कायम थियो, त्यति बेला देशलाई गणतन्त्रमा ल्याउन युद्धमा लड्ने साथीहरूको बिचमा यति आत्मीयता र साथित्व कायम थियो कि एउटा साथी ढल्दा खसेको बन्दुक अर्कोले साथीले समातेर साथीका बाँकी सपना पूरा गर्ने कसम खाइन्थ्यो । अहिले विगतको त्यो साथित्यको गति हामीमा कताकता हराएको हो कि जस्तो पनि भएको छ । गीत्कार थपलिया भन्छन्, “सहिदहरूको बाटोलाई पछ्याउने प्रतिबद्धतासहित यो गीत सिर्जना गरिएको हो ।”

गीत एक अनुभूतिजन्य र आख्यानशुन्य आत्मपरक विधा हो । यो नाटकजस्तो पनि होइन । गीत लय, सुर र सङ्गीतबद्ध हुने एक श्रव्य विधा भए पनि हाल आएर प्रविधिमा आएको चामत्कारिक परिवर्तनले गर्दा यो दृश्य विधामा समेत देखिने गरेको छ । आज कुनै गीतको भीडीयो नबनेको खण्डमा गीत हराउने जोखिमसमेत देखा परेको छ । समयको परिवर्तनसँगै यस्तो भएको हो । गीतले प्रकट गर्ने भाव र यसले दिने सन्देशका हिसाबले मात्रै होइन, यसले छोड्ने प्रभावका हिसाबले समेत यो विधा साहित्यका अरू विधाभन्दा धेरै अगाडि छ । गीत एउटा आत्मपरक विधा भए पनि यसलाई बुझ्न कुनै बौद्विकता वा विशेषज्ञताको आवश्यकता पर्दैन । कुनै पनि गीतमा गीतकारका संवेग, अनुभव मात्रै होइन, विचार र विश्वदृष्टिकोणसमेत अभिव्यक्त भएका हुन्छन् । गीत एक कल्पना हो तर पनि यो अलिकति प्राकृतिकजस्तो देखियो भने यसले श्रोतामाझ छिट्टै स्थान पाउन सक्छ । गीतमा स्थायी जुन रूपमा स्थापना गरिएको हुन्छ, अन्तराहरूले यसलाई विस्तार गर्दै पुष्टि गरेको खण्डमा गीत एक पूर्णजस्तो देखिन्छ । गीतमा गीतकार आफैँ बोल्छ तापनि सङ्गीतकारले त्यो गीत बोल्ने लय सिर्जना गर्छ । सङ्गीत संयोजकले शब्द र आवाजको तादम्यता मिलाएर गायकलाई दिन्छ भने गायकले गीतलाई श्रोतासम्म पुर्याउँछ । श्रोताले सुनेर आनन्द लियो वा भनौँ, गीत सुनेर श्रोतामा केही परिवर्तन वा रूपान्तरणभाव भाव देखियो भने त्यो गीतलाई पूर्णरूपमा सफल मान्नुपर्दछ ।

गीतकार खेम थपलियाद्वारा रचित ‘यस्तो साथी’ गीतमा उपर्युक्त विषय पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ । गीतकारले गीतको स्थायी जुन रूपमा स्थापना गरेका छन् त्यसका विभिन्न अन्तराहरूले स्थायीलाई पुष्टि गर्दै गएका देखिन्छन् । प्रस्तुत गीतमा ‘खोज्दैछु म यस्तो साथी, रुँदा पनि सँगै रोओस्, हाँस्दा पनि सँगै हाँसोस्, मर्दा पर्दा पनि आँगनीमा उभिएकै होस्’ स्थायीको रूपमा देखा परेको छ भने बाँकी अन्तराहरूमा उनी साथी खोज्दै जान्छन् । गाउँघरका मेलापातमा धाइरहने आमा बुबालाई सघाउने साथीको खोजीमा गीतकार अन्तरामा भन्छन्, ‘डोको बोक्ने आमालाई साथ देओस् मेरो साथी, हलो जोत्ने बाबालाई हात देओस् मेरो साथी ।’ गरिब निमुखा जनताले न्याय नपाएको मात्रै होइन, नेपालको राष्ट्रिय स्वाधीनता नै खतरामा परेको वर्तमान समयमा उनलाई अन्यायका विरुद्धमा छाती थाप्ने र राष्ट्रिय स्वाधीनताको झन्डा बोक्ने साथी चाहिएको छ । त्यसैले गीतमा उनी भन्छन्, ‘अन्यायका विरुद्धमा छाती थापोस् मेरो साथी, स्वाधीनताको झन्डा बोकोस् सधैँ सधैँ मेरो साथी ।’ नेपालमा सीमा मिचिने समस्या लामो समयदेखि चलिरहेको छ । छिमेकीले हाम्रो देशलाई सधैँ झम्टिने गरेको छ तर कोही बोल्दैनन् । समयअनुसार बुझेर परिवर्तन चाहने साथीको खोजीमा रहेका गीतकार आफ्नो गीतको स्थायीलाई पुष्टि गर्दै भन्छन्, ‘परिवर्तनको सपना बोकी सधैँ हिंडोस् मेरो साथी, सुन्दर संसार बनाउन सँगै लडौं आऊ साथी ।’

एउटा गज्जबको कल्पनामा रहेर प्राकृतिकजस्तो लाग्ने ‘यस्तो साथी’ शीर्षक गीतमा थपलियाले एउटा राष्ट्रवादी भाव दर्शक तथा श्रोतामाझलाई पस्किएका छन् । गीतका आधारभूत विनम्रतालाई विशेष ख्याल गर्दै सरल भाषामा उपयुक्त बिम्ब र प्रतीक प्रयोग गरेर सिर्जना गरिएको सो गीतलाई जनसङ्गीतकर्मी अनिष योञ्जन ‘च्याङ्वा’ ले मन छुने सङ्गीत भरेका गरेका छन् भने सुन्दर लामाले आवाज, शब्द र लयलाई उचित तालमेल गरी सङ्गीत संयोजन गरेका छन् । गीत भनेकै गाउनको लागि हुने भएकोले नगाइएसम्म गीत कहिल्यै पूर्ण हुँदैन । यो कुरा त सबैलाई थाहा नै छ । जनगायक रमण थामीको सुमुधुर स्वर यो देशभक्तिपूर्ण गीतमा सुन्न पाइन्छ । गीतको सहयोगी भूमिकामा जनसङ्गीतकर्मी ढुण्डीराज अधिकारी रहेका छन् ।

गीत सिर्जना गर्दा कविताको जस्तो बनावटभन्दा भिन्दै गर्नुका साथै, अन्तराहरूलाई दुई दुई पङ्क्तिका बनाएको गीत कस्तो हुन्थ्यो होला ? अलि माथिल्लो स्केलबाट गाइएको भएको यो गीत झन् कस्तो सुनिन्थ्यो होला भनेर श्रोताहरूमा जिज्ञासा उत्पन्न हुन सक्तछ । जे होस्, गीत अभिव्यक्ति माध्यमको लोकप्रिय र सशक्त विधा भएकोले गीत सिर्जना गर्ने सर्जकहरूको सङ्ख्या बढ्दो छ । त्यही गीत सिर्जना गर्ने सर्जकहरूको पङ्क्तिमा जोडिन आएका थपलियालाई भने यस विधामा पनि सफलताको भव्य शुभकामनाचाहिँ दिनैपर्दछ । अन्तमा प्रस्तुत छ, गीतको पूणांश :

यस्तो साथी

खोज्दै छु म यस्तो साथी
रुँदा पनि सँगै रोओस्
हाँस्दा पनि सँगै हाँसोस्
मर्दा पर्दा आँगनीमा उभिएकै होओस् ।

डोको बोक्ने आमालाई साथ देओस् मेरो साथी
हलो जोत्ने बाबालाई हात देओस् मेरो साथी
अन्यायका विरुद्धमा छाती थापोस् मेरो साथी
स्वाधीनताको झन्डा बोकोस् सधैँ सधैँ मेरो साथी
खोज्दै छु म यस्तो साथी …

सीमा सार्ने ढोकाहरू बन्द गरोस् मेरो साथी
मेरो देशलाई झम्टिनेको शिरै ढालोस् मेरो साथी
परिवर्तनको सपना बोकी सधैँ हिँडोस् मेरो साथी
सुन्दर संसार बनाउन सँगै लडौँ आऊ साथी
खोज्दै छु म यस्तो साथी .. … … ।।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :